रोम त रोमाइलो रोइछ !

‘रोम वाज नट बिल्ट इन अ डे’

कुनै कुराको थालनी गर्दा वा महान कुराहरु सम्भव हुन प्रसस्त समय लाग्ने  दृष्टान्त  दिनु पर्दा माथिको अङ्ग्रेजी उक्त्ती अक्सर प्रयोग हुने गर्दछ। माद्यामिक बिद्यालय प्रवेश गर्दादेखि सुन्दै आएको उक्त उक्तिले रोमको भव्यताको बारेमा अप्रत्यक्ष वर्णन गरेझै लग्थ्यो मलाई। आधुनिक मानव सभ्यता बिकास भएको त्यो ठाउँ कस्तो होला भन्ने कौतुहलता मनभित्र रहेपनि रोम भ्रमणको कुनै योजना भने बनेको थिएन।

लन्च ब्रेकमा मेरो भेट राड्फोर्डसँग हुन्थ्यो (राड्फोर्ड र म अझै पनि एउटै कम्पनीमा काम गर्छौ)। पहिले ट्राभल एजेन्सीमा काम गरेका राड्फोर्ड देश बिदेश घुमेका र यात्रा र पर्यटनका बिशेष जानकार थिए। कुनैपनि ठाउँ बिशेष र घटनाको बारेमा जीवन्त वर्णन गरेर स्रोतालाई मन्त्रमुग्ध पार्न सक्ने उनको गज्जबको खुबी थियो। रोमको बारेमा उ यति उत्साहित भएर बर्णन गर्थे कि मलाई आफै त्यो ठाउँ घुमिरहेको भान हुन्थ्यो। राड्फोर्ड भेट्दा मलाई अहिले पनि कक्षा दशको अङ्ग्रेजीमा पढेको स्टोरी टेलर गोपाल बहादुर घले को याद आउछ।

“हामी अब्रोड होलिडे नजाने रमेश?”  साँझको खाना खाँदै गर्दा एकदिन अम्बिकाले सोधिन। बेलायत आएको दुई बर्ष भईसक्दा पनि इङ्ल्यान्ड र वेल्स बाहेक कतै गएका थिएनौ। जानु पनि कसरी? पहिलो बर्ष जागिर खोज्दै बित्यो । दोश्रो बर्ष हे फिवर भएर हाछ्युँ गर्दै बित्यो । त्यसमाथि रोटी छोडेर भएपनि ओटी गर्नुपर्छ भन्ने मान्यताले दिमागमा जरो गाडेको थियो। तर पछिल्लो समयमा बेलायती कामको प्रकृती र घाम सँगको लुकामारी (बिशेष गरेर जाडो मौसममा)ले गर्दा होला होलिडे जानु बिलशिता होइन आवश्यकता हो भन्ने कुरामा म कन्विन्स्ड थिएँ । “हुन्छ जाने तर कता जाने ?” मैले प्रतिप्रश्न गरेँ। थुप्रै ठाउँहरुको बारेमा चर्चा गर्दै जाँदा अन्तमा रोम जाने कुरामा दुबैको  सहमती भयो। दुबैको बिदा मिलाउने क्रममा रोम भ्रमण को साइत २४ जुन २०१३ म बल्ल मिल्यो।

मैले हामी रोम होलिडे जाने कुरा सुनाएपछि राड्फोर्ड प्रत्येक भेटमा रोमकै मात्र वर्णन गर्न थाल्यो । यात्रा तालिका  कसरी बनाउने, कुन कुन ठाउँ घुम्ने, कहाँ गएर के खाने भन्ने कुराहरु मलाई कन्ठस्थ भैसकेको थियो। जानु अघि रोमको नक्सा र यात्रा तालिका प्रिन्ट गरेर दिदै उस्ले भन्यो ,”डोन्ट फोर्गेट टु टेस्ट आइस्क्रीम एट ट्रिवी फाउन्टेन”। मैले रोमको अफलाइन नक्सा मोबाईलमा राखिसकेको थिएँ। ट्रिप एड्वाइजर हेरेर कुन कुन ठाउँ जाने भन्ने पनि मानसिकता बनाइसकेको थिएँ। राड्फोर्डकै सल्लाहमा सान जियोभानी स्थित ‘होटेल होलिडे इन’मा बस्ने प्रवन्ध भैसकेको थियो ।

लण्डन हिथ्रो बाट ब्रिटिश ऐयरवेजमा करीब २ घण्टाको यात्रापछि इटली को फ्युमिचिनो एयरपोर्टमा बिमान अवतरन गर्दै गर्दा म आकाशमा उड्दै गर्दा खिचिएका बादलको तस्वीरहरु क्यामरामा रिप्ले गरेर हेर्दै थिएँ। फोटोग्राफी मेरो सौख हो। बिश्वोकै चर्चित पर्यटन स्थल रोमको दृष्यहरु क्यामरामा कैद गर्न आतुर मेरो मन त्यसै त्यसै रोमान्चित थियो। गलामा क्यामरा एउटा हातमा पोर्टेबल ट्राइपोड र काँधमा क्यामराको झोला बोकेर एयर्पोर्ट बाट निस्कदै गर्दा अम्बिका भने आफुले मात्र सुट्केस गुडाउनु पर्‍यो भनेर रिसाउदै थिइ। फ्युमिचिनो बाट  ४५ मिनेट को रेल यात्रा पछि दिउसो करीब २ बजे होटेल पुगियो। होटेलमा चेक इन गर्दै गर्दा रिसेप्सनीस्टले भनिन,”मिस्टर कायस्थ, वि ह्यव अप्ग्रेडेड यू टु सुपर डिलक्स रूम “। हामी चकित भयौँ र खुशी पनि। भएछ के भने राड्फोर्डले यो मान्छे सधैं यात्रा गरीराख्ने मान्छे हो र सधैं ट्रिप एड्वाइजरमा प्रतिकृया लेख्छ बनेर होटेलमा ईमेल गरेको रहेछ र राम्रो प्रतिकृया पाउने आशमा हामीलाई अप्ग्रेड गरेको रहेछ।

त्यस दिन हाम्रो कार्यक्रम रोमको बहुचर्चित एेतिहाँसिक स्थल कोलोसिएम हेर्ने थियो र सोही कार्यक्रम मुताबिक होटेलमा सुट्केस थन्क्याएर कोलोसिएम हेर्न निस्कियौ। होटेल बाहिर एकजना लाई हामीले कोलोसिएम कसरी जाने भनेर सोध्यौ तर उस्ले अङ्ग्रेजी बुझेन र एउटा पसलतिर  देखाउदै त्यहाँ गएर सोध्न संकेत गर्‍यो। तर पसलेले पनि अङ्ग्रेजी बुझेन र नजिकैको पत्रिका पसलमा सोध्न संकेत गर्‍यो। यति चर्चित पर्यटन स्थलमा पनि अङ्ग्रेजी बुझ्ने मान्छे भेट्टाउन मुस्किल पर्‍यो। हामीले होटेलमै सोधपुछ गरेर आउनु पर्थ्यो शायद। पत्रिका पसलेले बस टिकेट पनि बेच्दो रहेछ र तीन युरो तिरेपछि दिनभरी जुनसुकै बसमा पनि चढ्न पाउने टिकेट पाइदो रहेछ। हामीले त्यही टिकेट लियौं र सिटी सेन्टर जाने बस समात्यौ। सान जियोभानीको सुन्दर पार्क र चर्चहरु छिचोल्दै करीब १५ मिनेटपछि बस एउटा भव्य पुरातात्विक भवन अगाडि रोकियो। यात्रा अगाडि धेरै तस्बिरहरु हेरेकोले कोलोसिएम यही हो भनेर ठम्याउन हामीलाई गह्रो भएन।

कोलोसिएम र ग्ल्याडिएटर

कोलोसिएम धेरै पर्यटकले हेर्ने रोमको प्रमुख आकर्षण हो। ढुङ्गा र कंक्रिट ले बनेको यो भवन उतिबेला रोमन साम्रज्यको सबैभन्दा ठुलो रङ्गशाला थियो। करीब २००० बर्ष अगाडि बनेको यो रङ्गशालामा ८०००० दर्शक अटाउन सक्ने क्षमता थियो। मानव निर्मित आश्चार्य को रुपमा हेरिने यो रङ्गशालामा ग्ल्याडिएटर ( सशस्त्र युद्धकला सिकेको मान्छे)हरुको प्रतिस्पर्धा हुन्थ्यो र बद्शाहहरु हेरेर मनोरन्जन गर्थे। भुइँचालोबाट आँसिक क्षति भएपनि कोलोसिएम रोमन साम्रज्यको प्रमुख साक्षीको रुपमा अझै उभिएको छ।

colosseum
फोटो : रमेश कायस्थ

 

प्राचिन रोमको भब्य बास्तुकलालाई क्यामरामा कैद गर्ने उपयुक्त ठाउँ खोज्दै हामी कोलोसिएमको वरिपरी हिंड्दै थियौं।  पौरानिक योद्धा जस्तो देखिने   तरवार र ढाल बोकेको एकजना अजङ्गको मान्छे हामीतिर आयो। घुँडा सम्म आउने जामा जस्तो लुगा, काँध र हात सबै फलामे सिक्रीले छोपेको र फलामे हेलमेटले टाउको र मुख छोपेको मान्छे हामीतिर आएर आफ्नो फोटो खिच्न भन्यो। मैले फोटो खिचेपछि उस्ले म सँग ५ युरो मग्यो। प्राचीन ग्ल्याडिटर को भेषमा फोटो खिचाउदै पैसा माग्ने उस्को पेशा रहेछ। पछि उस्तै भेषका अरु पनि मान्छे देखिए र उनिहरुसँग फोटो खिच्ने मान्छे पनि प्रसस्तै देखिए। अलि अबेला पुगेकोले कोलोसिएम भित्र  जाने टिकेट बन्द भैसकेको थियो।  साँझ अबेर सम्म  वरिपरी घुमेर हामी होटेल फर्कियौ।

भ्याटिकन सिटी

यात्राको दोस्रो दिन भ्याटिकन  सिटी घुम्ने योजना अनुसार बिहान होटेलमा ब्रेकफास्ट गरेर पोन्ते लुङ्गो स्टेसन बाट मेट्रो रेल चढेर हुइँकियौँ । रोम शहरको बिचमा वरिपरी पर्खालले घेरेको र ४४ हेक्टरमा फैलिएको भ्याटिकन सिटी क्षेत्रफल र जनसङ्ख्या दुबै हिसाबले विश्वकै सबै भन्दा सानो सार्बभौम राज्य हो। पोन्ते लुङ्गो बाट कारीब ४० मिनेट रेल यात्रा पछि घमाइलो मौसमका वीच भ्याटिकन सिटीको प्राङ्गणमा पुग्दा बिहानको ११ बजिसकेको थियो। मान्छेको भिड्भाड बढ्दै थियो। कहाँंबाट यात्रा शुरु गर्ने र के के हेर्ने भन्ने कुराको मेसो नआएकोले हामीले गाइडेड टूर गर्ने निर्णय गर्यौ।

टूर का हाम्रा गाइड थिए इजरेली नागरिक रिबाल। हामी लगायत करीब २० जनाको टोलीलाइ बाटो देखाउँदै र प्रत्येक कुराको बर्णन गर्दै ऊ अघि अघि लाग्यो। भिडभाडमा उस्लाई देख्न सजिलो होस भनेर एउटा लौरोमा टोपी राखेर हल्लाउदै हिड्थ्यो। उस्ले बोलेको सुन्नलाई हामीलाई एउटा एउटा हेडफोन र ट्रान्स्मिटर दिएको थियो। भ्याटिकन सिटी को परिचय र इतिहाँस बताउदै उसले हामीलाई भ्याटिकन सिटी म्युजियम तिर लग्यो।

Vatican_city

फोटो : रमेश कायस्थ

भ्याटिकन सिटी रोमन क्यथोलिक चर्चका प्र्मुख पोप द्वरा शासित सार्बभौम राज्य रहेछ। यो राज्यको जनसङ्ख्या करीब ९०० मात्र रहेछ। राज्यको प्रमुख आयस्रोत भनेकै पर्यटन रहेछ। हुलाक टिकेट,सिक्का ,पर्यटकिय चिनो र म्युजियम को टिकेट बिक्रीबाट आर्जित रकम नै यो राज्यको अर्थतन्त्रको मेरुडण्ड रहेछ। परिचयकै क्रममा रिबालले बडो अनौठो कुरा सुनए। त्यो के भने यो राज्यको सुरक्षा गार्ड स्विस नागरिक नै हुनुपर्ने प्राबधान रहेछ।

विश्वका उत्कृष्ट संग्राहलयहरु मध्यका एक भ्याटिकन म्युजियममा सदियौं देखिका कला र सँस्कृती देख्न पाइयो। विश्व चर्चित प्राचिन मुर्तिहरु देखि लिएर पुनर्जागरण काल (Renaissance) का महत्वपूर्ण कलाकारिताको संग्रह रहेछ यहाँ । विश्वप्रसिद्ध कलाकारहरु माइकलएन्जेलो, राफेल , लियोनर्दो दा भिन्ची आदीको प्रसस्तै कलाकृतिहरु रहेछ। म्युजियमका भित्ता र सिलिङ सबै अलौकिक चित्रहरुले भरिपूर्ण थिए।  रिबाल प्रत्येक कलाको बर्णन गर्दै अगाडि बढ्दै थियो। म भने उस्को बर्णन भन्दा त्यहाको कलाकारितालाई कैद गर्न ब्यस्त थिएँ। एकछिनमा हेड्फोनको  आवाज अस्पस्ट हुँदै गयो र हरायो। रिबाल र समुहका अरु सदस्यहरु मलाई छोडेर धेरै अगाडि बढीसकेको रहेछ। म रिबालले हल्लाएको टोपी देखिन्छ कि भनेर यता उता हेर्दै अली छिटो कुद्न थाले। केही हिंडेपछि अम्बिकालाई भेटें। उनी पनि मलाई नै खोज्दै थिइन। रिबाल र समुहका अरु सदश्यहरु अगाडि गैसकेकोले हामी आफ्नै तरिकाले म्युजियम भित्र घुम्न थाल्यौँ । म्युजियमका भित्ता र सिलिङमा कोरिएका चित्रहरु यति जीवन्त र सशक्त्त थियो कि जो कोही पनि यहाँ घण्टौ भुल्न सक्दथ्यो। करिब १ घण्टा घुमेपछी अगाडि लौरोमा हल्लिरहेको टोपी देखियो। रिबाल र समुहका अन्य सदश्यहरु हामीलाई कुर्दै रहेछन।

म्युजियम बाहेक भ्याटिकन सिटी भित्र अन्य धार्मिक र साँस्कृतिक महत्वका स्थलहरु पनि रहेछन। सेन्ट पिटर को बासिलिका , सिस्टिन च्यापल यहाँका अन्य आकर्षण रहेछन। करिब अढाइ घण्टा घुमेपछि हामी सेन्ट पिटर चोक (St.Peter Squre) मा निस्कियौ। बासिलिका अगाडिको यो सुन्दर र बिशाल चोकको विचमा इजिप्ट बाट ल्याएर सन १५८६ मा ठड्याइएको बिशाल ढुङ्गे पिलर सोभयमान भै उभिएको थियो। बिशेष धार्मिक समारोहहरुमा हजारौ मान्छेहरु चोकमा जम्मा हुने र बासिलिकाबाट निस्किएर पोपले आशिर्बाद दिने कुरा रिबालले बतायो। मान्छेको भिड्भाड हुने भएकोले पाकेटमारहरु सँग सावधान रहन सचेत गर्दै रिबाल बिदा भए। बाँकी रहेको समय हामी भ्याटिकन गार्डेन र क्यसल सेन्ट एन्जेलो घुमेर बितायौं ।

 

रोमका माग्ने र चोरहरु

रोमका प्रत्येक चोक-चोक र गल्लीमा पर्यटकहरुलाई आकर्षित गर्दै बिभिन्न भेष भुषामा माग्नेहरु प्रसस्तै भेटिए। भ्याटिकन सिटीबाट निस्किएपछि बाहिर चोकको एउटा कुनामा बसेको गेरु वस्त्रधारी मग्नेले मलाई आकर्षित गर्‍यो। दुइजना गेरु वस्त्रधारी मध्य एकजना भुइँमा पलेटी कसेर बसेको थियो। उस्ले एउटा हातमा मोटो लौरो समातेको थियो र लौरोमाथि अर्को गेरु वस्त्रधारी पूर्ण ध्यान मुद्रामा पलेटी कसेर बसेको थियो। झट्ट हेर्दा यस्तो लाग्थ्यो कि यि ठूला तपस्वी हुन र यिनिहरुलाई अलौकिक तपबल प्राप्त छ। पर्यटकहरु उनिहरुको अगाडि रखिएको टोकरीमा पैसा खसाल्दै फोटो खिच्न ब्यस्त थिए। मैले पनि एउटा फोटो टाढैबाट खिचें र खाजा खान रेस्टुरां खोज्न थालें।

Vatican_city
फोटो : रमेश कायस्थ

खाजापछि हामी ट्रिवी फाउन्टेनको सांझको दृष्य हेर्न मेट्रो रेल चढेर ‘बार्बरेनी स्टेसन’ तिर हुइँकियौं। रेलभित्र भिडभाड  राम्रै थियो एउटा मात्र सिट पाइएकोले अम्बिका सिटमा बसिन। म भने क्यामरालाई ब्यगमा हालेर भिरें र दुबै हातले रेलको डण्डी समातेर उभिएँ। टर्मिनी स्टेसन नजिक अाइपुग्दा मेट्रोमा भिडभाड निक्कै बढिसकेको थियो। दुइतिरबाट दुइजना मान्छे ठेल्दै मसंग टाँसिन आयो। मैले आफ्नो वालेट सुरक्षित छ कि छैन भनि छामें र त्यसलाई अठ्याँइ रहें। ति मध्ये एकजनाले म सँग बोल्दै टर्मिनी यहीँ हो झर भने। मैले आफु ट्रिवी फाउन्टेन जानलागेको बताएपछि नजिकै सिटमा बसिरहेकी एक महिलाले यहाँँ झर्ने होइन भन्दै आफ्नो ब्यग सम्हाल्न संकेत गरिन। ति महिलाले हेरिरहेको थाहा पाएपछी उनिहरु त्यही झरे। उनिहरुले मेरो क्यामराको ब्याग खोलिसकेको रहेछ। धन्य ति महिलाले देखिहालिन र मेरो क्यामरा र त्यसमा कैद रोमका तस्बिरहरु सुरिक्षित भए।

ट्रिवी फाउन्टेन र स्पेनिश स्टेप्स

बार्बरेनी स्टेसनबाट करिब १० मिनेट हिंडेर ट्रिवी फाउन्टेन पुग्दा साँझको ८ बजिसकेको थियो। मान्छेहरु बिस्तारै जम्मा हुँदै थिए। एकैछिनमा त्यहाँ सयौं मानिसहरु जम्मा भए। एउटा भव्य भवन अगाडि कलात्मक मुर्तिहरु र त्यसको मुनिबाट पानी निकालेर बडो कलात्मक तरिकाले झारेको मानव निर्मित झरना साँझको बत्तिहरु बलेपछि बडो सुन्दर देखियो। ‘लङ्ग एक्स्पोजर’ मा फोटो खिच्न म पोर्टेबल ट्राइपोडलाई भुइँमा मिलाउन थालें तर भिडभाडमा त्यो सम्भव नभएपछि एउटा फलामे बारमा क्यामरा अड्याएर केही फोटोहरु खिचें। फाउन्टेनको पानी जम्मा भएको सानो पोखरीमा सिक्का फालेर इच्छा गरेमा सो मनोकांक्षा पूरा हुने जन विश्वास रहेछ। मान्छेहरु पछाडि फर्किएर सिक्का फाल्दै थिए र हामीले पनि त्यसै गर्यौँ । राड्फोर्डले भनेझै आइसक्रिम चाख्न निक्कै अबेर भइसकेकोले भोलिपल्ट दिउसो फेरी आउने योजना बनाएर होटेल फर्क्यौं।

colosseum
फोटो : रमेश कायस्थ

 

भोलिपल्ट हाम्रो योजना त्यहाँको प्रसिद्ध स्पेनिस स्टेप्स (जस्लाई स्थानीय भाषामा ‘स्पान्जा’ पनि भनिन्छ)र रोमन फोरम हेर्ने भएपनि आइसक्रिम चाख्ने मनसायले पहिले ट्रिवी फाउन्टेन तिरै हानियौँ । एउटा एउटा आइसक्रिम किनेर खाँदै हामी स्पेनिस स्टेप्स तिर हिड्यौ। आइसक्रिमको स्वाद भन्दा हामीलाई ठाउँँ घुम्ने हतारो थियो। करिब २० मिनेट हिंडेपछी लामो लामो सिंढी भएको ठाउँमा पुग्यौँ। अगाडि डुङ्गा आकारको फाउन्टेन, दुइतिर अग्ला अग्ला घरहरु र बिचमा लामो लामो सिँढी भएको यो ठाउँ रोमका प्रमुख आकर्षण मध्ये एक रहेछ। सिँढी चढ्दै गर्दा अम्बिकाले भनिन, ” राम्रो प्रवर्द्धन हुन सक्यो भने हाम्रो स्वयंम्भूका सिंढीहरु यो भन्दा धेरै अकर्षक छन है?” मैले सहमतिमा टाउको हल्लाएँ। एकैछिन त्यहाँ घुमेपछि खाजा खाएर रोमन फोरम हेर्न भनि हिंड्यौ।

colosseum
फोटो : रमेश कायस्थ

 

हामी रोमन फोरम पुग्दा दिउसोँको ४ बजिसकेको थियो। टिकेट अफिस बन्द भैसकेकोले फोरम भित्र पस्न पएनौ। हजारौ बर्ष अगाडिको रोमन सरकारी भवनहरुको भग्नावशेषहरुलाई टाढै बाट नियाँल्दै हामी फेरी कोलोसिएम भएको ठाउँतिर आयौँ , एकैछिन भुल्यौँ र होटेल फर्कियौँ।

टर्मिनीमा नेवारी

 

पछिल्लो दिन ‘पिजा दि नभोना’ र ‘सान जियोभानी’ घुमेपछि एयर्पोर्ट आउने रेल समात्न हामी टर्मिनी गयौं। अन्तराष्ट्रिय रेल स्टेसन र ठूला ठूला सपिङ मलहरु भएकोले यहाँ मानिसहरुको चाहलपहल निक्कै थियो। रोमको एउटा चिनो त लानुपर्ने भन्दै हामी एउटा पसलभित्र छिर्‍यौं। कोलोसिएमको चित्र अङ्कित दुईओटा टिसर्ट छानेपछि काउन्टरमा गएर बिनम्रताका साथ त्यसको मूल्य सोधें;

“कुड यू प्लिज टेल मी हाउ मच दिस कस्ट्स ?”

पसले अनकनायो र इटलियन भाषामा बोल्न थाल्यो। त्यहाँ अङ्ग्रेजी बोल्नुको कुनै औचित्य नदेखेपछि म पनि नेवारीमा बोल्न थालें ।

औलाले पैसाको संकेत गर्दै सोधें,”ढेबा गुली ख पासा ?”

उस्ले बुझेझै गरेर औंला भाँच्दै भन्यो ,”उनो दुवे त्रि क्वत्रो चिन्ख्वे”

पाँच युरो भनेको बुझेपछि मैले हाँस्दै भने,”ङ्यार्का ख ला ?”

टाउको हल्लाउदै उस्ले भन्यो,” सि  सि ”

म पाँच युरो तिरेर फर्कंदा हाँसो रोक्न नसकेर अम्बिका अगिनै पसलबाट बाहिरी सकेकी थिइन ।

 

ब्रिटिश एयरवेजको साँझको उडानबाट बेलायत फर्कदै गर्दा मन निक्कै प्रफुल्लित थियो। यात्राभरि क्यामरामा फोटो रिप्ले गरेर हेर्दै आयौं। रोम घुम्नलाई समय पर्याप्त नभएको महसुस भयो। घर आउँदै गर्दा एकजना साथीले फोन गरेर होलिडे कस्तो भो भनेर सोधे। मैले ठट्यौली पारामा भने “रोम त रोमाइलो रोइछ”।

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *