मृत्युलाई जितेका रिमाल भन्छन्”आत्मबल दुनियाँको सबै भन्दा दर्बिलो ‘रामबाण’हुँदोरहेछ”

 

ब्लड क्यान्सर भन्दा कयौं गुना खतरनाक रोग लागेर अस्पताल परेका केदार रिमाल अन्तत्वगत्वा मृत्युलाई जितेर घर फर्कन सफल भएका छन । बेलायतको रेडिंगमा बसोबास गर्दै आएका रिमाललाइ एच एल एच भन्ने रोग लागेर डाक्टरहरुले एक हप्ता भन्दा बचाउन नसक्ने भनेपछि आफन्त र साथीभाईहरुले मायाँ मारिसकेका थिए । कासरि सम्भव भयो त उपचार? लण्डन काठमाडौँ का तर्फबाट रमेश कायस्थले केदार रिमाल संग गरेको कुराकानीको केहि अंश तल प्रस्तुत गरिएको छ ।

रमेश: कस्तो छ तपाइँको स्वस्थ आजभोली ? केदार : बास्तबमा भन्नुपर्दा,अहिले मेरो स्वास्थ्य स्थिति मेरा डाक्टरहरुले सोचेभन्दापनि  धेरै नै राम्रो भएको छ ।वहाँहरुको अनुमान त म बाँचिहाले पनि कमसेकम दश बाह्र बर्षसम्म चाहिँ ओछ्यानमै परौँला भन्ने थियो तर म अहिले पूर्णरुपमा सामान्य वा पहिलेको जस्तै नै भएको छु।

रमेश: हाम्रो पाठकहरुलाई बताइदिनुस न के भएको थियो तपाईलाई ? केदार: मेरा डाक्टरहरुका अनुसार म एच एल एच (Hemophagocytic Lymphohistiocytosis (HLH)भन्ने अत्यन्तै घातक समस्या बाट ग्रसित भएको थिएँ जुन कुनै रोग भन्दा पनि हाम्रो शरिरभित्र कुनै कारणले सृर्जना हुने अवस्था हो, जस अन्तर्गत शरिरमा एक थरि यस्ता सेलहरुको बिकास हुन्छन जो कलेजो,फियो आदिमा जम्मा भएर रगतका अरु सेलहरुलाई खाइदिन्छन ।हाम्रो शरिरको इम्युन सिस्टम अति नै कमजोर हुन्छ र तुरुन्तै उपचार नभए मानिसको मृत्यु हुन्छ ।

रमेश: यो समस्या कसरी सुरु भयो ? के के लक्षण देखा परे पहिला ? केदार: दुइ दिन अगाडि देखि अलि अलि घाँटी दुख्ने भयो,तेश्रो दिन देखि ज्वरो बढेर झण्डै ४१ डिग्री पुग्यो र एम्बुलेन्स द्वारा मलाई सोझै आइ सि यु मा पुर्याइयो ।त्यसपछिका सबै दिनहरुमा लगभग म पुर्ण बेहोसि अवस्थामा धेरै जस्तो समय आइ सि यु मै रहेँ । मुख्य समस्याहरुमा ज्वरो आउने,पशिना धेरै आउने, शरिर काँप्ने,तौल एकदम घट्ने,खाना मन नलाग्ने आदी थिए ।

रमेश: रोग कसरी पत्ता लाग्यो  र त्यो रोग त्यति घातक भन्ने कुरा तपाइँले कतिबेला थाहा पाउनुभयो ? केदार: म आफू त धेरैजसो  समय बेहोस नै हुन्थेँ।यो सब कुरा मैले होस आएपछि मात्र  मेरा डाक्टरहरु र आफन्तबाट थाहा भएको हो ।रोयल बार्कसायर  हस्पिटलले रोग पत्ता लगाउन असमर्थ भएपछि अक्स्फोड पठाएछ ।उनिहरुले पनि धेरै प्रयासपछि लगभग तीन हप्ता पछि मात्र मलाई एच एल एच भएको बताउँदै सो समस्याको खास औषधी नभएकोले मेरो आयु बढिमा एक हप्ता हुने बताएछन ।

रमेश: अस्पताल कति बस्नुभो? केदार: म तीन ओटा अस्पताल गरेर लगातार करिब ७ महिना जति बसेँ।त्यसपछि पनि लगभग एक बर्ष जति प्रत्येक हप्ता अस्पतालमा जानुपर्थ्यो । एक बर्षपछि मेरो अवस्थामा निक्कै नै सुधार आएपछि भने वहाँहरुले एक हप्तालाई दुइ,अनि,तीन गर्दै बिचको ग्याप बढाउँदै लग्नुभयो ।अहिले म प्रत्येक दुइ महिनामा फलो अपका लागि लण्डनको ह्यामरस्मिथ हस्पिटलमा जानुपर्छ ।

kedar_Rimal

रमेश: यस्तो रोग जुन ब्लड क्यान्सर भन्दा पनि कयौ गुना खतरनाक छ , कसरि सम्भव भयो उपचार ? केदार: मैले माथि नै भनिसकेँ-सुरुमा मलाई लागेको रोग अत्यन्तै घातक भएको अनि यसको कारण मेरो स्वास्थ्य स्थिति निक्कै नै नाजुक भैसकेको अवस्थामा यसको निदानको निम्ती कुनै भरपर्दो औषधि समेत संसारमा पत्ता नलागेको कारण डाक्टरहरुले मेरो उपचार लगभग असम्भब भएको भन्दै  मेरा आफन्तलाई मलाई माया नै मार्न भन्नु भएछ जुन सन्देश मेरा सबै आफन्तहरुकाँहा पुग्यो र अरु उपाए पनि थिएन । फेरिपनि, मलाई पछि बताइए अनुसार वहाँहरुले प्रयास भने छोड्नु भएन र बिभिन्न औषधिहरुको प्रयोग गरी नै रहनुभयो । नशाबाट दिइने तरल औषधि बाहेक नै एक डोजमा ४२ चक्कि औषधी मलाई खुवाइन तैयार पारेको फोटो मैले पछी निको भएपछि देखेको थिएँ। वहाँहरुले किमोथेरापि समेत्को परिक्षणको रुपमा ८ ओटा किमो दिनुभयो । त्यो सब असफल भएपछि अरु कुनै सम्भाबित औषधिको परिक्षको निम्ती र अन्तिम उपाएको रुपमा बोनम्यारो ट्रान्स्प्लान्ट समेतको निम्ती रक्त बिकार र क्यान्सर समबन्धमा बेलायतकै नाम चलेको लन्डनको ह्यामरस्मिथ हस्पिटल पठाउनु भयो। त्यहाँ मेरो परिवारको सहमतिमा नितान्त नयाँ प्रकारको औषधि अमेरिकामा तैयार गर्न लगाएर मलाई पहिलो पटक प्रयोग गरियो। इश्वरको कृपा र मेरा आफन्तजनहरुको मायाको चमत्कार भन्नुपर्छ मैले,त्यो औषधिले मलाई सकरात्मक परिणाम दियो र मेरा डाक्टरहरु बढी आशावादी हुन थाल्नुभयो । मेरो स्वास्थ्यमा यसरी चमत्कारिक सुधार आउन थालेपछि मेरा डाक्टरहरुले मेरो समस्याको बिषयमा थप रिसर्च गर्ने र मेरो उपचार पनि साथसाथै जारी राख्ने काम गर्नुभयो । यदि औषधिले काम नगरेको खण्डमा अन्तिम बिकल्पका रुपमा बोनम्यारो ट्रान्स्प्लाण्टको निमित डोनर खोज्ने क्रममा मेरा जेठा दाजुको बोनम्यारो मेरोसङ मेल खाने पत्ता लगाएपछि वहाँहरुले मेरो दाइलाई नै बेलायत बोलाउनु भएको थियो। तर,मेरो शरिर अत्यन्तै कमजोर भएको कारण ट्रान्स्प्लाण्टको कार्य असफल हुने बलियो सम्भबनालाई बिचार गरेर मेरा डाक्टरहरुले त्यो काम तत्कालका लागि स्थगित गरि बरु औषधिको प्रयोग परिक्षणको रुपमा प्रयोग गर्दै जानु भयो,जुन अहिले सम्म जारी छ । आजसम्म म त्यही औषधिले हो वा अन्य कारणले ठिक छु। अस्पतालले मेरो दाइको बोनम्यारो निकालेर  अझै सम्म पनि त्यहाँको फृजमा राखेकै छ कि मेरो समस्या फेरि दोहोरिएमा त्यो प्रयोग गर्न सकियोस ।

रमेश: कति जति खर्च भयो तपाइको उपचार गर्न? केदार: औपचारिक रुपमा त यस्ता खर्चका कुराहरु यहाँका अस्पतालहरुले बिरामिलाई भन्दैनन तर मेरो केश खास भएको कारण वहाँहरुले एउटा सम्मेलनमा म बाँच्न सफल भएको खुशियाली ब्यक्त गर्ने क्रममा ‘मेरो उपचारमा लगभग (Three Million Pounds) ५० करोडनेपाली रुपैयाँ जति खर्च भएको र त्यो खेर नगएको’ कुरा बताउनुभएको थियो। बेलायतमा  स्वास्थ उपचार निशुल्क हुने भएकोले मेरो परिवार आर्थिक मारमा भने पर्नु परेन।

रमेश: तपाई अचेत व अर्धचेत अवस्थामा अस्पताल हुदाको अनुभव एकपटक फेसबुकमा लेख्नुभएको थियो , केहि सम्झना छ? केदार: करिब सात महिनाको मेरो अस्पतालको बसाइमा मैले धेरैजसो समय त आइ सि यु मा र अचेत अवस्थामा नै बिताएँ। त्यो बेलामा  मेरो दिमागमा आएका कुराहरु धेरै अचम्मका र नपत्त्याउने खालका छन जसलाई डाक्टरहरुले आफ्नो भाषामा ‘हलुसिनेसन’ भन्दारहेछन ।तर,त्यो क्रममा एक पटक मेरा शरिरका सबै भितृ अङ्गहरुले काम गर्न छोडे र म एक प्रकारले मरेको कारण लाईफ सपोर्ट मेशिनमा राखियो। त्यो बेलाको मेरो अनुभब भने बिशेश प्रकारको छ जुन मैले पछि फेसबुकमा राखेको थिएँ ।मेरो बुझाइमा म त्यो बेला मृत्युलोकमा नै पुगेको थिएँ जुन बेला मैले देखेका दृश्यहरु र भोगेका घटनाहरु बताउन यहाँ सम्भब छैन ।

रमेश: उपचारको क्रममा मनोपरामर्श पनि गर्नुभयो? केदार: जब कुनै मान्छे एक ढङ्गले मरेर उसलाई ‘भेण्टिलेशन’मा राखिन्छ त्यो बेला उसले अनुभब गर्ने वा देख्ने कुरा अत्यन्तै भयाभह हुन्छ्न भन्ने हिसाबको कुरा गर्दै मलाई भेण्टिलेशनबाट निकालिएपछि अस्पतालले खटाएका मनोबिद वा बिज्ञहरु  धेरै पटक म सङ्ग आएर निक्कै कुराहरु सोध्नु भएको थियो र आवश्यक परे कुनै पनि परामर्श दिन तैयार रहेको कुरा पनि बताउनु भएको थियो। तर,मलाई त्यो सब आबश्यक परेन। त्यो कुराले वहाँहरु चकित पर्दै ‘तपाइँको आँत्माबल र मनोबल लाई हामी मान्छौँ’ भन्दै जानु भएको थियो ।कहिलेकाहिँ वहाँहरु ठट्टा गर्दै भन्नुहुन्थ्यो,”यस्तो अवस्थामा पुगेर त्यस्तो कुरा भोग्दा पनि यसरि ढुक्क ढङ्गले सामान्य मान्छेको जस्तै रहन सक्ने दर्बिलो मनोबल कसरी प्राप्त गर्नुभयो? तपाइँ कुनै रहस्यमय फकिर(योगि) भएर पनि यहाँ हामिलाई सरप्राइज दिन ढाँटिरहनुभएको त छैन! इन्डियनहरु त यस्तो चमत्कार गर्नमा पनि माहिर हुन्छन रे….!(सबै डाक्टरहरुलाई म नेपालि भन्ने कुरा थाह नहुन पनि सक्थ्यो र गहुँ गोरो जसलाई पनि यहाँका मान्छेहरु पहिला इन्डियन भनेर ठान्छन) त्यस्तो रहस्य हामिलाई पनि बताइदिनुस न! तपाइँ त हिन्दू गुरु(पन्डित) र ज्युतिषबिद पनि हुनुहुन्छ रे—हामी तपाइँको चेला बन्न तैयार छौँ”,आदी आदि..

रमेश: तपाइँ त ज्योतिष शास्त्रको पनि ज्ञान राख्नुहुन्छ, घर परिवारमा आफुलाई दशा लागेको कुरा पहिले नै भन्नु हुन्थ्यो रे ,केहि संकेत थियो यस्तो हुने? केदार: त्यो सङ्केत मलाई थियो-म मारक दशाको प्रभाबमा थिएँ ।फेरिपनि मैले त्यो कुरा परिवारलाई पहिल्यै नै बताउनु ब्यबहारिक थिएन। मेरो शरिरले देखाएका केहि सङ्केतहरु भने मैले मेरो परिवारलाई बताएको थिएँ । अर्को कुरा,म के कुरामा अहिले पनि बिश्वस्त छु भने हामिले जे कुरा भोग्नु पर्छ–त्यो नभोगि सुखै छैन। त्यसकारण त्यो सवालमा ज्यादा चिन्तन मनन गर्नुको अर्थ थिएन। तर ज्योतिषिय हिसाबले मेरो लग्न र लग्नेश दुबै बलियो भएकाले म मरिहाल्छु भन्ने चाहिँ थिएन! बिरामी पर्नु ठिक अगाडिसम्म  ८० किलोको म बिमारी अवस्थाको करीब डेढ महिनामै झण्डै ४० किलोको हुँदाको मेरो अवस्था देख्दा र मेरो बिषयमा डाक्टरहरुले गरेका कुरा सुन्दा मेरा आफन्तहरुले भने मलाई निश्चय नै माया मार्नुभएको थियो जुन स्वभाबिक नै थियो । म भित्र लुकेर रहेको इश्वरप्रतिको अगाध आस्था र त्यसको परिणामस्वरुप म भित्र बिकाश भएको आँत्माबलको बिषयमा वहाँहरु सबै ज्ञात हुने कुरै थिएन । बरु अहिले आएर वाहाँहरु सबैले यो कुरा महसुस गरिरहनुभएको हुन सक्छ ।

रमेश: रोग लग्नु अघि र मृत्युलाई जितेर आएपछि तपाइको जिवनलाइ हेर्ने दृष्टिकोणमा के परिबर्तन आएको छ ? केदार: जीवन र जगत के हो,अनि खासमा चेतनाको सुरुआत कहाँबाट र कसरी भयो भन्ने कुरा जान्ने उत्सुक्ता म मा सानैदेखी नै थियो। यही मूल प्रश्नको उत्तरको खोजिमा मैले भौतिक बिज्ञान अनि यससंग समबन्धित धेरै वाद र सिद्धान्तहरुको दुनियाँ चाहारेँ ।तिनिहरु सबैले केवल पदार्थको बिषयमा त धेरै कुरा बताए तर मेरो प्रमुख प्रश्न ‘चेतना’को सवालमा आएर मौन रहे ।त्यसपछि,म अध्यात्मिक सन्सारको बिचारणमा लागेँ । त्यसले चेतनाको सवालमा अमुर्तरुपमा नै किन नहोस,धेर थोर केहि कुरा बोल्यो अनि मलाई साँच्चै नै लाग्यो कि जिबन भनेको साँच्चै नै कुनै न कुनै शक्तिबाट मायाको रुपमा प्रकट हुने एक प्रकारको लीला नै हो ।मैले त्यो शक्तिलाई इश्वर भनेर बुझेँ र त्यसपछी ममा त्यो शक्तिप्रति अगाध आस्थाको बिकाश भयो ।त्यसैले मलाई सत्यता,धर्म र परउपकारको बाटोमा लाग्न प्रेरित गर्‍यो। ठुलो आत्मबलको रहस्यमय शक्ति म भित्र जगाइदियो जसकै साहारामा मैले मृत्युसँग जुझ्न सक्ने अवस्था सिर्जना भयो ।

अब मलाई लागेको छ,मेरो यो जिबन निस्चय नै त्यही परमशक्तिको देन हो अनि उसैले कुनै न कुनै कारण मलाई यो उपहार प्रदान गरेको छ ।मेरो बुझाइमा त्यो कारण भनेको अरु केहि नभै सत्यता र धर्मको मार्ग अपनाउँदै आफूलाई सकेसम्म दया,धर्म,परोपकार आदि कार्यमा लगाउनु नै हो ।

रमेश: अन्तमा हाम्रा पठाकहरुलाई केहि भन्न चाहनुहुन्छ ? केदार: म जाहाँ पुगेर पनि फेरी फर्केर आउन सकेँ, त्यो सँसारमा बिरलै हुने कुरा हो ।मैले मृत्युशैयामा जे भोगेँ त्यसको आधारमा भन्नु पर्दा,जब हामी त्यो अवस्थामा पुग्छौँ हामी नितान्तै एक्लो हुन पुग्छौँ। हामिलाई बिस्तारै बिस्तारै सबै आफन्तहरुले माया मार्दै गरेको आभास हुन्छ। हामिलाई यो लोकको भन्दा अब जानुपर्ने परलोकको चिन्ताले सताउन थाल्छ। दुइ चार बर्ष बसेको एउटा डेरा छोड्नु पर्दा त हामिलाई कती गार्हो हुन्छ,नयाँ ठाउँ कस्तो होला आदी कुराले सताउँछ भने त्यहाँ त जीवन नै त्याग्न बाध्य भएर  अर्को कुनै दुनियाँको यात्रा तय गर्नुपर्ने हुन्छ जसको बारेमा हामिलाई शुन्य प्रतिशत पनि ज्ञान हुन्न-त्यो अवस्थामा हाम्रो  हाल कस्तो होला(जो मेरो भएको थियो)तपाइहरु आफै अनुमान लगाउन सक्नुहुन्छ । वरिपरि आफ्नो छेउमा रहेका मान्छेहरु पनि पराइ जस्ता लाग्न थाल्छन। उनिहरुले यो दुनियाँको कुरा गरेको सुन्दा आफूलाई निराशा लाग्छ । झन यदि जीवनभर हामिले केवल आफ्नो स्वार्थ र भौतिक शुखको लागि अरुलाई सताएका छौँ र अरु बिबिध पाप गरेका छौँ भने त्यो बेलामा हामिलाई असाध्यै ग्लानि,पश्चाताप र छट्पटिले खान्छ कि हामिलाई मृत्युदेखि डर लाग्न थाल्छ। अहिलेको खराब कर्मको फलस्वोरुप हाम्रो अर्को जुनी पिडादायि हुने वा आफू नरकमा पर्ने भयले हामिलाई यसरि सताउँछ  कि हामी बास्तबिक रुपमा मर्नु अगाडि नै आँत्मिक रुपमा मर्छौँ त्यसैकारणले गर्दा हामिलाई डाक्टरहरुले अमृत नै खुवाए पनि भयङ्कर रुपले गिरेको हाम्रो आँत्माबलले नै घुँडा टेक्छ र हाम्रो स्वास्थ सुध्रेर हामी बाँच्न सक्ने सम्भाबना न्युन हुन पुग्छ ।

तर,त्यसको ठिक उल्टो यदि हामिले जीवनमा जानी जानी कुनै अपराध गरेका छैनौँ,सत्यतालाई साथ दिएका छौँ र इश्वरप्रती पुर्ण भरोसा गरेका छौँ भने हामिलाई मृत्यु त्राशपुर्ण लाग्दैन। हाम्रो अर्को जुनी नबिग्रेने र बाँकी सबै दुनियाँले हामीलाई माया मारे पनि इश्वरले साथ दिने आशा र भरोसा हामीमा जाग्छ। यसले हाम्रो हिम्मत र आँत्माबल बढ्छ जसले हामिलाई मृत्युसँग लड्न सक्ने ताकत दिन्छ। र अन्तिम परिणाम स्वरुप हामिले चमत्कारको रुपमा नया जीवन प्राप्त गर्न सक्छौँ जसरि मैले सकेँ। बास्तबमा यही नै हो मेरा डाक्टरहरुले मेरो बँचाइलाई पुनर्जन्म र चमत्कार भन्नुको पछडिको रहस्य । इश्वरप्रतिको अटल आस्था र त्यसकै कारण सिर्जना हुने आँत्माबल जुन दुनियाँका सबै औषधिहरु भन्दा पनि बढी दर्बिलो ‘रामबाण’हुँदोरहेछ।

त्यसैले,मित्रहरु,तपाइँहरु पनि यस्तै कुनै न कुनै प्रकारको घातक रोग वा अन्य कुनै समस्याबाट ग्रस्त हुनुहुन्छ भने हिम्मत नहार्नुस-आफ्नो आँत्मलाई दह्रो बनाएर आफूले समय अनुसार गर्नुपर्ने कर्तब्य गर्दै रहनुभयो भने अन्तिमसम्ममा पनि कुनै चमत्कार हुनसक्छ । आशावादी बनेर इश्वरप्रति भरोसा राख्नुस र सधैँ आफूलाई सहि कर्ममा मात्र लगाउनुस कि अन्त्यमा मृत्युशैयामा हुँदा आफ्नै आँत्माले आफूलाई नै नधिकारोस। इश्वरप्रतिको चिन्तन र सत्यताको साथले आँत्माबल बढ्छ,दुख र पिडासँग लड्न सक्ने दिब्य शक्ति प्राप्त हुन्छ।

जाँदा जाँदै,मेरो निम्ती त्यती धेरै खर्च गरेर र त्यस्ता माहान स्वास्थ्यकर्मिहरु को ब्यबस्थागरेर यो राष्ट्र र यहाँको सिस्टमले मलाई लगाएको गुन कहिल्यै भुल्ने छैन ।मेरो आफ्नै देश वा अन्यत्र कतै भएको भए मेरो हाल के हुन्थ्योहोला,कल्पना मात्र गर्न पनि मलाई सम्भब छैन । मलाई अति नै माया गरेर र मेरो निम्ती हरप्रकारले प्रार्थना गर्न्नुहुने अनि त्यो जटिल अवस्थामा मेरो परिवारलाई ढाडस दिँदै हरप्रकारको सहयोग गर्नुहुने मेरा सबै मान्यजन,आफन्त र इष्टमित्रहरु प्रती नतमस्तक छु-अन्तमा मलाई यसरि आफ्नो कुरा राख्ने मौका दिनु भएकोमा लण्डन काठ्माण्डु डट कम  को सम्पुर्ण टिमलाई नै हार्दिक कृतज्ञता अर्पण गर्न चाहान्छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *