विद्यालयमा भाषणबाजी : अनुत्पादक संस्कृतिको पुनरुत्पादन

बिषय प्रवेश

नेपालमा विद्यालयहरूले प्राय: हरेक बर्ष बार्षिकोत्सव आयोजना गर्छन् । त्यसैगरी समाजमा विभिन्न संघ-संस्थाका कार्यक्रम पनि भइरहेका हुन्छन् । यस्ता कार्यक्रमहरू ‘भब्य र सभ्य’ रुपमा सम्पन्न भएको दाबी समेत गर्ने गरिएको पाइन्छ । तर  आफैंमा कति भव्य र सभ्य हुन्छन् त यी कार्यक्रम ? यो लेखमा नेपाली समाजमा विद्यमान रहेका केही अनुत्पादक संस्कृतिलाई विद्यालयमा हुने बार्षिक कार्यक्रमको तौरतरिका र भाषणबाजीसँग जोडेर कसरी तिनको पुनरुत्पादन हुन्छ भन्ने  चर्चा गर्ने जमर्को गरिएको  छ ।

अवलोकन

जिल्लामै निकै सफल गनिएको एक सामुदायिक विद्यालयको बार्षिक उत्सव हुँदै थियो । त्यो कार्यक्रममा केही विदेशी स्वयम्-सेवक दर्शकदीर्घामा बसेका थिए । उनीहरूलाई के भाषण भइरहेको छ थाह थिएन । औपचारिक विदाईको लागि मञ्चमा बोलाइन्छ भनिएकोले उनीहरू आफ्नो पालो कुरीरहेका थिए । कार्यक्रमको बीचतिर मैले एकजनालाई सोधें: “कार्यक्रम कस्तो लागि रहेछ?” मैले प्रश्न सोधेर उनको मनको उकुसमुकुस बिसाउन सानो भए पनि सहयोग गरेको रहेछु । उनले भनिन्, “ए भगवान! म त चकित छु । कति भाषण गर्न सकेको होला । के हो यो? किन हो यति धेरै मानिस बोलेको? दिनभरि !” म केही नबोली फिस्स हाँसेर मञ्चतिर लागें ।

बार्षिकोत्सव कार्यक्रमको अघिल्लो दिन भाषण कम गर्ने र कार्यक्रमलाई तीन घण्टामै सिध्याउने समझदारी बनेको थियो । तर अन्तत: यो प्रयास सफल हुन् सकेन । विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू र एक विद्यार्थी समेत २१ जनाले लगातार भाषण गरे । तैपनि भाषण गर्न लालयित सबै जनालाई समेट्न सकिएन । तिनको मान राख्न पुरस्कार, अविर, माला भने प्रदान गरियो । यति गर्दा पनि सबैलाई खुसी पार्न सम्भब भएन । व्यवस्थापन समितिले ‘आफ्ना मान्छे’ लाई मात्र भाषण गर्न दिएको भनि तिक्तता पोख्दै हिँडने र त्यसपछि विद्यालयतिर फर्केर नहेर्ने मानिस पनि  देखिए ।

६ घण्टासम्म बेञ्चमा ‘अनुशासनपूर्वक’ बस्न लगाइएका ३ बर्षदेखि १३ बर्षसम्मका बालबालिकाहरूलाई वक्ताहरूले के भनिरहेका छन् ? किन भनिरहेका छन् ? कुनै मेलोमेसो थिएन । पानी समेत नखाई बहादुरीपूर्वक बसीरहेका उनीहरूको आपसी खासखुस र मौरी-गुञ्जनलाई ‘लाउडस्पिकर’ को आवाजले निस्तेज पारिरहेको हुन्थ्यो । उनीहरूलाई यदि कुनै कुराको मतलब थियो भने कार्यक्रमको अन्त्यतिर दिइने पुरस्कार र खाजा नास्ता अनि विद्यार्थीले देखाएका नाचगान कार्यक्रमको । तैपनि, चेतन/अर्धअचेतन इन्द्रीयमार्फत उनीहरूले ठूला मानिसबाट भोलिको लागि केही न केही कुरा त सिकिरहेका थिए ।

मैले भाग लिएका अरू थुप्रै विद्यालयहरूको हालत योभन्दा पनि खराब थियो । तोकेभन्दा धेरै ढिलो सुरू हुने, घण्टौंसम्म तन्केर धेरै ढिला सकिने यस्ता कार्यक्रममा लामबद्ध वक्ताका चर्काचर्का भाषण सुन्न विवश हुनै पर्छ । शहरदेखि गाउँसम्मका यस्ता भाषणबाजीले संस्कृतिकै रूप ग्रहण गरिसकेको छ । भाषण एक कला हो भने, नेपालले यस्ता धेरै कलाकारहरू जन्माईसकेको हुनुपर्छ तर पनि कति फलदायी छन्  त यस्ता भाषण र कार्यक्रम ?

अनुत्पादक संस्कृतिको पुनरुत्पादन

सामान्यत: श्रोताले वक्ताको भाषणबाट असल प्रेरणा पाऊन् भनेर अपेक्षा गरिएको हुन्छ । राम्रो भाषण सुन्न पाइन्छ भनेर आउने मानिस पनि हुन्छन् । यस्ताक कार्यक्रमबाट विद्यार्थीले पनि केही हदसम्म वाक् कला सिक्ने तथा तार्किक क्षमता बढाउने र उत्प्रेरित हुने मौका पाउँछन् । तर हाम्रा स्कूलमा जुन तरिकाले कार्यक्रम गर्ने गरिन्छ, ती प्रत्युत्पादक हुने खतरा बढी रहन्छ ।

ठूलाबडा भनिएका मानिसहरूले विद्यालयमा प्रदर्शन गर्ने व्यवहारबाट साना नानीहरूको कलिलो मस्तिष्कमा विभिन्न मूल्य मान्यताहरूको खेति भइरहेको हुन्छ । जे रोपिन्छ स्वभाविकरूपमा त्यही फल्छ, अर्थात् रोपेकै कुराको पुनरुत्पादन हुन्छ । उनीहरूमा विषयवस्तुलाई आलोचनात्मक रुपमा गोडेर ग्रहण गर्ने क्षमताको विकास भैसकेको  हुँदैन् । यसलाई एक किसिमले फ्रान्सेली समाजशास्त्री पियरे बोर्दुको भाषामा ‘सिम्बोलिक भ्वाइलेन्स’ अर्थात ‘सांकेतिक विध्वंस’को रुपमा पनि लिन सकिन्छ । यसबाट बानीको निमार्ण हुन गई सांकृतिक मूल्य वा अर्को शब्दमा ‘सांस्कृतिक पूँजी’को रुप धारण भएको हुन्छ । उत्पादनशीलतामा बाधा पार्ने खालको ‘सांस्कृतिक पूँजी’ले समग्र राष्ट्रीय विकासलाई पछि धकेलीरहेको हुन्छ । कतिपय मानिसले हाम्रो देशको पछौटेपनमा यस्ता प्रवृत्तिहरू जिम्मेवार रहेको निचोड निकालेका छन्; जसमा सत्यता पनि छ । यस्ता खाले संस्कृतिको निमार्ण, पुनर्निर्माण र तिनले पार्ने असर बहुआयामिक प्रकृतिको हुन्छ, र दैनिक जीवनका औपचारिक वा अनौपचारिक परिवेशमा चेतन वा अचेतन हिसाबले तिनको पक्ष पोषण भइरहेको हुन्छ । विद्यालय यो बृहत्तर परिवेशको एक सानो तर  महत्वपूर्ण क्षेत्र हो र विद्यालयमा हुने औपचारिक कार्यक्रम त्यसको एउटा पाटो हो ।

बेतुके भाषणका नौ खराबी

यहाँ विद्यालय (र अन्य क्षेत्रमा) सञ्चालन गरिने भाषण कार्यक्रमको परिवेश र त्यसबाट उत्पादन हुनसक्ने नौ ओटा अन्तरसम्बन्धित विसङ्गतिपूर्ण प्रवृत्ति र परिणतिलाई संक्षेपमा विवेचना गरिन्छ ।

नेपाली समय: कार्यक्रम ढिला सुरू गर्नु, प्रमुख अतिथि समयमा नआइदिनु र कार्यक्रम समयमा नसकिनु – हाम्रा आम कार्यक्रमका विशेषता हुन् । कुख्यात ‘नेपाली समय’ (नेपाली टाइम्) यसैको उपज हो र यो अब स्वीकार्य नेपाली पहिचान जस्तै भइसकेको छ । नेपालीहरू जहाँ बसे पनि आयोजकदेखि आगन्तुकसम्म भनेको समयमा कोही जुट्दैनन्; ढिला जाँदा हुन्छ भन्ने अलिखित मान्यता नै बनिसकेको छ । यसबाट बालबालिकामा समयको पालन नगर्दा पनि स्वीकार्य हुने रहेछ भन्ने सन्देश गइरहेको हुन्छ । यस्तो प्रवृत्ति सुधार्ने ठाउँ विद्यालय हुनुपर्ने हो, तर विद्यालयमा हुने कार्यक्रमबाट यसैको पुनरावृत्ति भइरहेको हुन्छ ।

मिचाहा प्रवृति र अहंकार : कार्यक्रममा ‘विचरा’ आयोजकले वक्ताहरूलाई छोटो  बोल्दिन भनिरहेका हुन्छन् । तर वक्ताले त्यसलाई मतलब गरेको पाइँदैन । एकातिर वक्ताहरू आयोजकको निर्देशन पालन नगरेर सामान्य मानवीय शिष्टताको मान मर्दन गरिरहेका हुन्छन् भने अर्कोतिर आयोजकहरू नियम मिचुवा वक्तालाई रोक्न नसकेर विचरा भइरहेका हुन्छन् । अझै उदेक लाग्दो त के छ भने दिएको भन्दा दुई तीन गुणा बढी समय लिँदा पनि कति वक्ताले क्षमा याचना गर्नु आवश्यक ठान्दैनन् । हीनताबोध छैन्; छ त केवल अहंकार । यसबाट नानीहरूले कस्तो नैतिक पाठ सिक्लान् ? कार्यक्रम  धकेलिएर यति ढिला  भैसकेको हुन्छ कि, कार्यक्रमको अध्यक्षता गरिरहेका मानिस बोल्ने बेलासम्म श्रोताहरू आत्तिएर हिँडिसकेका, वा उठेर यताउता गरेर हो हल्ला भइरहेको हुन्छ । खास बोल्नु पर्ने मानिसलाई उठेका कति सवालहरूमा स्पष्ट पार्न र महत्वपूर्ण घोषणा गर्न मौका नै बाँकी  रहँदैन ।

मपाइत्व र द्वैध चरित्र : जीवनमा सकारात्मक कामका नाममा सिन्को नभाँचेका वा आफ्नो पदीय कर्तव्य र दायित्व पूरा नगरेका मानिसहरू पनि प्रायजसो भाषण गर्दा आदर्शपुरुष जस्तो बनेर अर्ती उपदेश पस्किरहेका रहेका हुन्छन् । आफ्नो सार्वजनिक जीवनमा ठीक उल्टो चरित्र भएका तर मञ्च हत्याउन सीपालु भाषणबाजहरूले नैतिक उपदेश र आदर्श ओकले पछि, त्यसबाट द्वैध चरित्रको संस्कृति मौलाउँन सहयोग पुग्छ नै ।

श्रोता समझको अपमान: ‘ठूलामान्छे’को वाक्क लाग्ने लामो भाषण बेहोरिसकेपछि उद्घोषकले ‘उहाँले यस्तो, उस्तो भन्नु भयो’ भनी भाषण दोहोर्याएर श्रोताको बुझ्ने क्षमतालाई अपमान गर्ने र समय सीमाको आदर नगर्ने प्रवृत्ति पनि सँगसँगै हावी भएको पाइन्छ ।

अति औपचारिकता: प्राय:जसो कार्यक्रममा सभापति, प्रमुख अतिथि, विशिष्ट अतिथि, वरिष्ठ अतिथि, र अन्य अतिथिहरूको पगरी गुताएर, ‘ब्याज’, माला र खादा पहिर्याएर औपचारिकता दिने गरिएको पाइन्छ । अनौपचारिक तरिकाले चलाउँदा बढी फलदायी हुने खालका कार्यक्रमलाई पनि धेरै औपचारिकता दिँदा स्थानीय सहभागिता निरुत्साहित हुन पुग्छ । यसले औपचारिकताको संस्कृति निर्माणमा टेवा पुर्याइरहेको हुन्छ ।

स्तुतिगान र चाकडी: लामो सम्बोधन नगर्न अनुरोध गर्दागर्दै प्राय:जसो वक्ताहरू मञ्चमा रहेका अतिथिहरूलाई एकएक गरेर सम्बोधन मात्र गर्दैनन्, कतिपयले तिनीहरूको स्तुति गाउँदै चाकडी पनि गर्दछन् । आयोजक र उद्घोषकदेखि वक्तासम्म ‘ठूलामान्छे’ लाई खुशी पार्न तल्लीन देखिन्छन् । यसले भाषण कहिले सकिएला भनेर कुरिरहेका श्रोताहरूको धैर्यलाई चुनौती मात्र दिएको हुदैन, साना नानीहरूमा अरूप्रति स्वाभाविक आदार भन्दा पनि अस्वभाविक स्तुति गरी खुसी पार्नु पर्ने रहेछ भन्ने भान पनि पारिरहेको हुन्छ । यसबाट अगाडि हुँदा एउटा, पछाडि हुँदा अर्को व्यवहार गर्ने प्रवृत्तिले प्रश्रय पाउँछ ।

सस्तो सम्मान: कार्यक्रम अवधिभर ‘आसनग्रहणको क्रम जारी राखेर’ कतिपय ठाउँमा मञ्चमा बसाइने भलाद्मीको सङ्ख्या श्रोताको भन्दा बढी  बनाइन्छ । अनि कति ठाउँमा त श्रोताभन्दा वक्ता बढी हुन्छन् र कलिला विद्यार्थी एवम् केही निमुखा मानिसहरू (प्राय वृद्ध तथा महिलाहरू) मात्र श्रोता दीर्घामा रहने स्थिति पनि पैदा हुन्छ । त्यसै गरी प्राय: कार्यक्रमहरूमा कसै न कसैलाई खादा वा दोसल्ला ओढाएर सम्मान गर्ने गरिन्छ । सम्मानका लागि योग्य हुन पूरा गर्नु पर्ने कुनै मापदण्ड नै हुदैन । कतै साना साना काममा पनि सम्मान गरेर ‘… लाई भन्दा देख्नेलाई लाज’ को परिस्थितिको सृजना गरिएको हुन्छ, यद्यपि त्यहाँ लाज भन्ने तत्वको बोध भएको हुँदैन । कार्यक्रमसँग साइनो होस् वा नहोस् कतै ठूलो पद ओगटेको मानिस आयो भने उसलाई सम्मान दिनै पर्ने जस्तो देखिन्छ । हुँदाहुँदा काम नगरेका, गलत चरित्र भएका मानिसहरूसमेत सम्मान खरिद गर्न वा हत्याउन सफल भएका पनि पाइन्छन् । यसले सानो काममा पनि सम्मान खोज्ने प्रवृत्तिलाई बढवा दिन्छ भने निस्वार्थ योगदान केवल सम्मान पाउनकै लागि मात्र गरिँदैन भन्ने  मान्यतालाई छायाँमा पारिदिन्छ ।

ठूलो मानिस सानो मानिस: स्वघोषित वा सदाबहार ‘ठूला मानिस’ जति सबैलाई मञ्चमा राख्ने त छँदैछ, तर कतिपय मानिसहरू प्रमुख वा विशिष्ट अतिथि हुन पाइन्छ कि पाइदैन् ? प्रमुख अतिथि हुने मान्छे पदीय हिसाबले आँफू भन्दा ठूलो-सानो कस्तो हो ? भन्ने खोजिनिती गरेर मात्र निमन्त्रणा स्वीकार गर्छन् । मञ्चमा बोलाउन, आथित्यता दर्शाउन, सम्मान दिन र विचार व्यक्त गर्न दिन केही सान्दर्भिकता, योगदान वा वस्तुगत सम्बन्ध आवश्यक हुनुपर्ने हो, तर हामी कहाँ त्यस्तो  केही  हुँदैन ।  मञ्चासीन ठूला मानिसहरूको सङ्ख्या हेर्दा जातीय र लैङ्गिक प्रतिनिधित्वको ठूलै असन्तुलन महसुस गर्न सकिन्छ । विना कारण मानिसहरूलाई फरक-फरक व्यवहार गर्दा बालबच्चाहरूमा ‘ठूला-साना’ हेरेर गरिने व्यवहारको सिको गर्ने र ‘हाइरार्की कन्सस’ हुने बानी बस्न सक्छ ।

हावादारी अर्तीउपदेश: प्रायजसो वक्ताहरू आफ्नो विद्धत्ताको प्रदर्शनमा केन्द्रित रहेको पाइन्छ । वस्तुनिष्ठ र सान्दर्भिक कुरा गर्नुभन्दा पनि लय र रुपमा केन्द्रित कति (राजनीतिक) वक्ताहरू चिच्याई चिच्याई आदर्श र उपदेशहरू ओकल्दै वाह् वाह् र ताली बटुल्न लालायित हुन्छन् । उनीहरूले बोलेका धेरैजसो कुराहरू असान्दर्भिक त हुन्छन् नै, आयोजकहरूले पनि बोलिएका उपयोगी कुराहरू भए अभिलेख गर्ने, रिपोर्ट बनाउने र कार्ययोजनामा ढाल्ने गरेको पाइदैन् । विचारहरू व्यवहारको लागि नभएर बोल्नका लागि मात्र राखिएको हुन्छ । त्यस कारण भाषणमा बोलिएका कुराहरू प्राय: हावामा विलाइरहेका हुन्छन् ।

विशेषत सरकारी वा सामुदायिक विद्यालयमा हुने वार्षिक कार्यक्रमहरूमा स्थानीय क्षेत्र भरिका विद्यालयका प्रधानध्यापकहरूलाई बोलाएर पर्म लगाउने चलनै बसेको पाइन्छ । धेरैलाई मञ्चमा बोलाउनु, भाषण गर्न दिनु र सम्मान गर्नु आयोजकको रहर मात्र नभएर ब्यवहारिक बाध्यता पनि बनेको अवस्था छ । संस्कार यस्तो बनिसकेको छ कि यसलाई तोड्नु जोखिमपूर्ण पनि हुनसक्छ । रिसाउलान् र भोलि सहयोग नपाइएला भन्ने डर एकातिर रहन्छ भने, आफूलाई पनि मान नगर्लान भन्ने डर अर्कोतिर । खुसी पार्न सक्दा स्रोत झार्न सकिने ‘टप-डाउन’ व्यवस्थामा जान्नेको लागि यो एउटा ‘इन्स्ट्रुमेन्ट’ पनि साबित भएको छ । स्थानीय ठूलाबडा र बाहिरबाट लाख कोशिश गरेर ल्याइएका अथिति गण तथा विद्यालयलाई माया गर्ने शुभचिन्तक पाहुनाहरूलाई चित्त दुखाउने कुरा पनि भएन । मान देखाउने उचित स्थान दिएर हो । भाषण गर्न नदिए त्यो मान गरेको ठहरिदैन । अनि समावेशी विचारलाई लत्याउने दुस्साहस गर्नै भएन । राजनीति पार्टीका नेताहरूलाई स्थान नदिए पनि हैरान, दिए पनि हैरान । गुनासै गुनासो ।

परिवर्तन जरुरी

कतै रहर र कतै बाध्यताको रुपमा मौलाइरहेको भाषणबाजी प्रवृत्ति र यसबाट समाज र राष्ट्रिय विकासमा परेको प्रभावको बारेमा लेखाजोखा गर्ने गरिएको पाइँदैन । यस्तो व्यवहारलाई विद्यालयका कार्यक्रममा आयात गर्दा पुनरुत्पादन हुन जान्छ भन्ने कुरामा पनि सचेतता देखिदैन । राष्ट्रको द्रुततर उन्नतिका लागि उत्पादनमुखी र नैतिकवान जनशक्ति तयार हुन जरुरी हुन्छ त भनिन्छ तर त्यसको बाधक आफैँ भइरहेको कुराप्रति होश गरिन्न ।

अहिले ५, ६ घण्टा वा सोभन्दा बढी चलाइने विद्यालयका बार्षिक कार्यक्रमहरू दुई तीन घण्टामा प्रभावकारी तरिकाले सजिलै सम्पन्न गर्न सकिन्छन् । यसो गर्नका लागि यी कार्यक्रमहरू विद्यार्थी र अभिभावकमुखी बनाउनु आवश्यक हुन्छ । प्रधानध्यापकको प्रतिवेदन प्रस्तुति, व्यवस्थापन समितिको प्रतिवेदन प्रस्तुति, विशेष टिप्पणी, सूचना र वक्तव्यको लागि बोलाइएका एक विशेषज्ञ वक्ता (मुख्य अतिथि) बाहेक अरूलाई मञ्चमा बोलाउनु, अनावश्यक सम्बोधन गर्न र भाषण गर्न दिनु जरुरी छैन ।

स्थानीय क्षेत्रभरिका विद्यालयका प्रधानध्यापकहरूलाई निमन्त्रणा दिएर सबै विद्यालयको पढाई र प्रशासनमा हानी पुर्याउनु उचित हुँदैन । उनीहरुले आपसी आदनप्रदान र राम्रो कुराको सिको गर्ने थलो स्रोत केन्द्रस्तरीय बैठकलाई बनाउनु पर्छ । सरकारले पनि आफ्ना कर्मचारीलाई भाषण कै लागि ‘हाकिम’ बनेर काम छाडी हिडन नपाइने नीतिगत व्यवस्था गर्दै विद्यालयमा भाषणबाजीलाई निरुत्साहित गर्ने व्यवस्था लागू गर्नु आवश्यक देखिन्छ । डेढ दशकदेखि निवार्चित प्रतिनिधी नभएका स्थानीय (जिल्ला, नगर, गाउँ) निकायका कर्मचारीलाई जननिवार्चित पदाधिकारीको हैन राष्ट्रसेवक कर्मचारीको रुपमा भूमिका खेल्न सुझाउनु जरुरी छ । भाषण, खादा, मानसम्मानलाई नै जनसेवा गरेको भनी (पत्रपत्रिका, सामाजिक ‘मिडिया’मा) प्रचार गर्ने बानी परेका सरकारी कर्मचारीहरू भोलि निवार्चित व्यवस्थामा कसरी काममा फर्कन सक्लान् ? चिन्ताको विषय बनेको छ । जनताको करबाट पारिश्रमिक लिएर उनै माथि हाकिमी लाद्नुलाई जनसेवा भन्न सकिन्न ।

समयलाई सही ढङ्गले पालन गर्न पैसा चाहिन्न । यसलाई सम्मान गर्ने बानी बसाउन सकिन्छ । समयको उचित पालनले वर्तमानको मात्र हैन भविष्यको पनि उत्पादकत्व बढाउन सकिन्छ । भाषणका कार्यक्रमहरू छोटो हुने भएपछि मानिसहरूले अरू व्यक्तिगत वा संस्थागत  काम पनि गर्न भ्याउछन् जसको कारण कार्यक्रममा उपस्थिति तथा सहभागिता पनि बढी हुन जान्छ । बरू विचार विमर्श गरि कुनै निर्णय, निष्कर्ष निकाल्नु छ भने छुट्टै अनौपचारिक कार्यशालाको आयोजना गर्नु श्रेयस्कर हुन्छ । यसबाट विचार बाड्न लालयितहरूलाई मौका पनि मिल्छ र त्यसपछि बन्ने कार्ययोजना मार्फत उनीहरूलाई जिम्मेवारी पनि दिन सकिन्छ । विद्यार्थीको वाक् तथा व्यक्तित्व विकासको लागि अरू नै  प्रभावकारी उपायहरू गर्नु पर्दछ ।

सांकृतिक विनिर्माणको बाटो एकदम असहज हुन्छ तर  असम्भव हुँदैन । विसङ्गतिको क्रमभङ्गता हुँदा तिनको पुनरुत्पादन घट्न गई उत्पादनमुखी जनशक्ति र समाजको निमार्णमा केही मात्रामा टेवा पुग्न जाने विश्वास गर्न सकिन्छ । कमसेकम विद्यालयमा अनुत्पादित प्रवृत्तिलाई निरुत्साहित गर्न सके आयोजित कार्यक्रमहरू सही अर्थमा भब्य  र सभ्य  हुने थिए ।

 

(अक्सफोर्ड विश्वविद्यालयका रिसर्च फेलोलेखक, ‘जात, वर्ग र संस्कृतिविषयका शोधकर्ता हुन् । लेख शिक्षक पत्रिकाको १००औं  अंकमा समेत प्रकासित छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *