आइमाई

प्रतिमा के सी

 

हिंजो पनि थिए ती पहाडहरु

आज पनि ती उस्तै उस्तै लाग्छन

कैयौं पटक हिउंले ढाक्यो

पहिरोले घाउ लगायो

हावाहुरीले अस्तित्व मेटाउन खोज्यो

डढेलोले त झन निर्वस्त्र गरायो

अँहँ उस्ले हार खांदै खाएन

कहिल्यै झुक्दै झुकेनन् पहाडहरु

कहिल्यै सुकेनन पलाईरहे

घरैघरको मरुभूमि हुनबाट बचाईरहे

सदियौंदेखि उभिएका ती पहाडहरु जस्तै

आइमाईहरु दु:खका अग्ला पहाड हुन

तीनै पहाडहरु आइमाई हुन !

आमाको गर्भ भित्रभित्रै

भ्रुण हत्याको युद्ध जितेपछिकी

युद्ध सिपाही नै आइमाई हो

संकारको विश्वविद्यालय बावुबाट

सभ्यताकी जन्मदाता आमाबाट

सिकाइहरु सिकिंदै गएपछि

धर्म,संकार र इज्जतको

महंगा र गह्रुंगा गहना भिराई

एउटा लज्जाको घुम्टो ओढाएर

कुल, खान्दान र समाजको कुम्लो बोकाई

मारे पाप,पाले पुन्य भन्दै कन्यादान गरी

फेरी अर्को महायुद्ध लड्नको लागी

अग्नीमा चरु जस्तै होमीदिन्छन

जुन स्वीकार्नुको विकल्प छैन

अस्वीकारको प्रवाह नै छैन

तन,मन र मस्तिष्क बलत्कृत भैरहदा

निरीह सिपाही बनेर आफैसंग लडीरहन्छे

आइमाईको अस्त्रशस्त्र भनेकै प्रेम हो

प्रेम सबैभन्दा कमजोर हतियार हो

कमजोर हतियार हुनु कारण हो

बम,बारूद र बन्दुकको युद्ध लडेको भए

सायद आइमाईहरु रहने थिएनन

फेरी आइमाईहरु नभएको भए

आइमाईमाथि शासन गर्ने

हैकमबाद जन्मने थिएन

पितृसतात्मक शासन टिक्ने थिएन

जवसम्म आइमाईले गर्भधारण गरिरहन्छे

यो युद्ध निरन्तर चलिरहन्छ

युद्ध आइमाईका छोटा दु:ख हुन

अविरल युद्धका निशस्त्र सिपाही भएर

छोटा छोटा जिन्दगीको लडाईं लड्दै

समतामुलक समाजको कल्पना गर्ने

आइमाईहरु लामो युद्ध हुन !

सत्ययुगमा सतिदेवीले पनि

अग्निकुण्डमा हाम फालेकी थिइन

कलियुगमा योगमायाहरु जलसमाधि लिए

द्वापरयुगमा सीताको अग्नि परिक्षा

त्रेतायुगमा द्रौपदीको चीरहरण

कृष्णकी प्रेमीका राधाको त्याग

यी सबै नारीहरु हाम्रो आदर्शको कथा हुन

तथापि धर्मले आइमाईलाई कमजोर मानेको छैन

कमजोरहरुले आफुलाई बलियो बनाउन

धर्म र संकारको आड लिएका हुन

त्यसैको फलस्वरूप धृतराष्ट्र र गान्धारी जन्मिए

दुर्योधन र दुस्सासनहरु बढीरहेका छन

जन्मघर घर जस्तो सुरक्षित नभएपछि

आफ्नै मन पनि कहाँ सुरक्षित हुन्छ र !

आफैसंग,आफन्तसंग र परायसंग

लड्दा लड्दै आइमाई युद्धभुमी भएकी छ

युद्धमैदानमा अर्धपागल अर्धमुर्छित छ

आइमाई भन्नु नै एउटा सिंगो युग हो

युग भन्नु आइमाईको जिन्दगी हो

आइमाईहरु युद्धभुमी कुरुक्षेत्र हुन

सिंगो महाभारत नै आइमाई हुन !

सदियौंदेखि चुलो बालीरहेकी छ

मेलापात अफिसको कामकाज सकेर

आज पनि जुठोभांडो माझीरहेकी छ

आफ्नै तन र मनसंग अधिकार गुमाएका

विभेदपुर्ण समाजमा हुर्किएर समतामुलक

समाजको परिकल्पना गर्ने तिनै आइमाईहरु

संसारका सबैभन्दा सस्ता श्रमिकहरु हुन

तिनै सस्ता आइमाईहरुले फेरी एकपटक

एक्काइसौं शदिको समय बुलन्द पार्दै

फेरी अर्को एउटा युद्ध लड्नु पर्ने छ

हो अव त्यहीं एउटा

अन्तिम युद्ध बांकी छ

त्यो युद्ध जरुर लड्नुपर्छ

जुन युद्धपछि आइमाई जन्मिने छैनन

आइमाईहरुले गर्भधारण गर्ने छैनन

आइमाईले गर्भधारण नगरेपछि

शासकहरु जन्मिने छैनन अनि

हामीले शाशित हुनुपर्ने छैन

हो,

हामीले

अब लड्नु पर्ने

त्यहीं एउटा मात्र

अन्तिम युद्ध बांकी छ !

धन्यबाद

प्रतिमा के सी

रुपन्देही

हाल: बेलायत

Leave a Reply

Your e-mail address will not be published. Required fields are marked *