लण्डन कविता कन्सर्टका स्रस्टाहरु एक बिशेष समारोहका बीच सम्मानित भएका छन् । हिजो शनिबार भब्य रुपमा सम्पन्न क्षेत्री समाज युकेको बार्षिक भेटघाट कार्यक्रममा कवि तथा गजलकारहरु नृपेश उप्रेती, रमेश कायस्थ, फडिन्द्र भट्टराई, रेखा खरेल र कविता कन्सर्टका संयोजक रामशरण सिम्खडालाइ खादा र सम्मानपत्र सहित सम्मान गरिएको हो । कन्सर्टका मुख्य आकर्षणका रुपमा रहेका कबि नवराज पराजुली भने नेपालमै रहेकाले कार्यक्रममा उपस्थित हुन सकेनन ।

समाजका अध्यक्ष राजन कुमार क्षेत्रीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत दुर्गाबहादुर सुवेदी रहेका थिए ।
राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रमको समुद्घाटन राजदूत सुवेदी, संस्था संरक्षक ध्रुब केसी, अध्यक्ष राजन कुमार क्षेत्रीले संयुक्त रुपमा गरेका थिए ।
कार्यक्रममा नायिका तथा जान्वी फाउन्डेसनकी अध्यक्ष जान्वी बोहरा, एनआरएनका केन्द्रीय सदस्य रामशरण सिम्खडा, राजदूत सुवेदीलगायतले आफ्नो मन्तब्य राखेका थिए भने विभिन्न कलाकारले आफ्नो सांगितिक प्रस्तुती पनि दिएका थिए । कार्यक्रममा चर्चित गायक कुलेन्द्र बि क र भूमिका गिरिले आफ्नो चर्चित गीतहरु प्रस्तुत गर्दा सबैजना झुमेका थिए ।

कार्यक्रममा राजदूत सुवेदीसहित एनआरएन केन्द्रीय सदस्य सिम्खडा, एनआरएन उपाध्यक्ष कूल आचार्य, यती एसोसियसन युकेका अध्यक्ष ध्रुव केसी, गैरआवासीय नेपाली संघ यूकेका अध्यक्ष योग कुमार फगामी, जान्वी फाउन्डेसनकी अध्यक्ष जान्वी बोहरा, एनआरएन नेता कृष्ण तिमल्सिना लगायतका विभिन्न पेशा र क्षेत्रबाट प्रतिनिधित्व गर्ने व्यक्तित्वहरुको सहभागिता रहेको थियो । संस्थाका महासचिब कुमार केसीले संचालन गरेको सो कार्यक्रमको संयोजन क्षेत्री समाज युकेका उपाध्यक्ष प्रतिमा केसी ले गरेका थिए ।
सो कार्यक्रममा क्षेत्री समाज युकेका उपाध्यक्ष तथा कबि प्रतिमा केसीद्वारा लिखित कविता संग्रह ‘ पानीको बिद्रोह ‘ लोकार्पण गरिएको थियो भने विभिन्न विधामा योगदान गर्ने व्यक्तित्वहरु पनि सम्मानित भएका थिए।
स्मरण रहोस क्षेत्री समाज युकेले गत मार्च मा भएको लन्डन कविता कन्सर्ट २ बाट उठेको १८ लाख जान्वी फाउन्डेसन को अगुवाइमा सिन्धुपाल्चोकस्थित कालिका मा बि मा निर्माण हुदै गरेको बिधुतिय पुस्तकालयको लागि सहयोग गरेको छ ।




