मनोज र रेडियोको इतिहास

शिव गौतम
भरतपुर, फागुन १ ।
२०५८ सालको शरद ऋतु, स्वच्छ आकाशमा खेल्दै पंक्षीहरूले मीठो गाना गाउँदै थिए । कार्तिक २६ गते बिहान चितवनको सञ्चार क्षेत्रको इतिहासमा नयाँ पंक्ति थपिदै थियो । सूचना तथा समाचारका लागि राजधानीको रेडियो नेपाल सुन्नुको विकल्पको सुरुवात नजिकै थियो । चितवनको पहिलो एफएम स्टेशन सिनर्जी एफएमले औपचारिक रूपमा प्रसारण सुरु ग¥यो । बिहान करिब ७ः१५ बजेतिर रेडियोमा सुनिएको एउटा आवाजले सम्पूर्ण श्रोताहरूलाई सम्बोधन ग¥यो, “नमस्कार चितवनको आवाज सिनर्जी एफएम ९१ दशमलब ६ मेघाहर्जको कार्यक्रम ‘आजको दिन’मा मेरा सम्पूर्ण श्रोताहरूमा हार्दिक स्वागत छ, म मनोज घिमिरेको ।” उनै मनोज चितवन जिल्लाकै पहिलो रेडियो कार्यक्रम प्रस्तोता अर्थात् ‘आरजे’को रूपमा उदाए, जसले आगामी दिनमा थप उचाई चुम्ने वाला थिए । आउने पुस्ताले उनकै औंला समाएर रेडियोको कखरा सिक्नेछन् भन्ने कुरा उनले सायदै कल्पना गरेका थिए होलान् । अहिले पनि प्रोग्राम म्यानेजरका रूपमा सिनर्जी एफएमसँगै आबद्ध रहेका उनले हालसम्म करिब ३ हजार ५ सय घण्टा अन एयर कार्यक्रम प्रस्तुत गरिसकेका छन् ।

सिनर्जी एफएम स्थापना हुँदा ताका जिल्लामा कार्यक्रम प्रस्तोता थिएनन् । रेडियोले आफ्नो प्रसारण सुरु गर्नुपूर्व इच्छुक व्यक्तिहरूसँग आवेदन माग गरी तालिम दिएको थियो । “रेडियोमा बोल्ने मान्छेलाई सेलिब्रिटी जस्तै ठानिन्थ्यो । त्यसैले हजारौंले आवेदन दिएका थिए”, मनोजले सम्झिए । उत्सुक र लगनशील स्वभावका मनोजलाई तालिममा रेडियो कार्यक्रम सञ्चालन सम्बन्धी ज्ञान सिक्न खासै समय लागेन । उनले हजारौंलाई पछि पार्दै सिनर्जी एफएमको पहिलो आरजे बनेरै छाडे । त्यसपछि उनले बिस्तारै कल्पना नै नगरेको उचाई छुन दौडिए ।

एक घर, दुई घर हुँदै बिस्तारै मनोजको आवाजलाई सबैले चिन्दै गए । यसले उसलाई थप ऊर्जा थपिरह्यो । कार्यक्रम प्रस्तुत गर्नुअघि पर्याप्त अध्ययन गर्ने बानी भएका उनले सफलताको उकालो बाटो चढ्दै गर्दा कहिल्यै थकानको महसूस गरेनन् । “सबैले चिन्न थालेपछि बाँकी जीवन रेडियोलाई सुम्पने निर्णय गरेँ । अरुको बारेमा भन्न सक्दिनँ, तर मैले रेडियोमा नै आफ्नो भविष्य सुनिश्चित गर्छ भनी लागिपरेँ”, उनले भने । प्रायः जसो रेडियो बाहिर भेटिने श्रोताहरूले प्रकट गर्ने गरेको मायाले पनि मनोजलाई रेडियोसँगै जोडिएर रहन सहयोग ग¥यो । फोन इन कार्यक्रमहरूमा उनीसँग बोल्नका लागि टेलिफोन गर्ने श्रोताहरूको संख्याको त लेखाजोखा नै थिएन । एक घण्टको कार्यक्रममा कति जना कलरको फोन लिने, कति बेला विज्ञापन बजाउने भन्ने कुराको निक्र्योल गर्न उनलाई हम्मेहम्मे नै पर्ने गरेको थियो । कन्ट्रोल रुममा टेक्निसियनले एउट फोन काट्न नपाउँदै अर्को कलरको घण्टी बजिसकेको हुने उनले सुनाए । त्यस्तै विभिन्न कार्यक्रममा वाचन गर्न भनी पठाइएका चिठ्ठीपत्रको त झन् खात नै हुने गरेको उनी बताउँछन् । चिठ्ठी राख्नका लागि भनेर हरेक कर्मचारीका लागि छुट्टै लेटरबक्स राखिएका हुन्थे । कतिपय कर्मचारी र आरजेका लागि पत्र खासै आउँदैनथे । ती खालि भएर रहेका लेटरबक्समा उनले आफ्ना लागि आएका चिठ्ठी राख्ने गर्थे । “एक पटक त राख्नलाई ठाउँ नपुगेर पत्रहरू छुट्टै बोरामा भेला गरेको थिएँ”, उनले हाँस्दै भने । कतिपय चिठ्ठी रगतले समेत लेखिएका हुने उनी सम्झन्छन् । कतिपय चिठ्ठीमा भने आफ्नो सन्देश वाचन गरिदिन आग्रह गर्दै पैसा समेत पठाइएका हुन्थे । “श्रोताहरूले पठाएका दश, पचास, सय, आदि रुपैयाँका नोट अहिले पनि एल्बममा सुरक्षित नै राखेको छु”, मन्ध मुस्कान छाड्दै उनले भने ।

स्पष्ट बोली र मीठासपूर्ण स्वर भएका मनोजले अन एयरबाट सयभन्दा बढी प्रकृतिका कार्यक्रमहरू प्रस्तुत गरिसकेका छन् । सुरुवाती दिनमा रेडियोमा बोल्ने ज्योतिष गुरुहरूको अभाव हुँदा उनले राशिफल समेत प्रस्तुत गर्ने गरेका थिए । ज्योतिष गुरुहरूसँग समन्वय गरी आजको दिन नामक कार्यक्रम आफूले नै तयार पार्ने गरेको उनले सुनाए । उनैले प्रस्तुत गर्ने ट्राभल डायरी, साप्ताहिक भेट, कथा यो मेरो मुटुको, लगायतका कार्यक्रम सर्वाधिक सुनिने कार्यक्रम अन्तर्गत पर्दछन् । ट्राभल डायरी कार्यक्रममा देश वा विदेशको कुनै ठाउँ घुमेर फर्किएका एक अतिथिलाई स्टुडियोमा आमन्त्रण गरिन्थ्यो । कार्यक्रममा अथितिले घुमेर आएको ठाउँका बारेमा कुराकानी गरिन्थ्यो । कथा यो मेरो मुटु कार्यक्रममा भने श्रोताहरूले पठाएका कथाका बीचमा गीत राखेर वाचन गर्दथे । पछि पत्र आउने क्रम घट्दै गएपछि कार्यक्रमलाई केही समयका लागि स्थगित पनि गरियो । “कार्यक्रम प्रसारण रोकिँदा सबैले कार्यक्रमलाई फेरि निरन्तरता दिनुप¥यो भन्ने सुझाव दिएका थिए”, थोरै भावुक हुँदै उनले भने ।

मनोजलाई चिन्नेजान्ने र उनलाई भेट्न चाहनेको संख्या पनि बिस्तारै बढ्न थाल्यो । एक पटक केही हेटौंडाबाट भरतपुर फर्कदैँ गर्दा साथीहरूसँगै उनी लोथरमा खाना खान रोकिए । आफ्नो होटेलमा खाना खान आएको व्यक्ति रेडियोकर्मी मनोज घिमिरे हो भन्ने थाहा पाएपछि होटेल सञ्चालकले खानाको पैसा नै लिन नमानेको उनले सुनाए । उनका श्रोताहरूमा सर्वसाधारण मात्र नभई सुरक्षाका लागि खटिने प्रहरी र सुरक्षाकर्मी पनि थिए । देशमा संकटकाल लागू हुँदाको समयमा पनि सुरक्षाकर्मीबाट न्यानो साथ पाएको उनले सम्झन्छन् । कालान्तरमा सफल रेडियोकर्मीका रूपमा परिचय स्थापना गर्न सफल मनोजमा पक्षपात गर्ने स्वभाव पटक्कै छैन । त्यसकारण पनि हरेक विचार बोक्ने श्रोताका लागि मनोज उस्तै प्रिय थिए ।

रेडियोमा रमाइरहेका मनोजलाई अचानक विदेश जाने चाहना पलायो । “नाम कमाएको थिएँ, तर दाम पर्याप्त थिएन । लहैलहैमा अष्टे«लिया पुगियो”, उनले आफ्नो जीवनमा आएको नयाँ मोडलाई यसरी उल्लेख गरे । २०६५ साल तिर उनी आफ्ना अतृप्त चाहना बोकी अष्टे«लिया उडे । त्यहाँ उनले केही पैसा त कमाए, तर नेपालमा छँदाको पहिचान त्यहाँ भेटेनन् । केही वर्षको विदेश बसाइ पछि उनी फेरि नेपालै फर्किए । नेपाल फर्किएपछि पुनः रेडियोकर्मीहरूसँगै उनको उठबस हुन थाल्यो । सिनर्जीले आफूलाई लगाएको गुण सम्झिएर उनी २०६९ सालतिर फेरि एफएम फर्किए । आफ्नो पुनरागमन हुनुमा उनी सबैभन्दा बढी कृतज्ञ एफएमका स्थापनाकालीन स्टेशन म्यानेजर अमरदेव प्रधान र एफएमकै प्रबन्ध निर्देशक सहनलाल प्रधानलाई ठान्दछन् । “मैले अठोट गरेको छु, रेडियोकर्मी हुन्छु त सिनर्जीसँगै आबद्ध भएर रहन्छु, अरु ठाउँमा सर्दिनँ”, उनले भने ।

पछिल्ला दिन रेडियोको श्रोता कम भएको भन्नेमा उनी विश्वास गर्दैनन् । बाह्र वर्षमा खोला फर्किन्छ भनेझैं रेडियोको क्रेज फेरि पनि फर्कन सक्नेतर्फ उनी संकेत गर्छन् । “पहिले गीत र समाचारका लागि रेडियो सुन्नु बाहेक अरु विकल्प थिएन, अहिले प्रविधिले पूरै कोल्टे फेरेको छ”, उनी सुनाउँछन् । इन्टरनेट तथा अन्लाइनको उल्लेख्य प्रयोग गर्ने हो भने रेडियोलाई फेरि पनि माथि लैजान सकिने उनको बुझाइ छ । त्यस्तै, विगतमा जस्तो कामप्रति लगनशील र दृढ रहने रेडियोकर्मीको कमी भएकोप्रति भने उनको गुनासो छ । अचेलका युवा पिँढीले रेडियोलाई समय बिताउने ठाउँका रूपमा लिने गरेको उनको बुझाइ छ । छोटो समयसम्म रेडियोमा काम गरेर पछि अरु ठाउँमा पलायन हुने बानीले रेडियोलाई फाइदा नगर्ने उनी बताउँछन् । रेडियो अथवा पत्रकारितामा नै आफ्नो भविष्य खोजेर संघर्ष गर्ने युवाका लागि भने जताततै अवसर रहेको उनी बताउँछन् । “तपाईँले आफ्नो कामप्रति संकल्प राख्नुप¥यो नि, तपाईँमा खुबी छ भने मोफसलबाट राजधानी हुँदै अन्तर्राष्ट्रिय स्तरसम्म पनि पुग्न सक्नुहुन्छ”, उनले भने ।

Facebook Comments