सरसफाइको २००औँ श्रृङ्खला पूरा

भरतपुर । चितवन जिल्लालाई सरसफाइयुक्त जिल्ला बनाउने लक्ष्यअनुसार अभियान सुरू गरेको समूह वि आर युथ (वे ग्रुप) नेपालले सोमबार सरसफाइ अभियानको २००औँ श्रृङ्खला पूरा गरेको छ ।

‘हप्ताको एकदिन एकछिन समाजका लागि’ भन्ने मूल नारा लिएर २०७३ जेठ २४ गतेबाट थालेको अभियानले सोमबार भरतपुर अस्पतालवरिपरिको सडकमा सरसफाइ गरेसँगै २००औँ श्रृङ्खला पूरा गरेको हो ।

भरतपुर महानगरपालिका वडा नं–४ धर्मचोक, लंकू क्षेत्रका केही युवाको सक्रियतामा सुरू भएको अभियान हाल चितवन जिल्लामै परिचित छ । उक्त समूहले हरेक हप्ताको सोमबार बिहान एक घन्टा विभिन्न सार्वजनिक स्थलहरूमा स्वतःस्फूर्तरुपमा सरसफाइ गर्दै आइरहेको छ । सोमबार पनि भरतपुर अस्पतालवरिपरिका सडककिनारमा डस्टविन राखिएको छ ।

यस्तै, गेष्ट हाउस चौर क्षेत्रमा समेत डस्टविनसँगै पानीका बोतल राख्ने ‘बोतल विन’ राखिएको ग्रुपका अध्यक्ष भोजनारायण कँडेलले जानकारी दिए ।

हरेक हप्ता गर्ने सरसफाइ कार्यक्रममा जिल्ला ट्राफिक प्रहरीले नियमित सहयोग गर्दै आइरहेको छ । भरतपुर महानगरपालिकाबाट कहिलेकाहीँ सहयोग पाए पनि निरन्तरता नभएको अध्यक्ष कँडेलले बताए । युवाहरुको सहभागितामा नगरकै समृद्धिका लागि काम गर्दा सोचेजस्तो हौसला र सहयोग नपाएको उनको गुनासो छ ।

स्थानीय सरकारले सरसफाइसम्बन्धी जनचेतनामूलक कार्यक्रम आयोजना गरेर मानिसको चाप बढी हुने स्थानमा फोहोर व्यवस्थापनका लागि डस्टविन राख्ने र जथाभावी फोहोर गर्नेलाई पहिचान गरी कारबाही गर्ने वातावरणमात्रै सिर्जना गरिदिए पनि भरतपुर क्षेत्रलाई पूर्ण सरसफाइयुक्त नगर बनाउन सकिने उनले बताए ।

‘फोहोर व्यवस्थापनका लागि ठाउँठाउँमा डस्टविन राखिदिने र सोहीअनुसारको प्रचारप्रसार गर्ने हो भने वे ग्रुपले एकै ठाउँमा दोहो¥याई तेहे¥याई सरसफाइ गरिरहनुपर्ने थिएन’, उनले भने ।

Facebook Comments