सूर्तीजन्य पदार्थको नियन्त्रण अनुगमन:

 

 

आज भरतपुर महानगरपालिका कार्यालयले सुर्तीजन्य पदार्थ बिक्री वितरण तथा सेवन नियन्त्रणका लागि गरेको अनुगमनमा उल्लेख्य मात्रामा सूर्तिजन्य पदार्थ फेला परेको छ | फेला परेको सामान जफत गरी कानून अनुसार कारवाही तथा जरिवाना गरिएको छ | अनुगमन टोलीले भरतपुर -२ स्थित बालकुमारी कलेज, बालकुमारी कन्या विद्यालय तथा बालकुमारी उच्च माध्यमिक विद्यालय वरपरका पसलहरुमा निरीक्षण गरेको थियो | यो अनुगमन सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने ऐन, २०६८ को प्रावधानबमोजिम गरिएको हो |

टोलीले आज अनुगमन गरेका जम्मा ३५ वटा पसलमध्ये १३ पसलमा यस्ता सामग्री पाएको र चुरोट सेवन गर्दै गरेका दुई जना व्यक्तिलाईसमेत कारवाही गरेको छ | पसलहरुमा विभिन्न किसिमका सुर्तिजन्य पदार्थहरु (सूर्ती, गुट्खा, पान-मसला र चुरोट) बिक्रीका लागि राखिएका थिए | शिक्षण संस्थाको परिसरबाट १०० मिटरको दूरीमा कुनै किसिमको सूर्तिजन्य पदार्थ बेचबिखन गर्न नपाउने कानूनी व्यवस्था उल्लङ्घन गरी यस्ता पदार्थ बिक्री भैरहेको थियो |

अनुगमन टोलीलाई स्थानीय समुदाय तथा व्यापारीहरुबाट सहयोग र सहजीकरण प्राप्त भएको तथा एक पान पसलमा अटेर गर्ने व्यापारीलाई नेपाल प्रहरीले सामान्य सहजीकरणको कार्य समेत गरेको छ |

भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थरहित बनाउने अभियानको हिस्साअन्तर्गत अनुगमनको कार्य तीव्र पारिएको हो | महानगरपालिका कार्यालयले विभिन्न सञ्चार माध्यमद्वारा सार्वजनिक स्थलहरुमा सुर्तिजन्य पदार्थ सेवन तथा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएकोबारे स्थानीय पत्रपत्रिका, रेडियो तथा सामाजिक संजालमा समेत पर्याप्त सूचना सम्प्रेषण गरिरहेको छ |

अनुगमन कार्य आगामी दिनहरुमा अझ सक्रिय हुनेछ | भरतपुर महानगरलाई सुर्तिजन्य पदार्थ निषेधित क्षेत्र बनाउने यस अभियानमा सम्पूर्ण महानगरवासीहरुले साथ दिने समेत विश्वास लिईएकोछ |

Facebook Comments