एक सङ्कल्प सफा नेपालका लागि

देशैभरिका टोलवासीहरुले आआफ्नो टोलमा प्रायः नियमित सरसफाइ अभियान चलाउँदै आएका छन् । विभिन्न सामाजिक संघसंस्थाहरुको संयोजनमा ठाउँठाउँमा दैनिकजसो सरसफाइ कार्यक्रमहरु चलेका छन् । स्थानीय निकायहरु पनि आफैँ सरसफाइमा जुटिरहेकै छन् । देशैभरि सामुदायिक प्रहरी, ट्राफिक प्रहरी, नेपाली सेनाहरु पनि अभियानमा जुटेर सरसफाइलाई प्राथमिकतामा राखेकै छन् । मिडिया÷सञ्चारकर्मीहरुले पनि वातावरण र सरसफाइको विषयलाई दैनिकजसो प्रकाशन र प्रसारण गरेर सबैलाई सुसूचित गराउँदै आएका छन् । अपवाद छोडेर देशका कुनै गल्लीहरु नहोलान्, एकपटक सफा गर्न छुटेका । यस अर्थमा पनि हाम्रो सुन्दर भूगोल भएको देश फोहोरमुक्त हुनुपर्ने हो । यस कुरामा सबै जानकारै छौँ पनि ।

राज्यको पहलमा बागमती सरसफाइको महाअभियान सुरू भयो । राज्य संयन्त्रको पूरै प्रयोग र सर्वसाधारण जनताको स्वतःस्फूर्त उपस्थितिले आजसम्म पनि महाअभियानले निरन्तरता पाएकै छ । बागमती सरसफाइलाई सहयोग पु¥याएको भन्दै कैयौँ संघसंस्था र व्यक्तिहरुलाई समय–समयमा सम्मानित गरेर हौसला प्रदान गर्ने कामहरु पनि भइरहेकै छन् । राजधानीकै विष्णुमती सरसफाइ अभियान पनि यसरी नै चल्दै आएको छ । ४ वर्षअघिदेखिको अभियान जारी नै छ र पछिल्ला समयमा यस प्रकारका अभियानहरु स्वतःस्फूर्तरुपमा राजधानीकै थप ठाउँहरुमा पनि चल्न थालेको सामाजिक सञ्जाल र प्रत्यक्षरुपमा पनि देख्न सकिन्छ ।

देशकै दोस्रो राजधानी भनेर चिनिने चितवन जिल्ला र विशेषगरी देशकै मध्य भाग भरतपुर महानगरपालिका जुन ठाउँ हुँदै दैनिक हजारौँ सवारीसाधनहरु देशका विभिन्न स्थानहरुमा आउने–जाने गर्छन्, यसकारण पनि मानिसहरुको चहलपहल अत्यधिक हुनेमा भरतपुर पनि पर्न जान्छ । काठमाडौँमा जस्तै यहाँ पनि कैयौँ संघसंस्थाहरु वर्षौंदेखि नियमित सरसफाइ अभियानमा जुटेका छन् । मोफसलमा पहिलोपटक नियमित सरसफाइ अभियानको श्रृङ्खला चलाउने वे ग्रुप नेपालले पनि भरतपुरबाटै आफ्नो अभियानको सुरूवात गरेको हो र ४ वर्षदेखि भरतपुरलाई नै केन्द्र मानेर सरसफाइ अभियान चलाउँदै आएको छ । तुलनात्मकरुपमा देशका अन्य ठाउँहरु भन्दा भरतपुर केही सफा नै देखिन्छ । यसैगरी हिमाल, पहाड, तराई, मधेस जहाँकहीँ सरसफाइ अभियान चलिरहेका छन् । धेरैजसो अभियानहरु स्वतःस्फूर्त चलेका छन् ।

स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने विषय सरसफाइ हो भन्ने जानेर पनि हामीमा फोहोरीपन नहट्नु विडम्बना नै बनेको छ । सरसफाइ अभियान चल्दै गर्दा घरको कौसीबाट हेर्दै यो पनि टिप्नू है भनेर कौसीबाटै फाल्ने चलन अझै छ । आफ्नो घरमा जम्मा भएको फोहोर अर्काको बारी र सार्वजनिक ठाउँमा लगेर अझै फाल्ने गरेको पाइन्छ । विशेषगरी रक्सीका बोतलहरु, प्याड, डाइपरलगायतका वस्तुहरु पोका पारिएर फालेको अवस्थामा अहिले बाटोघाटो, सडककिनारमा अत्यधिक देख्न सकिन्छ । मानव भएर मानव सभ्यताकै खिल्ली उडाउँदै आफ्ना सन्ततिहरुको भविष्य जोखिममा पु¥याउँदै छौँ भन्नेतर्फ धेरै कममात्रैको ध्यान पुगेको देखिन्छ । भएका नालाहरु पनि फोहोरले पुरिएका छन् । बग्नुपर्ने पानी नबगेर आफ्नै घरआँगन दुर्र्गिन्धत बनेर घरभित्रै नाक थुनेर बस्नुपर्ने अवस्थाको सिर्जना भएको बुझ्न सकेका छैनौँ । जबसम्म आफ्नो कर्तव्य भुलेर दोष अरुलाई थुपार्ने चलन हट्दैन तबसम्म समग्र निकास असम्भव छ ।

चीन, जापानले अंग्रेजी बोल्न जानेर, टाईसुट कसेर विकासको फड्को मारेका होइनन् । त्यहाँका जनताको कडा मेहनत र संघर्षले नै विकास सम्भव भएको हो, जुन अझै देख्न सकिन्छ । जुन पृथ्वीमा हामी अडिएका छौँ त्यसलाई पहिलो घर नमानेसम्म यो अवस्था आइनै रहन्छ ।

आफैँमा प्राकृतिक सौन्दर्यले भरिपूर्ण हाम्रो देशलाई प्राकृतिक सुन्दरता कायम राख्न आमनेपालीहरुको एक सङ्कल्प काफी छ, त्यो आफूबाट सिर्जित फोहोरको आफैँद्वारा व्यवस्थापन हो । राज्यले पनि फोहोरको उचित व्यवस्थापन गर्ने व्यवस्था मिलाइदिनुपर्छ । कोठे बैठक र ओठे भक्ति देखाएर केही अर्थ छैन । यात्राको क्रममा सवारीसाधनबाट फालिने फोहोर र धार्मिक आस्थाको आधारमा जानी नजानी नदीखोलाहरुमा गरिने फोहोरमात्रै रोकिने हो भने पनि हाम्रा सुन्दर वनजङ्गल, पाखापखेरा र हिमालहरु सफा रहन्छन् । सकारात्मक सोचले नयाँ ऊर्जा दिनुका साथै जिम्मेवारीको बोध पनि गराउँछ । त्यसैले, जिम्मेवार नेपाली बनी आफ्नो फोहोरको आफैँ व्यवस्थापन गर्ने सङ्कल्प गरौँ । रोगको कारक फोहोर हो र फोहोर सौंन्दर्यको दुश्मन हो भन्ने बुझौँ र बुझाऔँ ।

यसरी स्वतःस्फूर्त सरसफाइ अभियानहरु चल्दै गर्दा र फोहोर रोगको कारक हो भन्ने सबैले बुझ्दाबुझ्दै पनि जथाभावी फोहोर गरेर किन हामी रोगलाई निम्त्याइरहेका छौँ ! प्राकृतिक सौन्दर्यता पनि बिगार्दै छौँ । त्यसैले, मेरो फोहोर मेरो दायित्व भनी सबैले आजैबाट सङ्कल्प गर्नु जरूरी छ । सरसफाइ सबैका लागि, सरसफाइ स्वास्थ्यका लागि !

bhojkandel11@gmail.com

Facebook Comments