यसरी हुँदै छ प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपण

डा नारायण भुसाल

मिर्गौला प्रत्यारोपण गर्न सामान्यतयाः डेढदेखि दुई घन्टा समय लाग्छ। तर, बिरामीको अवस्था हेरी योभन्दा बढी समय पनि लाग्न सक्छ।

शल्यक्रिया गर्नुअघि मिर्गाैला दिने र लिने र दुवैलाई ६ देखि ८ घन्टा खाली पेट राखिएको हुन्छ। तर नशाबाट स्लाइन दिइरहेको हुन्छ।

मिर्गौला लिने र दिने व्यक्तिलाई एकै पटक अप्रेसन कक्षमा लगिन्छ। सुरुमा मिर्गौला लिने व्यक्तिलाई ढाडबाट दुखाइ कम गर्ने औषधि दिइन्छ। जसलाई इपिड्युरल एनेस्थेसिया भनिन्छ। यो औषधिले बिरामीलाई शल्यक्रिया गर्दा र पछि दुखाइ कम गर्न मद्दत गर्छ। साथै अर्को एउटा औषधि पनि दिइएको हुन्छ।

शल्यक्रिया बेहोस पारेर वा नपारी दुवै तरिकाले गर्न सकिन्छ। तर धेरैजसो शल्यक्रिया बेहोस पारेर नै गरिन्छ। त्यसले चिकित्सक र बिरामी दुवैलाई बढी सजिलो हुन्छ।

मिर्गौला दिने र लिने व्यक्तिका लागि दुई वटा चिकित्सकीय टिम तयार भएको हुन्छ। एउटा टिमले लिने व्यक्ति र अर्को टिमले दिने व्यक्तिसँग काम गरिरहेको हुन्छ।

लिने व्यक्तिलाई तयार पारेपछि अर्को टिमले दिने व्यक्तिको मिर्गौला निकाल्ने काम गर्छ।

मिर्गौला दुई तरिकाबाट झिकिन्छ। एउटा घाउ बनाएर र अर्को घाउ नबनाई ल्याप्रोकोपीको दूरविनको माध्यमबाट मिर्गौला झिकिन्छ।

धेरैजसो घाउ नबनाई मिर्गौला निकाल्ने गरिन्छ। याद गर्नुपर्ने कुरा के हो भने धेरैजसो मिर्गौला देब्रेपट्टिको झिकिन्छ। देब्रेपट्टिको भेन (नशा) लामो हुने भएकाले जोड्न सजिलो हुन्छ। तर दायाँपट्टिको झिक्नै नमिल्ने भने होइन।

एकातिर मिर्गौला झिक्ने काम हुन्छ भने अर्कोतिर चिकित्सकीय टिमले मिर्गौला प्रत्यारोपण गर्ने व्यक्तिको शरीरमा ठाउँ बनाइरहेको हुन्छ। यो ठाउँ तयार पार्ने कामलाई चिकित्सकीय भाषामा बेड प्रिपियर भनिन्छ।

मिर्गौला झिकिसकेपछि त्यसलाई सफा गर्नुपर्छ। झिक्ने बित्तिकै तुरुन्तै लगेर अर्को बिरामीको शरीरमा टाँस्ने होइन।

 

झिकेको मिर्गौलालाई स्लाइनले आइसमा डुबाउँदै सफा गरिन्छ। त्यसपछि चिसोमा राखिन्छ। मिर्गौलामा भएको रगत, फ्याटहरु सफा गर्नुपर्ने हुन्छ। त्यसपछि तुरुन्तै लिने व्यक्तिमा लगेर टाँसिन्छ।

डा नारायण भुसाल​​​​​​

अहिले प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गराइरहनु भएको छ। प्रधानमन्त्री ओलीको शरीरमा अहिले तीन वटा मिर्गौला छन्। दुई वटा आफ्नै मिर्गौला र अर्को १२ वर्षअघि प्रत्यारोपण गरिएको मिर्गौला।

बुझ्नुपर्ने कुरा के हो भने, प्रत्यारोपण गर्दा शरीरमा भएको मिर्गौला झिकेर फालिँदैन। नाइटोमुनि शरीरको भित्री भागको दायाँ या बायाँ लगेर जोड्ने हो।

प्रधानमन्त्रीको पहिले नै दायाँ भागमा नाइटोमुनि तेस्रो मिर्गौला भएकोले अब बायाँपट्टि नाइटोमुनि चौथो मिर्गौला राखिने छ।

मिर्गौला टाँसिसकेपछि नशा जोड्ने काम हुन्छ। मिर्गौला प्रत्यारोपणको सबैभन्दा चुनौतीपूर्ण काम रगतका नशा र पिसाब नली जोड्ने हो। नयाँ मिर्गौलाको रक्तनलीहरु बिरामीको पेटको तल्लो भागमा रगत नली जोडिएको हुन्छ। बिरामीको पिसाब नली र नयाँ मिर्गौलाको पिसाब नली जोड्ने बित्तिकै बिरामीले पिसाब फेर्न थालिहाल्छ।

त्यसका लागि ३० देखि ४५ मिनेट समय लाग्छ। त्यसपछि बन्द गर्ने र सफा गर्ने काम गरिन्छ।

मिर्गौला प्रत्यारोपण गरेको बिरामीले सुरुमा धेरै पिसाब फेर्छ। प्रत्यारोपण गरेको दिनभरिमा ८ लिटरसम्म पिसाब फेर्न सक्छ।

त्यसपछि बिरामीलाई विभिन्न नदुख्ने र अन्य एन्टिबायोटिक औषधि दिइन्छ। शल्यक्रिया गरेको ६ घन्टापछि बिरामीलाई केही पानी र अन्य झोल खानेकुरा दिइन्छ।

यो बीचमा बिरामीको रगतको जाँच भइरहेको हुन्छ। भोलिपल्ट बिरामीलाई सामान्य हिँडडुल गर्न, खान दिइन्छ। शल्यक्रिया गरेको ५ देखि ७ दिनमा बिरामीलाई डिस्चार्ज गर्न सकिन्छ।

मिर्गौला दिने व्यक्तिलाई ३ दिनसम्म अस्पतालमा राखिन्छ। त्यसपछि उसलाई डिस्चार्ज दिन मिल्छ।

अहिले मिर्गौला प्रत्यारोपण गराइरहनु भएका प्रधानमन्त्री केपी शर्मा ओलीको  हकमा पनि यही प्रक्रिया लागू हुन्छ।

नोट : किस्ट मेडिकल कलेजका युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा भुसाल प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा प्रत्यक्ष संलग्न छैनन्। मिर्गौला प्रत्यारोपण प्रक्रियाका विषयमा डा भुसालसँग स्वास्थ्यखबरका लागि कल्पना पौडेलले गरेको कुराकानीमा आधारित।)

Facebook Comments