गोरखामा पनि पाइन छाड्यो माक्स



 

गाेरखा । पछिल्लो समय देशमा कोरोना भाइरसको त्रास बढ्दो छ । चिनको वुहानबाट सुरु भएको कोरोना हाल विश्वका लागि चुनौती समेत बनेको छ ।

नेपालमा हालसम्म एक जनामा पनि कोरोना भाइरसमा संक्रमित नदेखिएपनि सरकारले पूर्वतयारीलाई ब्यापकता दिएको छ ।

विश्वभर कोरोना भाइसरको सक्रमण बढेसँगै जिल्लामा माक्स अभाव भएको छ ।

जिल्लाका अधिकाशं औषधी पसलमा स्टक रहेका माक्स सकिएपछि ग्राहकहरु रित्तो हात फर्कन बाध्य भएका छन् । ‘जताततै कोराना भाइरसको हल्ला छ ।

भिडभाड हिड्दा माक्स लगाउनु पर्छ भनेर किन्न गएको कतै पाइएन’ काठमाण्डौ जान बस चढ्न लागेका कृष्ण थापाले भने ‘यहाँ त नपाइएको काठमाण्डौ झनै के पाइएला ।’

गोरखाका अधिकाशं औषधी पसलमा माक्स खरिद गर्ने उदेश्यले पुग्नेको संख्या उच्च छ । ‘हामीसँग केही वट्टा स्टक थियो । होलसेलमा कसैलाई दिएनौं, एक/एक वटा बेच्दा पनि हिजो सकियो’ ढकाल मेडिकलकी सञ्चालक गोमाकुमारी भट्टराईले भनिन्, ‘अब आफूले लगाउने पनि बाँकी छैन ।’

माक्स किन्नका लागि देश बिदेशबाट फोन आउने गरेको औषधी व्यवसायी संघका अध्यक्ष समेत रहेका संगम मेडिहेल्थ क्लीनिकका सञ्चालक संगमबाबु श्रेष्ठले बताए । ‘माक्स छ भनेर सोध्न पसलमै दैनिक सय भन्दा बढि ग्राहक आउनु ’ उनले भने ‘हुँदा हुँदै अहिले त विदेशबाट फोन आएर हैरान छ ।

जापान, कोरिया, अमेरिका, अस्ट्रेलियाबाट समेत साथीहरुले फोन गरेर मगाउनु भएको छ । तर यहीं बेच्ने माक्स छैन उता कसरी पठाउनु ?’ बिदेशमा रहेका आफन्तलाई पठाउन पनि कतिपयले माक्सको खोजी गरेको भेटिन्छ ।

कोरोना भाइरसले संसार भर आंतक सिर्जना गरेपछि अहिले माक्सको चरम अभाव भएको छ । जिल्लाका स्वास्थ्य संस्थाहरुमा पनि माक्स छैन । जिल्ला अस्पताल गोरखाका स्वास्थ्यकर्मीहरु माक्स बिनै उपचारमा खटिनु पर्ने बाध्यता रहेको सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिए ।

‘हस्पिटलमा पनि माक्स छैन्, हामी खाली मुख बिरामीको उपचार गरिरहेका छौं’ उनले भने ‘काम गर्न निकै ग्राहो भएको छ ।’

यस अघि गोरखाको सानो बजारमा माक्सको माग धेरै थिएन । कच्ची सडकमा यात्रा गर्ने केही सर्वसाधरणले माक्स खरिद गर्नेगर्थे ।

  • अहिले कोराना भाइरसको सक्रमणको चर्चा बढेसँगै माक्स किन्ने र प्रयोग गर्ने बढेका छन्
Facebook Comments