नारीलाई हेर्ने ढोंगी नजर

 

अञ्जु केसी पोखरा

मार्च ८ मा विश्वभर अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदै छ । महिलाका अधिकार, अवस्था, महिला आन्दोलन र सशक्तीकरणका लागि चालिनुपर्ने कदमबारे बहस, छलफल गरी यो दिवस मनाइन्छ । तर यसपालिको यो दिवस विश्वभर फैलिँदै गएको कोरोना संक्रमणको छायाँमा परेको छ । १ लाखभन्दा बढी संक्रमित र ३ हजारभन्दा बढी मानिसको ज्यान लिइसकेको कोरोनाको आतंक र कहरले विश्वभरका मानिसलाई त्रसित बनाएको छ । सावधानीका उपाय र उपचारका प्रबन्धमा ध्यान दिइए पनि पूर्ण नियन्त्रण कहिले हुन्छ भन्ने केही संकेतै देखिएका छैनन् ।

अन्तर्राष्ट्रिय महिला दिवस विश्वभर नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा मनाइन्छ । १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकार माग्दै महिलाले हड्ताल र विशाल जुलुस निकाले । पुरुषसरह हक, अधिकार माग्दै महिलाले थालेको प्रारम्भिक आन्दोलनको स्मरण गर्दै यो दिनमा विश्वभरका महिला अधिकार प्राप्तिको संघर्षमा लाग्ने प्रण गर्छन् । यो दिवस मनाउन थालेको १ शताब्दीभन्दा धेरै भए पनि मूलधारका सञ्चारमाध्यमले यसलाई उपयुक्त स्थान नदिएको गुनासो अझै छँदै छ । कतिपय महिलालाई नै यो दिवसको बारेमा जानकारी छैन ।

आजको अवस्थासम्म आइपुग्नका महिलाले ठूलो संघर्ष गर्नुपरेको छ । स्थान, देश अनुसार फरक भए पनि विश्वभर नै महिलाले अनेक प्रकारका संघर्ष गरेका छन् । हरेक परिवर्तन र विकासका सहयात्री महिलालाई लैंगिकताका आधारमा विभेद गरिनु अमानवीयमात्र होेइन, मानव विकासको क्रमलाई पनि पछाडि धकेल्नु हो । तर मात्रा फरक भए पनि महिलामाथिको विभेद पनि विश्वभर नै कायम छ ।

नेपालमा अधिकार माग्दै आत्मदाह गर्ने योगमायाकै समयदेखि महिलाका अधिकारबारे मानिसमा चेतना सुरु भएको देखिन्छ । २००४ सालमा मंगलादेवी सिंह मताधिकारका लागि तत्कालीन प्रधानमन्त्री पद्मशमशेरकहाँ डेलिकेसन गएकी थिइन् । उनीपछि नेतृ सहाना प्रधान, दिव्यादेवी कोइरालाको पनि महिला आन्दोलनलाई माथि उठाउन उल्लेख्य भूमिका छ ।

नेपालमा महिलाको अवस्था नेपालको विविधितापूर्ण समाजसँग केही फरक, फरक रुपमा देखा पर्छ । अवस्थामा विविधिता भए पनि समस्याका स्वरूप फरक रहे पनि उनीहरुका सरोकार र अपेक्षा भने समानै प्रकृतिका देखिन्छन् । कुनै जातिमा परिवारको मुली महिला रहने परम्परा अहिले पनि छ भने कतै कतै अझै बहुपति प्रथासमेत रहेको सुनिन्छ । जात, समाज, संस्कारका कारण मात्रा फरक भए पनि महिलामाथिको विभेद जन्मिनुअघिबाटै सुरु हुन्छ ।

अहिले नेपालमा पनि पारिवारिक, सामाजिक, आर्थिक र राजनीतिक क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्न थालिसकेका छन् । सबै क्षेत्रमा प्रभावशाली भूमिका, जिम्मेवारी, इमान्दारी देखाएर उत्कृष्ट कार्यक्षमता भए पनि जिम्मेवारी, पद, भूमिका दिने बेलामा महिलालाई पछाडि पारिएको छ । पछिल्लो संविधानले महिलालाई समृद्धिको मूल प्रवाहमा ल्याउन आरक्षणको व्यवस्था गरेको छ । आरक्षणले केही महिला महत्वपूर्ण पदमा त पुगेका छन्, तर समाजका अग्रणी संघ, संस्था, क्लबदेखि राजनीतिक पार्टीका महात्वपूर्ण जिम्मेवारीमा को को छन्, हेरे यथार्थ अगाडि आइहाल्छ ।

महिला पुरुषका आमा हुन्, हजुरआमा हुन्, दिदीबहिनी, छोरी, श्रीमती हुन् भने उनीहरु अघि बढ्दा पुरुषलाई के बेफाइदा हुन्छ ?

प्रमुख र उपप्रमुखमध्ये १ महिला हुनुपर्ने भनी संविधानले व्यवस्था गरेका करिब ९० प्रतिशतमा महिला उपप्रमुख वा सहायक पदमा छन् । महिलालाई मुख्य जिम्मेवारी किन दिइँदैन ? प्रश्न यही छ । सार्वजनिक मञ्चमा महिला अधिकारको वकालत गर्नेहरु, महिला समानताको पक्षपाती भएको दाबी गर्नेहरु पनि महिलालाई यथोचित भूमिका दिन चाहदैनन् । अहिले नेपाली समाजमा ढोंगी मानसिकता विकास भएको छ । महिलाले केही उल्लेखनीय काम गर्न खोजे उसको चरित्रमाथि अनेक टिप्पणी गर्ने, उसलाई निरुत्साहित गर्ने गरिन्छ । महिलालाई दासको नजरले हेर्ने मानसिकता रहेसम्म नेपाली समाजको रथ लड्खडाइरहन्छ ।

आखिर पुरुषलाई जन्मदिने पनि महिला नै हुन् । महिला पुरुषका आमा हुन्, हजुरआमा हुन्, दिदीबहिनी, छोरी, श्रीमती हुन् भने उनीहरु अघि बढ्दा पुरुषलाई के बेफाइदा हुन्छ ? पुरुषहरुको लामो आयु, सफलता र प्रगतिको कामना गर्दै व्रत बस्ने संस्कार छ नेपालमा । महिलाले हरेक क्षेत्रमा पुरुषसरह भूमिका निर्वाह गर्न सक्छन् । यो नेपाली समाजमै, नेपाली माटोमै प्रमाणित भइसकेको छ, यसका लागि विश्व इतिहाससम्म पुग्नै पर्दैन । अझै पनि गर्भपतन गराउनेको लाम घटेको छैन । छोरी भए भ्रूणमै हत्या गर्ने क्रम जारी छ । मजदुरीमा विभेद होस् कि निजी उद्योग, व्यवसायमा अवसर दोस्रो प्राथमिकता छन् ।

अहिले हामी कोरोनाको कहर पन्छाउँदै महिला दिवस मनाउने तरखरमा छौं । महिलालाई हेर्ने ढोंगी नजर परिवर्तन नभएसम्म महिला समानता यस्तै दिवसका नारामै सिमित हुन्छ । संविधान, कानुनले ग्यारेन्टी गरेका अधिकार र मानवोचित हक नारीले सजिलै पाउने अवस्था सिर्जना गर्न दिवसले सबैलाई प्रेरण देओस् । अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना !

Facebook Comments