मेरो खास अनि प्रिय खरानी

 

रचना: नारायण कँडेल

ओदान

मेरो खास अनि प्रिय खरानी
मेरो अस्तित्वबाहक मेरो सुख दुःखको साथी
तिमी भंछौ म छु र त तिमी छौ
हावालाई धुलो अनि पानीलाई हिलो
तर मेरो अति समिपको मित्र तिमी
तिम्रो सदाको अटल साथले म अझै छु
गाऊँ, बस्तीका छाप्रा ,झुप्रा अनि तिनका
आँगन ,चुलाहरूमा तिमीसाथ मैं त छु
तिन खुट्टा भएर पनि तिमीलाई छोडि जान्न
तिमी उड्दा,बग्दा अनि सोरिंदा पनि
तिमी आउने बाटो हेरि बस्छु

झिंगटा, सिंका,छेस्का,चिर्पट, थाँक्रा अनि लाठी,बिंड,स्याउला,पात,पराल,झुस,खर
विभिन्न जे रूपमा आए पनि मेरो एक्लोपन तिम्रो आगमनले एक्कासी गाएब हुँछ
कहिले तिम्रो पटपटि पडकाई अनि कहिले
मुश्ले धुवाँको बिचमा म आँफू हराइ रहंदा
तिम्रो उदय मेरो काखमा भएको पाऊँछु
कति गार्हो छ है मेरो साथ पाउन तिमीलाई
कति चोला फेर्नु पर्छ है म जस्तो कडा अनि
बेरुपी कालेको साथ पाउन
के गर्नु हामी संगसंगै जल्छौ तर म तिमी जस्तो
नरम हुन कहिल्यै सक्दिन, जति नै गरे पनि
न त तिमी जस्तो चोला फेर्न सक्छु
कहिले त लाग्छ तिमी संगै उँडु, बगुँ, हराउं
काश! म पनि खरानी बन्न सक्ने भए
मलाई पनि तिमी जस्तै फुर्र उडेर हराउन मन छ

 

 

Facebook Comments