पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘कुमाता’को विमोचन

 

नवलपुर । पत्रकार वसन्त पराजुलीद्वारा लिखित कथासङ्ग्रह ‘कुमाता’को सोमबार एक कार्यक्रम आयोजना गरी विमोचन गरिएको छ । नेपाल लघुकथा समाजका अध्यक्ष एवम् गोरखापत्र दैनिकका प्रधान सम्पादक श्रीओम श्रेष्ठ ‘रोदन’ र कथाकारकी आमा गोमा पराजुलीले सो कथासङ्ग्रहको संयुक्त रुपमा विमोचन गर्नुभयो ।

अक्षर समूहको आयोजनामा भएको कृति विमोचन कार्यक्रममा श्रेष्ठले सृजनामा विश्वास गर्ने मान्छे उमेरले कहिल्यै नमर्ने दावी गर्नुभयो । “क्षणिकले केही हुँदैन साहित्यमा बाँचुन्जेल साधना गर्न सक्नुपर्छ” उहाँले भन्नुभयो । उहाँले साहित्य समाजको हितका लागि हुनुपर्ने धारणा राख्दै साहित्य क्षेत्रमा देखिएका कमीकमजोरीलाई सुधारेर लैजानुपर्ने आवश्यकता औंल्याउनुभयो ।

कार्यक्रममा पुस्तकमाथि समीक्षा गर्दै प्राडा एकनारायण पौडेलले कुनै पनि सत्यताभित्र कल्पना जोडेर गरिने रचना पाठकका लागि रुचिकर हुने धारणा राख्नुभयो । कार्यक्रममा कथाकारहरु डा. हरिहर पौडेल, एलवी क्षेत्री, साहित्कार भूपिन लगायतले कथा सङ्ग्रहको विषयमा टीप्पणी गर्नुभएको थियो । कथासङ्ग्रह विमोचन कार्यक्रम अक्षर समूहका अध्यक्ष प्रभाकर पण्डितको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सामाजिक यथार्थवादी विषय वस्तुहरु समेटेर तयार पारिएको पराजुकीका कथासङ्ग्रहलाई भूँडीपुराण प्रकाशन प्रालिले बजारमा ल्याएको हो । ‘कुमाता’मा सङ्ग्रहित दस कथाहरु फरकफरक विषयवस्तुका छन् । कथाहरुले नेपाली समाजलाई जीवन्तरुपमा उतार्ने प्रयास गरिएको कथाकार वसन्त पराजुलीले बताउनुभयो ।

“कथामा समेटिएका विषयवस्तु हाम्रै छरछिमेक र समाजमा घटेका घटना जस्ता लाग्छन्, त्यसैले कुमाता कथासङ्ग्रहभित्रका कथाहरु हरेक व्यक्तिले आफ्नै समस्या हो कि भन्ने महसुस गर्छ”, पराजुलीले भन्नुभयो ।

गरिबी, बैदेशिक रोजगारी, प्रेम, विश्वास, यौन, धोका, जेल जस्ता सन्दर्भहरु कथाका वरिपरी रहेका छन् । यी कथाहरुले कतिपय समाजमा देखिएका र कतिपय नदेखिएका सत्यलाई पनि उजागर गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *