चोरी गर्ने ६ जना पक्राउ

 

चितवन, फागुन २८ । पुजारीको भेषमा घरघर गएर पूजा, स्वस्ति शान्तिलगायत कर्मकाण्ड गरिदिन्छु भनी चोरी गर्ने भारत मोतियारीका नेहाल तिवारीसहित ६ जनालाई चितवन प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्ने अन्यमा भारतकै पूर्वी चम्पारण बस्ने राजकुमार उपाध्याय, भारत अरेराज जिल्लाका विक्की भनिने सोनुकुमार पाण्डे, भारत मोतिहारीकै विपुल भन्ने ऋतिक रोशन, सोही ठाउंँकै विक्कीकुमार गुप्ता छन्। यस्तै गरगहना खरिद गर्ने वीरगन्जका व्यवसायी राजकुमार गुप्तालाई पनि प्रहरीले पक्राउ गरेको छ।

प्रहरीले उनीहरूहरूको साथबाट नगद र गरगहना गरी १४ लाख ८७ हजार ५ सय बराबरको धनमाल बरामद गरेको छ। बुधबार जिल्ला प्रहरी कार्यालय चितवनले यहांँ पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो।

पत्रकार सम्मेलनमा चितवन प्रहरी प्रमुख नान्तीराज गुरुङले उनीहरूलाई २४ गते नारायणगढबाट पक्राउ गरिएको बताए। उनका अनुसार भरतपुर महानगरपालिका २ मा रहेको मञ्जु खांँडको घरबाट फागुन २३ गते उक्त परिमाण बराबरको धनमाल चोरी भएको थियो।

उनीहरूलाई नारायणगढबाट फागुन २४ गते पक्राउ गरिएको थियो। चोरीका मुख्य योजनाकार तिवारी पुजारीको भेष गरी विभिन्न घरमा सस्तो र राम्रो तरीकाले पूजा, कर्मकाण्ड, स्वस्तिशान्ति गरिदिन्छु भन्दै घरमा रहेका धनमालको रेकी गर्ने गरेको र सोही जानकारीको आधारमा चोरी गर्ने समूह भाडामा लिई चोरी गराउने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

पुजारी तिवारीले उक्त समूह परिचालन गरी राति ८ बजे खांँडका परिवार खाना खान भान्सामा रहेको मौकामा चोरी गरेको गुरुङले बताए। चोरीमा संलग्न पांँच जनालाई ५ देखि १० वर्ष कैद र ५० हजार देखि १ लाख जरिवाना हुनसक्ने र गहना खरिद गर्ने गुप्तालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना हुनसक्ने प्रहरी प्रमुख गुरुङले बताए।

Facebook Comments