भूकम्पले नेपाललाई तहसनहस बनाउँदा चिनियाँले गरेको सहयोगको ऋण त हामी कहिल्यै पनि तिर्न सक्दैनौं। समुद्रको पैंचो थोपा भए पनि फर्काउने प्रयास गरेको छु।’

बेइजिङ – कोभिड १९ को संक्रमण फैलिएपछि चीनका विभिन्न स्थानमा स्वयंसेवक सक्रिय रहेका छन्। उनीहरुको मुख्य काम बसोवास क्षेत्रबाट बाहिर जाने तथा भित्र पस्ने स्थानीयको परिचयपत्र जाँच्ने, अनावश्यक व्यक्तिलाई त्यस्ता ठाउँमा पस्न नदिने, शरीरको तापक्रम नाप्ने, मास्क लगाउन भन्ने, बाहिरबाट घरमा गएपछि साबुनपानीले हात धुन सम्झाउने, भिडभाडमा नजान र वृद्धवृद्धा तथा बालबच्चाको ख्याल गर्ने सल्लाह दिने हो। कोभिड १९ संक्रमण बढेपछि डेढ महिनादेखि यस्ता स्वयंसेवक चीनमा लाखौंको संख्यामा सक्रिय छन्। यसरी जनचेतना फैल्याउने स्वयंसेवकमध्ये एकजना नेपाली विद्यार्थी यति बेला चीनमा चर्चित बनेका छन्।

चीनको दक्षिणमा रहेको क्वाङ्सी प्रान्तमा एक महिनादेखि भक्तपुरका सन्देश देउजा स्थानीयलाई सचेत गराउन सक्रिय छन्। शाङहाईमा स्नातक तह अन्तिम वर्षमा अध्ययनरत सन्देश आफैं घुम्न गएको बेला क्वाङ्सी प्रान्तमा थुनिएका हुन्। उनी चिनियाँ नयाँ वर्ष सुरु हुनुभन्दा दुई दिन अगाडि गत जनवरी २३ मा क्वाङ्सी पुगेका थिए। क्वाङ्सीमा रहेका साथीको घरमा नयाँ वर्ष मनाएर उनी जनवरी २५ मा साथीसहित युन्नान प्रान्ततिर लागे। राजमार्गबाट एक दिन एक रातमा उनीहरु युन्नान प्रान्त पुगे। त्यतिन्जेलसम्म नयाँ कोरोना भाइरसले चीनलाई गाँजेको न सन्देशलाई भेउ थियो न उनका साथीलाई। युन्नान प्रान्तमा पुगेपछि उनीहरुलाई सांग्रिला पर्यटकीय स्थलमा प्रवेश गर्न सुरक्षाकर्मीले दिएनन्। अनि बल्ल उनीहरुले थाहा पाए– चीनका सबै पर्यटकीय स्थलहरु कोरोना भाइरले गर्दा बन्द भइसकेका रहेछन्। उनीहरु जुन बाटोबाट आएका थिए, त्यही बाटो क्वाङ्सी फर्किए।

त्यसपछि सन्देशको बसोबास डेढ महिनादेखि क्वाङ्सीमै छ। क्वाङ्सी प्रान्त हुपेईजस्तो पूरै बन्द नभए पनि त्यहाँबाट हवाईजहाज अथवा रेलमा चढेर शाङहाई जाँदा कोरोना संक्रमण हुने ठानेर सन्देश त्यहीं साथीको घरमा बस्न थाले। एक दिन दुई दिन गर्दागर्दै उनको बसाइ डेढ महिना लम्बिसकेको छ। केही दिन यत्तिकै बसेपछि उनी स्वयंसेवामा लागेका हुन्। चीनमा स्वयंसेवा गर्न सजिलो छैन। नाम दर्ता गरेपछि विभिन्न मापदण्ड पूरा गर्नुपर्छ। जो साथीले उनलाई क्वाङ्सी घुम्न बोलाएका थिए ती व्यक्ति चिनियाँ कम्युनिस्ट पार्टीको स्थानीय कमिटीमा आबद्ध रहेकाले उनले स्वयंसेवा गर्न सन्देशलाई पार्टीमा सिफारिस गरिदिए। त्यसपछि सन्देश सडकमा रमाउन थालेका हुन्।

मास्क लगाएकाले स्थानीय चिनियाँले उनलाई तुरुन्तै विदेशी हो भनेर चिन्दैनन्। सन्देश राम्रोसँग चिनियाँ बोल्न सक्छन्। तर क्वाङ्सीमा स्थानीय भाषा बोलिने भएकाले कसैले उनलाई केही सोध्यो भने उनी ‘कृपया मान्डारिनमा भन्नुहोस्’ भन्छन्। त्यसपछि स्थानीय चिनियाँले ‘तिमी कुन प्रान्तको हौ’ भनेर सोध्छन्। सन्देश आफूलाई नेपाली बताउँछन्। धेरै चिनियाँलाई नेपाल कहाँ छ भन्ने कुराको हेक्का हुँदैन। जसले थाहा पाउँछन् उनीहरु सन्देशलाई अँगाल्न खोज्छन् तर कोभिड १९ को संक्रमणले त्यसो नगर्न उनी सम्झाउँछन्।

सन्देशले क्वाङ्सी प्रान्तमा स्वयंसेवामात्र होइन, नेपालको प्रचारप्रसार पनि गरिरहेका छन्। चिनियाँ सामाजिक सञ्जालमा गीत गाउने र छोटाछोटा भिडियो बनाएर पोस्ट गर्ने उनले चीनभरि थुप्रै घनिष्ट साथी बनाएका छन्। सामाजिक सञ्जालबाटै बनाएका साथीको घरमा उनी डेढ महिनादेखि निःशुल्क पाहुनाका रुपमा बसिरहेका छन्। मनोरञ्जनका रुपमा लिइने चिनियाँ सामाजिक सञ्जालमा सबैभन्दा लोकप्रिय तौयिङ हो। चिनियाँहरु टिकटकलाई तौयिङ भन्छन्। तौयिङमा सन्देशले छोटाछोटा भिडियो बनाएर हाल्ने गर्छन्। तौयिङमा सन्देशलाई पछ्याउने चिनियाँको संख्या साढे तीन लाख छ। नेपालले चीनलाई सहयोगस्वरुप प्रदान गरेको मास्क तथा भूकम्पको समयमा चीनले नेपाललाई गरेको सहयोगलाई जोडेर उनले बनाएको छोटो भिडियो अहिलेसम्म पाँच करोडभन्दा बढीले हेरिसकेका छन्।

तौयिङको भिडियो देखेपछि चिनियाँ केन्द्रीय टेलिभिजन सिसिटिभीले समेत सन्देशले गरिरहेको स्वयंसेवाको छायांकन गरी समाचार प्रसारण गरेको छ। त्यसो त सन्देशले यसअगाडि नै सिसिटिभीमा दर्जनौंपटक उपस्थित भएर चिनियाँ र नेपाली गीत गाएका छन्। उनले केही चिनियाँ टेलिशृंखलामा काम पनि गरेका छन्। उनले कतै भिलेनको भूमिका निर्वाह गरेका छन् भने कतै गीत गाउने पात्रको भूमिका निर्वाह गरेका छन्। एउटा टेलिशृंखलामा उनले म्यान्मारको पात्रको भूमिका पनि निर्वाह गरेका छन्।

२०७२ सालमा भूकम्प जाँदा सन्देश भक्तपुरमा थिए। भूकम्पपछिको उद्धार कार्यमा चिनियाँले गरेको सहयोगलाई उनले नजिकैबाट हेरेका थिए। नेपालीलाई आपत् पर्दा चिनियाँले गरेको सहयोगले आफू सधैं ऋणी भएको उनले अनुभव गरिरहेका थिए। यतिबेला कोभिड १९ बाट चीन आक्रान्त हुँदा आफूले चिनियाँलाई थोरै भए पनि सहयोग गर्न पाएकोमा गौरवबोध भएको उनले नागरिकलाई बताए। उनले भने, ‘भूकम्पले नेपाललाई तहसनहस बनाउँदा चिनियाँले गरेको सहयोगको ऋण त हामी कहिल्यै पनि तिर्न सक्दैनौं। समुद्रको पैंचो थोपा भए पनि फर्काउने प्रयास गरेको छु।’

Facebook Comments