यो संसारका जन जन थर्कमान पार्ने
कस्तो बिचित्रको अदृश्य किरो आयो
सास फेर्नै गाह्रो पार्छ रे!
हनहनी ज्वरो आउने रे!
सामान्य रुघाखोकी जस्तो पनि लाग्ने
तर सबैलाई गुप्तबासै बसाल्ने
यो किरो ब्यबहारमा,
पुरापुर साम्यवादी देखिन्छ
किनकी
यसले धनी भनेको छैन
गरीबलाई छोडेको छैन
मन्त्रीहरु खोजी खोजी समातेको छ
नेताहरुको त झन होसहवास उडाएको छ
कलाकार थर्कमान पारेको छ
बिज्ञान नै योसंग हारिरहेको छ!
बृध्द र रोगीमा हाहाकार मच्चाएको छ
संसारका हरेक जन जनलाई ललकारेको छ
कोही यसको अगाडि पर्न तयार छैनन
तर स्वभावमा,
यो मोरो फेरि साम्राज्यवादी देखिन्छ
एशियाबाट शुरु गरेको यसको
बिस्तारबादी यात्रा
यसले युरोप खाईसक्यो
अमेरिका भ्याईसक्यो
अनि
अफ्रिका र अष्ट्रेलियासम्म जोडटोडले
राज्य बिस्तार गरिरहेको छ
यसले ठुला ठुला देशहरु सबै
आफ्नो साम्राज्यमा समाबेश गर्दैछ
भुरे टाकुरे राज्यहरु बरु बचेका छन
यसलाई कुनै युध्दबीरले जित्दैनन
कसैले यसलाई माल्थसे बम पनि भन्छन
डार्बिनबादको उपयोगको बेला हो यो
बैज्ञानिकहरु दिनरात लागेका छन भन्छन
केहि उपाय त अबश्य निस्केला कि?
केहिले भन्छन केहि हुँदैन
हो नि केहि नहुँदासम्म त केहि पनि हुन्न नि!
यो बिनासे साम्राज्यबादी किरो
कोरोना भाईरस मुर्दाबाद!
हाम्रो स्वास्थ्य जिन्दाबाद!!
रेडिंग, युके

१४ मार्च २०२०
- मुक्तक प्रतिष्ठान युकेको प्रणय मुक्तक वाचन सम्पन्न - February 27, 2022
- नेपाल मुक्तक प्रतिष्ठान बेलायतले मुक्तक दिवस मनाउदै - January 31, 2022
- प्रकृति - November 18, 2021