/तनहुँको दमौलीमा माटोका आकर्षक भाँडा पसल सञ्चालन

तनहुँको दमौलीमा माटोका आकर्षक भाँडा पसल सञ्चालन

 

तनहुँको दमौलीमा कुमाल समुदायको पुख्र्यौली पेशा प्रवर्द्धनका साथै नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने लक्ष्यका साथा माटोका भाडा पसल सञ्चालनमा ल्याइएको छ । व्यास-१ निवासी आलोक र सरु कुमालले व्यास-४ मेनरोडको तनहुँसुर मिनी मार्केटमा आधुनिक डिजाइनका मुक्तिनाथ (माटो) भाँडा पसल सञ्चालनमा ल्याएका हुन् । कुमाल दम्पतीले करिब ७ लाख रुपैयाँको लागतमा उक्त पसल सञ्चालनमा ल्याएका हुन् । भारतको गुजरातबाट खरिद गरी ल्याइएका आधुनिक डिजाइनका आकर्ष माटोका भाँडा बिक्री वितरण गरेका कुमालले आगामि दिनमा आफैले उत्पादन गरी बिक्री वितरण गर्ने योजना बनाएको बताए ।

परम्परागत माटोका भाँडा लोपको संघारमै पुगेका छन् । विशेष गरी कुमाल समुदायको पहिचानसंग जोडिने यी भाँडा अहिले सहजै भेटिदैनन् । शहर बजारदेखि ग्रामीण क्षेत्रमा समेत अहिले विभिन्न धातु तथा प्लाष्टिकका भाँडावर्तनको प्रयोग बढ्दो छ । विशेष गरी प्लाष्टिकका भाँडा वर्तनको प्रयोग बढेसंगै परम्परागत माटोका भाँडा लोप हुँदै जान थालेपछि यसको प्रवर्द्धन र संरक्षणका लागि पसल सञ्चालनमा ल्याएको आलोक कुमालले बताए ।

‘आफ्नो पुर्ख्यौली पेशा र पहिचान झल्कने माटोका भाँडालाई जीवन्त दिने लक्ष्य छ’, आलोकले भने, ‘कुमाल समुदायले आफ्नो जीविकोपार्जनका लागि प्रयोग गर्ने सीप लोप हुँदै गएकाले संरक्षण गर्ने र नयाँपुस्तालाई माटोबाट निर्मित भाडावर्तनका विषयमा जानकारी गराउने उद्देश्यले यो अभियानमा लागेको छु ।’
   ‘हाम्रा बाउबाजेले यही माटोका भाँडा बनाएर घरव्यवार चलाउनु हुन्थ्यो’, उनले भने, ‘केही वर्षयता आधुनिक डिजाइनका प्लाष्टिक, आल्मुनियमका भाँडा भित्रिएपछि माटाका भाँडाले बजार पाउँन नै छाडे । बजार राम्रो नहुँदा माटोको भाँडा बनाउने सीप पनि पुस्ता हस्तान्तरण हुन पनि सकेको छैन ।’

अहिले यो समुदायका केही व्यक्तिमा मात्र यो सीप छ तर प्रयोग भने हुन सकिरहेको छैन । माटोको भाँडा वर्तन मानवीय स्वास्थ्यका लागि समेत गुणकारी भएकाले यसको महत्व र परम्परागत पेशालाई संरक्षण गर्दै नयाँपुस्तालाई जानकारी गराउने लक्ष्य आलोक छ ।

पसलमा न्यूनतम् ३ सयदेखि माथीको मूल्यमा पर्ने माटोबाट निर्माण गरिएका राइस कुकर, कराइ, फ्रिज, फिल्टर, गिलास, प्लेट आदि राखिएका छन् । नेपालमा माटोका भाँडा बनाउने सिल्पकार नभेटिएकाले सबै प्रकारका भाँडा जुटाउन कठिन भएको उनले बताए ।

यस्तै, पसलकी सञ्चालिका सरु कुमालले आफ्नो भान्सामा माटोको राइसकुकर र चिया बनाउने प्यान प्रयोग गरेको बताइन् । उनले भनिन्, ‘आल्मुनियमको भाँडामा खाना पकाउँदा र माटोको भाँडामा खाना पकाउँदाको स्वादमै धेरै फरक आउँदो रहेछ ।’ ‘आमाबुबाले माटोमा खाना पकाएर खाएको सम्झदा सच्चिकै स्वादिलो हुन्छ र भन्ने लग्दथ्यो तर अहिले आफैले प्रयोग गर्दा थाहा पाए’ कुमालले माटाको भाँडामा पकाएको चिया निकै नै मिठो लागेको अनुभव सुनाउँदै भिनन्, ‘यो स्वाद र माटोको भाँडाको महत्वलाई जोगाउन यो पसल सञ्चालनमा ल्याएका हौं ।’

यस्तै, माटोको भाँडामा राखेको दही, मही, घ्यू लामो समयसम्म नब्रि्रने, माटोको भाँडामा दाल तथा मासु पकाउँदा छिटो पाक्ने, मकै भुटेर खाँदा मिठो हुने, पानी चिस्साएर राख्न उपयोगी हुने बताइन्छ । माटोको भाँडा प्रयोग गर्नु स्वास्थ्यका लागि उपयुक्त हुनुका साथै विभिन्न संस्कार र संस्कृतिमा समेत प्रयोग गरिन्छ ।

Facebook Comments