सामान्य बन्दै चीनको जनजीवन, ७ करोड ८० लाख आप्रवासी काममा फर्किए

चीनको बेइजिङमा मास्क लगाएर खेल्दै गरेका बालबालिका। तस्बिर :Lintao Zhang/Getty Images

कोरोना भाइरस (कोभिड–१९) को ‘इपिसेन्टर’ चीनमा जनजीवन सामान्य बन्दै गएको छ। कोरोना भाइरस संक्रमितको संख्या घटेपछि चीनमा जनजीवन सामान्य बन्दै गएको हो।

केही दिनअघिसम्म दैनिक हजारौं कोरोना भाइरस संक्रमित बिरामी थपिने चीनमा अहिले यो संख्या नगन्य भएको छ। चीन सरकारले ‘लक डाउन’ गरिएका क्षेत्र क्रमशः खुलाउँदै लगेको छ भने कामदार पनि काममा फर्किन थालेका छन्।

शनिबार चीनमा मात्र २५ जना कोरोना भाइरसका नयाँ बिरामी थपिएका थिए। केही साताअघि तुलनामा कोरोना भाइरस संक्रमितको संख्या चीनमा स्वाट्टै घटेको छ।

कोरोना भाइरसका नयाँ बिरामीबाट अन्यमा भाइरस सर्ने गति पनि रोकिएको छ। नयाँ बिरामी अन्तर्राष्ट्रिय यात्रु र हुबेई प्रान्तबाट मात्र सरेको देखिएको छ। विश्वकै सबैभन्दा पहिला कोरोना भाइरस चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो।

सन् २०१९ डिसेम्बर अन्तिम साता कोरोना भाइरस पहिलोपटक चीनको उहानमा देखिएको थियो। कोरोना भाइरस फैलने क्रम तीव्र बनेपछि चीनले १ हजार १ सय १९ राजमार्गका प्रवेश र बाहिरिने नाका बन्द गरेको थियो। १ करोड १० लाखभन्दा बढी जनसंख्या भएको उहानलाई लक डाउन गरेको थियो। कोरोना भाइरसको संक्रमित घटेपछि चीनले केही राजमार्ग खोलेको छ।

देशभित्र बन्द गरिएका सयौं सडक, सहर पुनः खुला गरिएको छ। चीनको ‘नेसनल रोड नेटवर्क’ अहिले सामान्य रूपमा चलिरहेको छ। चीनका २८ प्रान्तले अन्तर–प्रान्तीय यात्रालाई खुला गरेका छन्। राजमार्गहरूमा १२ हजार २८ स्वास्थ्य जाँच केन्द्र तथा क्वारेन्टाइन स्टेसन स्थापना गरिएका थिए, जसमध्ये ११ हजार १ सय ९८ हटाइएका छन्।

फेब्रुअरीसम्म चीनका धेरै सहर लकडाउन गरिएका थिए। धेरै जनतालाई आफ्नो निवासबाट बाहिर निस्कन दिइएको थिएन। रेल सेवा, सार्वजनिक यातायात र हवाई सेवा पूर्णरुपमा बन्द गरिएका थिए। अहिले यी सबै बिस्तारै खुल्दै गएका छन्।

चिनियाँ समाचार संस्था सिन्हका अनुसार बन्द गरिएका ५ सय ४९ राष्ट्रिय, प्रान्तीय र सहरका सडकहरु खुला गरिएको छ । १ सय २६ साना र १ सय ९२ ठूला सहरमा सार्वजनिक यातायात पुनः सुचारु गरिएको थियो। ४१ सहरले रेलसेवा सुचारु गरेका छन्। सिन्ह्वाका अनुसार ७ करोड ८० लाख आप्रवासी कामदार काममा फर्किएका छन्।

Facebook Comments