सेनाले मंगलबार कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अभ्यास गर्ने

नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डा परिसरमा मंगलबार कोरोना भाइरस (कोभिड-१९) रोकथाम तथा नियन्त्रणसम्बन्धी अभ्यास गर्ने भएको छ। अभ्यासको लागि सेनाका सातै प्रदेशमा रहेका पृतनाहरुमा कार्यरत मेडिकल टिमलाई काठमाडौं बोलाएको छ।

जंगी अड्डा परिसरमा सेनाले ५४ वटा टेन्ट गाडेर तीनलाई ९ वटा क्लस्टरमा विभाजन गरेको छ। एउटा क्लस्टरमा ६ वटा टेन्ट राखिएको छ। प्रत्येक टेन्टमा २ जना बस्न मिल्ने व्यवस्था गरिएको छ। प्रत्येक क्लस्टरको लागि छुट्टै शौचालयको व्यवस्था गरिएको छ। मंगलबार यिनै टेन्टमा कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणसम्बन्धी अभ्यास गरिनेछ।

‘साँच्चै नै भविष्यमा कोरोना भाइरसले ठूलै विपत निम्तायो भने बिरामीलाई कसरी राख्ने, उपचार कसरी गर्ने, पानी शुद्धीकरण कसरी गर्ने लगायतका कुराहरुको अभ्यास मंगलबार गरिनेछ,’ सैनिक प्रवक्ता पाण्डेले जानकारी दिए।

सेनाका थुप्रै अधिकृत तथा जवानहरु अहिले विभिन्न देशमा तालिमरत छन्। उनीहरुलाई स्वदेश फर्केपछि क्वारेन्टाइनमा राख्न तथा नेपालभित्रै रहेका सैनिक अधिकृत तथा जवानमा कोरोना भाइरसको लक्षण देखिएमा उनीहरुलाई क्वारेन्टाइनमा राख्न सेनाले जंगीअड्डा परिसरमा टेन्टहरु गाडेको हो।

अहिले कोरोना भाइरसको ‘इपिसेन्टर’ चीनबाट फर्केका १४ जना नेपाली सेनाहरुलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ। सैनिक तालिमको क्रममा चीनमा रहेका उनीहरु कोरोना भाइरसका कारण तालिम रोकिएपछि स्वदेश फर्किएका थिए।

चीनको पनि कोरोना भाइरस प्रभावित नभएको स्थानबाट उनीहरु स्वदेश फर्केका कारण ‘सेल्फ क्वारेन्टाइन’मा मात्र राखिएको उनले बताए।

यसअघि नेपाल सरकारले सबैभन्दा बढी कोरोना भाइरस प्रभावित चीनको उहानबाट उद्धार गरी ल्याएका १ सय ७५ जना नेपालीलाई क्वारेन्टाइनमा राखेको थियो। भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा उनीहरुलाई १४ दिन राखी कोरोना भाइरसको संक्रमण नदेखिएपछि घर पठाइएको थियो।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानी उहानमा देखिएको थियो। त्यसयता यो भाइरस विश्वका १ सय ५१ देशमा देखिएको छ। शनिबारसम्म विश्वका १ लाख ५६ हजार ५ सय ३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ, जसमध्ये ५ हजार ८ सय ३५ जनाको मृत्यु भइसकेको छ।
संक्रमितमध्ये ७५ हजार ५ सय २२ उपचारपश्चात निको भई अस्पतालबाट घर फर्केकाछन्।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलिएपछि सरकारले शनिबार राति १२ बजेटबाट विश्वका सबै देशका नागरिकलाई अनअराइभल भिसा दिन रोकेको छ। यस्तै, वैदेशिक रोजगारीमा जानेहरुकालाई श्रम स्वीकृति दिन पनि सरकारले रोकेको छ। सरकारले चीनसँगको सीमा नाका बन्द गरेको छ भने भारतसँगको चार नाकाबाट मात्र आवतजावत गर्न भनेको छ।

Facebook Comments