कोरोनाभाइरस सङ्क्रमण: चीनभित्र भन्दा बाहिर धेरै

कोरोनाभाइरसको सङ्क्रमणको सङ्ख्या र त्यसबाट ज्यान गुमाउनेको सङ्ख्या चीनभित्रभन्दा बाहिर धेरै पुगेको छ।

कोरोनाभाइरस सङ्क्रमणको तथ्याङ्क राख्दै आएको अमेरिकाको जोन हप्किन्स विश्वविद्यालयका अनुसार चीनबाहिर सङ्क्रमितको सङ्ख्या ८७ हजार पुगेको छ भने चीनभित्र झण्डै ८१ हजार रहेको छ।

महिनौँ लामो कडा क्वारान्टीनजस्ता प्रावधानका कारण केही समययता चीनभित्र नयाँ सङ्क्रमण एवं मृत्युको सङ्ख्या घट्दो छ।

अन्यत्र निरन्तर

तर अन्यत्र भने यो निरन्तर बढिरहेको छ।

अमेरिकाका कैयन् राज्य तथा शहरहरूले भाइरस फैलनबाट रोक्न कडा उपाय अघि सारेका छन्।

त्यहाँका सबभन्दा ठूला दुई शहर न्यूयोर्क र लस एन्जलसले रेस्टुरेन्ट, बार तथा क्याफे बन्द गर्न आह्वान गरेका छन्।

न्यूयोर्क शहरमा स्कुल बन्द गरिएका छन्।

न्यूयोर्कका मेयर बील डे ब्लाजियोले निकट सामाजिक अन्तरक्रिया रोकेर भाइरसको सहज फैलावट रोक्न चाहेको बताए।

युरोपभरि सङ्क्रमण रोक्न झनझन् कडा नियम ल्याइएका छन्।

जर्मनीले फ्रान्स, अस्ट्रिया, डेन्मार्क, स्वीट्जर्ल्यान्ड र लक्जेम्बर्गसँगको उसको सिमाना आफ्नै देशका फर्किरहेका नागरिक तथा व्यापारीक सवारीसाधनका अतिरिक्त अन्य सबैका निम्ति बन्द गरिदिएको छ।

Facebook Comments