तीन ठाउँमा क्वारेन्टाइन, तापक्रम नापेर मात्र बसको टिकट

 

नोभल कोराना भाइरस (कोभिड-१९) को जोखिमबाट बच्नका लागि सरकार र निजी क्षेत्रबाट पूर्वसतर्कता अपनाइएको छ। प्रदेश ५ सरकारले सम्भावित जोखिमको सामना गर्न प्रदेशभित्रै आइसोलेसन बेड, क्वारेन्टाइन र सीमा चेकजाँचलाई व्यवस्थित बनाउन थालेको छ। कोराना भाइरसको सङ्‌क्रमणबारे धेरै हल्ला भएपछि सरकारका निकायहरू यसबारे जागरण अभियान र सम्भावित जोखिमको सामना गर्ने गरी तयारीमा जुटेका छन्।

सरकार, डब्लुएचओका प्रतिनिधि र विपद्सम्बन्धी विज्ञले विभिन्न कार्यक्रम सुरू गरेका छन्। प्रदेशका १७ वटा सीमा नाकामा ‘स्क्यानिङ हेल्थ डेस्क’ स्थापना गरिएको सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयका प्रवक्ता रोशनलाल चौधरीले जानकारी दिए। प्रदेशमा भारतीय सीमासँग जोडिएका साना ठूला गरी १९ वटा नाका छन्। भारत सरकारले सीमा ‘सिल’ समेत गरिसकेको छ। छिमेकी भारतमा कोराना सङ्‌क्रमण देखिएपछि नेपालका सीमा क्षेत्रका नागरिक त्रसित भएका छन्।

प्रदेशभर तीन ठाउँमा क्वारेन्टाइन

प्रदेश सरकारले विपद्को सामना गर्न पूर्वतयारी गर्नुपर्ने निष्कर्षसहित क्वारेन्टाइनको व्यवस्था गर्न लागिएको छ। स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेश ५ का तीन ठाउँमा क्वारेन्टाइन राख्ने प्रस्ताव गरिएको छ।

प्रदेशको अस्थायी राजधानी बुटवलस्थित बुटवल धागो कारखाना, बाँकेको खजुरास्थित कपास विकास समितिको कार्यालय र दाङको बेलझुन्डीमा क्वारेन्टाइन स्थापना गर्ने तयारी गरिएको निर्देशनालयका प्रवक्ता चौधरीले जानकारी दिए। जिल्ला यकिन भए पनि कुन ठाउँमा राख्ने तय भइनसकेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

तापक्रम मापनपछि मात्र टिकट

पश्चिम नेपाल बस व्यवसायी प्रालिले आफू मातहतका टिकट काउन्टरमा यात्रुको तापक्रम मापन गरेर मात्र टिकट काट्न थालेको छ। कोराना भाइरसको सङ्‌क्रमणबारे पूर्वतयारी भइरहेका बेला बस व्यवसायीले तापक्रम मापन गरेरमात्र यात्रु चढाउने नीति लिएको हो।

प्रालिले बुकिङ काउन्टरहरू बेलहिया, भैरहवा, बुटवल, तौलिहवा, कृष्णनगर, परासी, महेशपुर, तानसेन, तम्घास र सन्धिखर्कमा आफ्नै लगानीका उपकरणबाट यात्रुको तापक्रम मापन गर्न थालेको अध्यक्ष दधिराम खरेलले जानकारी दिए। एकजना सङ्‌क्रमितबाट सवारीसाधनमा रहेका अन्य यात्रुको स्वास्थ्य जोखिममा नपार्न यस्तो अभियान थालिएको अध्यक्ष खरेलको भनाइ छ। उनका अनुसार कोरोना भाइरसको त्रासले यात्रुको सङ्ख्यासमेत घटेको छ।

Facebook Comments