तिलोत्तमाको सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध

 

रुपन्देही । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले नगरलाई शुन्य पोलिथिनयुक्त नगर घोषणा गर्न सफल भएसंगै यसको व्यावहारिक कार्यन्वयन गर्नका लागि सार्वजनिक स्थलहरुमा सुर्ती, गुड्खा, चुरोट आदिको सेवनलाई निषेध गरेको छ । कार्यपालिकाको पछिलो बैठकले धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन सार्वजनिक स्थलहरुमा गरे कारवाही गर्ने निर्णय गरेको हो । नगरपालिकाको शुन्य पोलिथिनयुक्त अभियान पछि प्रायजसो : सार्वजनिक स्थल, सडक, चोकमा अन्य प्लाष्टिक जन्य वस्तु नदेखिए पनि सुर्ती, गुड्खा र चुरोटका खोलहरु फाल्ने क्रम नियन्त्रण हुन नसकेपछि नगरपालिकाले यसका प्रयोगकर्ताहरुलाई कडा कारवाही गर्ने भएको हो । कार्यपालिकाको उक्त बैठकले सार्वजनिक स्थलहरुमा सुर्तीजन्य पदार्थको सेवन गर्नेलाई जरिवाना तिराउने तथा कारवाही गर्ने अधिकार टोल विकास संस्थाहरुलाई प्रत्यायोजन गरेको छ । साथै सार्वजनिक स्थलमा फोहोर फाल्ने व्यक्तिको बारे प्रमाणसहित उजुरी गर्ने व्यक्तिलाई जरिवाना रकमको २५ प्रतिशत उपलब्ध गराउने र टोल विकास संस्थाको कोषमा जरिवाना रकमको ७५ प्रतिशत उपलब्ध गराउने व्यवस्था गरेको छ । संघीय सरकारले सार्वजनिक स्थानमा धुम्रपान एवं सुर्तीजन्य पदार्थको सेवन गर्न सबै स्थानीय तहलाई निर्देशन दिएको थियो र सोही निर्देशनलाई नगरपालिकाले कडाइका साथ कार्यन्वयन गर्न लागेको नगर प्रमुख बासुदेव घिमिरेले बताउनुभयो । गत फागुन ३० गते शुक्रबार जिल्ला खानेपानी, सरसफाई तथा स्वच्छता समन्वय समिति रुपन्देहीले शुन्य पोलिथिनयुक्त नगर घोषणा गरेसंगै तिलोत्तमा नगरपालिकालाई पुर्णसरसफाईयुक्त नगर समेत घोषणा गर्ने लक्ष्य रहेको उहाँले बताउनु भयो । संघीय सरकारको निर्देशन अनुसार कसैले पनि सरकारी वा सार्वजनिक कार्यालय, विद्यालय, कलकारखाना, सडक, प्रतिक्षालय, मठमन्दिर, पाटीपौवा लगायत कुनै पनि भेलाहरुमा धुम्रपान एवं सुर्तीजन्य पदार्थ सेवन गर्न नपाइने कुरा उल्लेख रहेको छ । सोही अनुसार तिलोत्तमाले पनि ‘मेरो खल्ती मेरो पहिलो डस्टबिन’ को अवधारणा ल्याई कार्यन्वयनमा तिब्रता ल्याउने भएको हो ।

Facebook Comments