कविता. ‘ मालिकको जय होस् ‘ “सरला जोशी”

 

कविता. ‘ मालिकको जय होस् ‘.

मालिक!
जोतेर शिर भुइँमा
शाष्टङ्ग दण्डवत प्रणाम गरे मालिक!
हजुरको पाउँ पाउनु
भगवानको शरण पाउनु जत्तिकै हो मालिक

मालिक!
हल नारेकै भरमा हजुर को बाँझो जमिन
मेरी चमेली ले झाडु पोछा, जुठो भाडो गरेकै भरमा हजुरको धौले घर
हजुर को निगाह ले
लागेकै हो मुखमा माड
हाम्रा यी नाङ्गा आङ्गले भेटेकै हो
हजुर का अनमोल जडौरी
र त भेट्यौ जिन्दगीको सार

लुटिदा अस्मिता मेरी छोरीको
ठहराउन सक्छु कसरी दोषी
मालिक! हजुर को छोरो लाई
म नाथे दास! खाएर जुठो हजुरको
धानिएको छ सास आज सम्म
अह : हुँदैनथ्यो गाली र बेईज्जतीको
काँडा ले चिथोर्न
जन्मदै इज्जत निलाम भएको म
कहाँ बाट पाउनु इज्जत ले बाँच्न
यो नाथे दास कि छोरी
कसरी सोच्न सक्छु मालिक
यो निरीह रोगी दिमागले
हजुरको छोरा लाई कोर्रा, लात र बुटले थिलो – थिलो पार्दै
मर्नु न बाच्नु हुने गरी
प्रहरी ले चुटोस

सल्बलाउदैन आक्रोश यो अनुहारमा
निलिदिन्छु अपमान थुक निले जस्तै
म भन्न कसरी सक्छु
लगाएर हथकडी जेल चलान होस्
आँखामा छैन कुनै सपना सजायको
उदासी र विवसतामा आँसुको थोपा
तप्प तप्प झार्नु
मरुभूमिमा पानी चुहिए जस्तो नहो
उध्रिएको मन च्यातिएको जिन्दगी
यो नाथे दासले, सिलाउन सक्छ कसरी?
भागी रहदा इज्जत जोगाउन मेरी छोरी
मेघ गर्जे झै गर्जी
भन्न हुँदैनथ्यो छोड्दे पापी….!
नचाउदै कम्मरको खुकुरी
भन्न हुँदैनथ्यो रेट्छु भनी
पहाड जस्ता अजङ्गका अङ्ग रक्षकका अगाडी
यो लुरे ख्याउटे शरिर
खै कसरी गर्जने साहास गरे
मेरा हात खुट्टा भाच्चिने गरी
कुटे पछि पो थाहा भो
मैले ठूलो गल्ति गरेछु मालिक!

मालिक!
मरुभूमि जस्तै बन्जर यो छातीमा
बर्षातको शितलता त के प्राप्त गर्न सकुला ?
हो… पश्चतापले रुमल्लिएकै हुँ
जीवनमा पहिलो पटक गरिब हुनुमा
जमेर बस्यो आँखामा आँसुको दह
दास हुनुको हिनता बोध
भएन कसरी भनौ
झुकेको शीर देख्दा बलत्कृत छोरीको
झुण्डिएर पीपलको बोटमा
मरु-मरु नलागेको पनि त होइन?
विवश भए बाँच्न
चिन्ता को असह्य डाहाले डसी रहे पनि

मान्छेहरु बनिरहन्छन् अपराधका जालहरु
र फसाउछन् उम्कनै नमिल्ने गरी
फाल्न सक्छन् पुलबाट बाबुले आफ्नै छोरीलाई
साँझ बिहान हरपल लुटिन्छन् निर्मलाहरु
र हुन्छ मृत्युको ताण्डव नृत्य
दिइन्छन् बलि बोकालाई झै छिमेकी का सन्तानको
बेचिन्छन् र लुटिन्छन् बारम्बार चेलीहरु
आफ्नै बिस्वसका पात्र बाबु बाजे र शिक्षक बाट
यो दुनियाँ नै अपराधी सोचले ग्रसित भएको बेला
म कसरी भन्ने हिम्मत गर्न सक्छु मालिक हजुरलाई अपराधी भनेर

मालिक!
हजुरको बारीको पुछारमा
सिम्ठीले बारेर खरको छानामुनी
पाएको छु ओत लाग्न
लाग्छ सुन्दर संसार मेरो
यही नै हो दरबार मेरो
छैन कुनै जिज्ञासाको गहिरो भाव मनमा
शेवा गर्दा गर्दै मरे – बाजे र बाउ पनि
अब पालो मेरो हो मालिक
मालिक! हजुरको जय होस्!
मालिक! हजुरको जय होस्!!

सरला जोशी
मिल्सएरिया, क्षेत्रपुर
चितवन, नेपाल

Facebook Comments