कोरोना भाइरसबाट इटालीमा मृत्यु हुनेको संख्या तीन गुणाले बढ्यो

 

कोरोना भाइरसको संक्रमणबाट यतिबेला सबैभन्दा बढी प्रभावित इटाली बनेको छ। विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घन्टामा ३ सय ४५ जनाको मृत्यु भएको छ। बुधबारसम्म मृत्यु हुनेको संख्या २ हजार ५०३ पुगेको छ।

त्यस्तै ३१ हजार ५०६ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ। पछिल्लो २४ घन्टामा यो संख्या १२.६ प्रतिशतले वृद्धि भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ। एक दिनअघि संक्रमित हुनेको संख्या २७ हजार ९८० रहेको थियो।

विश्व स्वास्थ्य संगठनका अनुसार कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या विश्वभर करिब दुई लाख पुगेको छ। त्यस्तै ७ हजार ९७६ जनाले ज्यान गुमाएको छ।

इटालीमा यसरी बढ्यो संक्रमित र मृत्यु संख्या
इटालीमा पहिलोपटक फेब्रुअरी २१ मा कोरोना भाइरसबाट एक जनाको मृत्यु भएको थियो। त्यतिबेला संक्रमित संख्या २० मात्र थियो।
एक हप्तापछि २७ फेब्रुअरीमा मर्नेको संख्या १७ पुग्यो भने संक्रमित हुनेको संख्या ४६ प्रतिशतले वृद्धि भएर ६५० पुग्यो।

मार्च ५ सम्म मृत्यु हुनेको संख्यामा पनि ४१ प्रतिशतले वृद्धि भई १४८ पुग्यो। संक्रमित हुनेको संख्या भने २५ प्रतिशतले वृद्धि भएर ३ हजार ८५८ पुग्यो।

त्यसको एक हप्तापछि मृत्यु दर एकपैटक १६८ प्रतिशतले वृद्धि भई ६३१ जना पुग्यो। त्यस्तै संक्रमित हुनेको संख्या १० हजार नाघ्यो।
मंगलबारसम्म मृत्यु हुनेको संख्या पछिल्लो हप्ताभन्दा चार गुणा बढीले बढ्यो। एक हप्ताअघि ६३१ मृत्यु भएकोमा मंगलबारसम्म ३४५ प्रतिशतले वृद्धि भएर २५०३ पुगेको छ।
संक्रमित हुनेको संख्या भने १३ प्रतिशतले वृद्धि भएर ३१ हजार नाघेको त्यहाँको स्वास्थ्य अधिकारीको तथ्यांकमा उल्लेख छ।

इटालीको मृत्यु संख्या कोरोनाको उद्गम स्थल चीनभन्दा पनि धेरै भएको एजेन्सीहरुले उल्लेख गरेका छन्। चीनमा एकैदिन धेरै मृत्यु हुनेको संख्या २५४ रहेको थियो। गत फेब्रुअरी १२ मा २५४ जनाको मृत्यु भएको थियो। चीनले त्यसयता भने मृत्यु हुनेको संख्या घटाएको छ। त्यतिमात्र नभएर संक्रमित संक्या पनि घटाएको छ।

चीनपछि अहिले सबैभन्दा बढी इटाली प्रभावित बनेको छ। त्यसपछि क्रमशः इरान, स्पेन, जर्मनी, दक्षिण कोरिया र फ्रान्स प्रभावित बनेको छ।

 

Facebook Comments