‘मधेश प्रदेश’ सहित चारवटै नाम अस्वीकार

https://youtu.be/xJLn0qs8-L0

प्रदेश २ को नामाकरणका सन्दर्भमा मङ्‌गलबार प्रदेशसभामा भएको निर्वाचन निरर्थक भएको छ।

संवैधानिक व्यवस्था अनुसार मङ्‌गलबार कुनै पनि नाममा दुई तिहाई मत प्राप्त नभएपछि निर्वाचन निरर्थक सावित भएको हो। प्रदेशसभामा राजनीतिक दलहरूले दर्ता गराएका चारवटा नाममा मङ्‌गलबार मतदान भएकाे थियाे।

सत्तारुढ दलहरू समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीले प्रस्ताव गरेको नाम ‘मधेश’ पक्षमा जम्मा ६० मत मात्र प्राप्त भयो प्रस्तावित नाम पारित हुनका लागि ७२ मत प्राप्त हुनुपर्नेमा ‘मधेश’ प्रदेशको पक्षमा १२ मतले दुई तिहाई नपुगेकाे हाे।

उक्त प्रस्तावको विपक्षमा ४६ मत खसेको थियो भने एक मत बदर भएको थियो। सत्तारुढ दलसँग ५६ मत रहेकोमा जम्मा ४ मतमात्र क्रस गराउन सक्यो।

सत्तारुढ दलका सांसदहरूले मधेश आन्दोलनको बलमा गठन भएको प्रदेशको नाम ‘मधेश’ नै सबैभन्दा उपयुक्त हुने भन्दै उक्त नामको पक्षमा दुई तिहाई मत प्राप्त हुने विश्वास व्यक्त गरिरहेका थिए। तर, उक्त नाम पनि अस्वीकृत भएको छ। यसअघि तीनवटा नामले दुई तिहाई मत नपाएको अवस्थामा मधेश प्रदेशले आवश्यक मत प्राप्त गर्ने अपेक्षा गरिएको थियो।

‘मधेश’ बाहेकका ‘मध्य प्रदेश’, ‘मिथिला-भोजपुरा’ र ‘जानकी’  नाम प्रदेश २ का लागि प्रस्तावित भए पनि आजै भएकाे मतदानबाट अस्वीकृत भएका थिए।

नेपाली कांग्रेसका सांसदहरू ओमप्रकाश शर्मा, राजेश्वरप्रसाद शाह र शंकर चाैधरीले संसद् सचिवालयमा दर्ता गराएका ‘मध्य प्रदेश’ नाममा जम्मा ४२ मत प्राप्त भएकाे थियो। कांग्रेसले पार्टीको तर्फबाट प्रदेश २ को नाम ‘मिथिला-भोजपुरा’ प्रस्ताव गरिए तीन जना सांसदले ‘मध्य प्रदेश’ प्रस्ताव दर्ता गरेका थिए। उक्त नामको पक्षमा सबैभन्दा धेरै मत क्रस भएको थियो।

त्यस्तै, संसद्‌मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र नेपाली कांग्रेसले दर्ता गरेको प्रदेशको नाम अस्वीकृत भएको थियो। प्रदेश २ मा प्रमुख प्रतिपक्षी दल रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश र कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला–भोजपुरा’ दुईवटै नाम अस्वीकृत भए।

मङ्‌गलबार भएकाे मनदानमा जानकीको पक्षमा ३७ मत खस्यो। जबकि, मतदान भने प्रदेश संसदका १०७ सदस्यले गरेका थिए। यससँगै नेकपाले प्रस्ताव गरेको ‘जानकी’ प्रदेश अस्वीकृत भएको छ। प्रदेश संसद्‌मा नेकपाको मात्रै कूल ३२ मत छ। बाँकी ५ मत अरू दलका सांसदबाट ‘जानकी’ प्रदेशको पक्षमा मतदान गराउन नेकपा सफल भएको देखिन्छ।

त्यस्तै कांग्रेसले प्रस्ताव गरेको ‘मिथिला-भोजपुरा’को पक्षमा २८ मत खसेको थियाे। प्रदेश २ संसद्‌मा कांग्रेसका १९ जना सांसद छन्। कांग्रेसले पनि आफ्नो सांसदसंख्या भन्दा ५ मत बढी पाएको छ। यद्यपि, नाम पारित गराउन सफल हुन सकेन।

Facebook Comments