साइकल चलाऔं रोग प्रतिरोधी क्षमता बढाऔं

 बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा.जया श्रेष्ठले साइकल चलाउन थालेको ४० वर्ष भयो । ५५ वर्षीय डा.श्रेष्ठ अहिले पनि सामान्य काममा गाडीको प्रयोग गर्दिनन् । मिलेसम्म साँझ–विहान साइकल चलाउँछिन् । साइकल चलाउँदा उनलाई आनन्द महसुस हुन्छ ।

डा.श्रेष्ठका अनुसार साइकल चलाउने व्यक्तिलाई रक्तचाप, मधुमेह तथा मुटुको समस्या कम हुन्छ । रोग प्रतिरोध क्षमता बढी हुन्छ । जसले गर्दा क्यान्सर रोगसमेत निको हुने उनी बताउँछन् । “नेपालमा अहिले कोरोना भइरसको हल्ला व्यापक छ”, डा.श्रेष्ठ भन्छन्, “जोसँग रोग प्रतिरोधी क्षमता छैन, उसलाई भाइरसले छिटो आक्रमण गर्छ । साइकल चलाउने व्यक्तिमा त्यो क्षमता बढी हुने भएकाले भाइरसले आक्रमण गर्न सक्दैन ।” वातावारण संरक्षणसम्बन्धी अभियानमा सक्रिय रहँदै आएका श्रेष्ठ साइकलको प्रयोगले वातावरणमा समेत सकरात्मक असर पार्ने बताउँछन् ।

चितवन साइकल राइडर्स क्लबले चितवनमा साइकलको प्रवर्द्धनका लागि विभिन्न गतविधिहरु गर्दै आएको छ । उक्त क्लबका अध्यक्ष नवीन खरेललाई विगतमा नसाको समस्या थियो । साइकलको प्रयोग बढाउँदै गएपछि उनको यो समस्या समाधान भएको छ । “नसाको समस्या लिएर धेरै अस्पताल चाहारें । धेरै डाक्टरलाइै भेटें । तर, कसैको उपचारले ठीक गरेन”, खरेलले सुनाए, “केही डाक्टरले योगा र थेरापी गरे निको हुन्छ भनेपछि मैले साइकल चलाउँदा ठीक हुन्छ कि भनेर चलाउन सुरु गरें ।” साइकल चलाउन थालेपछि नसाको समस्या विस्तारै कम हुँदै गएको उनले बताए । भने, “डाक्टरले नै जीवनभर झोला पनि बोक्न सक्दैनौं भन्थे, तर साइकलले समस्या समाधान भयो, अहिले पहिलेको कुनै समस्या छैन ।”

क्लबका उपाध्यक्ष पदमबहादुर बानियाँको दुर्घटनामा परेर हाडजोर्नीमा समस्या भएको थियो । त्यसपछि उनले पनि नियमितरुपमा साइकल चलाउन थाले । यसले उनलाई राहत दिइरहेको छ । क्लबका कोषाध्यक्ष रामचन्द्र सुवेदीको हाडजोर्नीको समस्या पनि साइकल चलाएरै निको भएको छ । उनी भन्छन्, “साइकल चलाउँदा फाइदा नै फाइदा छ ।” साइकल व्यवसायी संघ चितवन- नवलपुर का निवर्तमान अध्यक्ष, साइकल अभियन्ता एवम चितवन साइकल राइडर्स क्लबका सचिव धर्मराज सापकोटा विश्वव्यापीरुपमा कोरोना भाइरसको महामारी बढ्दै जाँदा साइकल पनि भाइरसको संक्रमणबाट बच्ने एउटा माध्यम हो भन्ने चेतना सर्वसाधारणमा पुग्नु आवश्यक रहेको बताउँछन् । “वातावरण स्वच्छ राख्न तथा दुर्घटना न्यूनीकरण गर्न मात्रै होइन रोग लाग्न नदिनका लागि पनि साइकल संस्कृतिको विकास हुनु आवश्यक छ”, सापकोटा भन्छन्, “हामी यही कुरालाई जनमानसमा पु-याउन लागिपरेका छौं।

Facebook Comments