अफवाह फैलाएको’ भन्दै दीक्षितलगायतलाई कारबाही गर्नेबारे छलफल

 

कोरोना भाइरसको संक्रमण नियन्त्रण प्रयास भइरहेको बेला डा. सुन्दरमणि दीक्षितले अफवाह फैलाएको भन्दै कारबाही गर्न माग उठेको छ।

गृहमन्त्री रामबहादुर थापाको अध्यक्षतामा बसेको राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकमा अफवाह फैलाएको आरोपमा दीक्षितलाई कारबाही गर्न माग उठेको हो।

‘डा. दीक्षितलगायत केहीले कोरोना भाइरसको संक्रमणका बारेमा अफवाह फैलाएको भन्ने विषय बैठकमा उठेको थियो,’ गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले भने, ‘अफवाह फैलाउनेलाई कानुनका दायरामा ल्याउनुपर्ने विषयमा छलफलसमेत भयो।’ उनका अनुसार अफवाह फैलाउने दीक्षितलगायतलाई कारबाही गर्न माग उठेपछि उपस्थित मन्त्री र सचिवहरुले गम्भीरतापूर्वक छलफलसमेत गरे।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्र श्रेष्ठले सरकारी निकायले पटक पटक कोभिड–१९ को रिजल्ट ‘नेगेटिभ’ आइरहको जनाउँदा डा. दीक्षितलगायतलले कोभिड–१९ का बारेमा भ्रम फैलाउने काम गरेको जनाएका थिए। उनका अनुसार हालसम्म ५ सय १२ जना बिरामीको जाँच गर्दा सबैमा ‘नेगेटिभ’ देखा परेकाले हालसम्म नेपालमा संक्रमित ब्यक्ति नभेटिएको विवरण पेस गरेका थिए।

दीक्षितले कोभिड–१९ को जाँच गर्ने किट नै नेपाल सरकारसँग नभएको आरोप लगाएपछि मुलुकमा त्रास फैलिएको निष्कर्ष निकाल्दै उक्त बैठकमा गम्भीर रुपमा छलफल भए पनि निर्णय भने सो बैठकमा हुन सकेन। कारबाही गर्ने निकायलाई अधिकार प्रयोग गर्न सकिने अनुमति भने दिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल, संघीय मामिला मन्त्री हृदयेश त्रिपाठीलगायत नेपाल सरकारका उच्च पदाधिकारीसमेत उपस्थित रहेको बैठकमा दीक्षितलगायत केहीलाई सांकेतिक रुपमा भए पनि कारबाही गर्न उक्त बैठकमा उपस्थित एक उच्च अधिकारीले जनाए।

डा. दीक्षितले केही दिनअघि सरकारसँग कोभिड–१९ परीक्षण गर्ने किट नै नभएको उल्लेख गर्दै टेकुमा भर्ना हुन आएका बिरामीलाई कोभिड १९ को ‘ल्याबटेस्ट’ नै नगरी सरकारले त्यसै ‘नेगेटिभ’ भनेर बिरामीलाई फिर्ता पठाउने गरेको आरोप लगाएका थिए। जसकाकारण देशभरि कोरोना भाइरसले संक्रमित बिरामीसमेत रहेको दाबी गरेपछि बैठकमा दीक्षितलगायत युट्युबर र सामाजिक सञ्जालमा लेख्नेलाई समेत सांकेतिकरुपमा भए पनि कारबाही गर्ने छलफल भएको छ।

Griha mantralayama meeting news

दीक्षितले कोभिड–१९ को बिरामी भएमा भिआइपी र भिभिआइपीलाई मात्रै चेकजाँच गरिने तर सर्वसाधारणले भने त्यो सुविधा नपाउनेजस्ता झन्डै आधा दर्जन आरोप लगाएर सरकारको तयारी र भइरहेको काममा प्रश्न उठाएका थिए।

टेकुमा परिक्षण गरिएका ब्यक्तिहरुमा कोरोनो भाइरस संक्रमण भएको तर सरकारसँग किट नभएकाले देशभरि छरिएर रहेको आशंकासमेत दीक्षितले गरेका थिए। दीक्षितको उक्त भनाइपछि मुलुकभर त्रास छाएको स्वास्थ्य सेवा विभागको निष्कर्षसमेत महानिर्देशक श्रेष्ठलगायतको निष्कर्ष बैठकमा प्रस्तुत भएको छ।

सरकारले पनि हिजोमात्रै सार्वजनिक गरेको १५ बुँदेमा ‘सर्वसाधारण नागरिकलाई भ्रम सिर्जना हुनेगरी कुनै पनि सञ्चार माध्यम (सामाजिक सञ्जालसमेत)बाट गलत अभिब्यक्ति दिएमा विद्यमान कानुनबमोजिम कडा कारबाही गरिनेछ,’ भन्ने निर्णय सार्वजनिक गरेको भोलिपल्ट दीक्षित लगायतलाई कारबाही गर्नेबारे छलफल भएको हो।

कुनै पनि विषयमा सनसनीपूर्ण रुपमा अफवाह फैलाएको ठहर भएमा १ लाख रुपैयाँ जरिवाना र ६ महिनासम्म कैद वा दुवै सजाय हुनसक्ने कानुनी ब्यवस्था रहेको छ।

Facebook Comments