खाद्यान्न र पेट्रोलियम पदार्थको अभाव हुँदैन’

https://youtu.be/xJLn0qs8-L0

 


उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दैनिक उपभोग्य सामग्री र पेट्रोलियम पदार्थको अभाव नरहेको जनाएको छ।

‘कोरोनाको सन्त्राससँगै दैनिक उपभोग्य सामग्री अभाव भयो भन्ने त्रास जनतामा फैलिएको छ, जुन आवश्यक छैन। हामीले अनुगमन गरिरहेका छौं, वाणिज्य विभाग, औषधि व्यवस्था विभागलगायतले समन्वय गरेर एकीकृत टिमबाट अनुगमन गरेपछि अलि सहज अवस्थामा आएको छ,’ बिहीबार सञ्चार मन्त्रालयमा आयोजित सरकारको नियमित पत्रकार सम्मेलनमा उनले भने, ‘हामीसँग खाद्यान्न कम्तीमा ४ देखि ६ महिनालाई पुग्ने छ। १४ दिन क्वारेन्टाइनमा बस्ने भन्ने छ, यसले आयातमा कुनै समस्या गर्दैन।’

मन्त्री भट्टले औषधि ८ महिनालाई पुग्ने मौज्दात रहेको बताए। उत्पादनमा प्रयोग हुने कच्चा पदार्थ पनि ४ देखि ६ महिनालाई पुग्ने रहेको उनले बताए। ‘नुन १० महिनालाई पुग्ने छ,’ उनले भने, ‘हामीकहाँ अलिकति हल्ला फैलिने बित्तिकै धेरै सञ्चित गर्ने प्रवृत्ति छ, यसले अलि अभावजस्तो देखाएको हो।’ उनले हल्लाको पछि लागेर आवश्यकताभन्दा बढी सञ्चित नगर्न उपभोक्तासँग आग्रह गरे।

‘चिनी र खाद्यान्नको अवस्था पनि व्यवस्थित छ, हामी आज भोलिमा नै उपत्यकाको पाँच ठाउँमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङले पसलहरू खोल्दैछन्। आपूर्तिका गुनासा आउनसाथ सम्बोधन गर्न संयन्त्र व्यवस्थित गर्दैछौं,’ मन्त्री भट्टले भने, ‘उपत्यकाबाहिर समस्या के छ भनेर हामीले २२ जिल्लामा अध्ययन गरेका थियौं, त्यति ठूलो समस्या देखिएको छैन।’

यसैगरी, पेट्रोलियम पदार्थको आपूर्तिमा कुनै समस्या नरहेको उनले प्रस्ट पारे। ‘पेट्रोल, मट्टितेल, डिजेल आपूर्तिमा कुनै समस्या छैन। केही प्राविधिक समस्याले गर्दा मात्र चाप परेको हो,’ मन्त्री भट्टले भने, ‘केही ग्याँस उद्योगीहरूमा समस्या देखिएको छ, हामीले ती उद्यागीलाई एक-दुई दिनभित्र समाधान गर्नुस्, हैन भने अन्य कदम चाल्छौं भनेका छौं।’

Facebook Comments