जोखिमको अवस्था विश्लेषणपछि सबै परीक्षा स्थगित : शिक्षामन्त्री


शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले काेराेना भाइरस (कोभिड-१९) को सङ्‍क्रमणको पछिल्लो अवस्थाको समग्र विश्लेषण गरेर माध्यमिक शिक्षा परीक्षा (एसइई) र विभिन्न विश्वविद्यालयका पूर्वनिर्धारित परीक्षा स्थगनको निर्णय भएको बताएका छन्।

विश्वस्वास्थ्य सङ्‍गठनको विश्वव्यापी मूल्याङ्‍कन र नेपालको स्थितिलाई हेरेर स्थगित परीक्षाको नयाँ कार्यतालिका चाँडै सार्वजनिक हुने उल्लेख गर्दै उनले उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल संयोजकत्वमा रहेको कोभिड-१९ सङ्‍क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको आजको बैठकले सो निर्णय गरेको उल्लेख गरे।

उपप्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्थितिको जानकारी गराएपछि प्रधानमन्त्री ओलीको निर्देशनमा परीक्षा स्थगनको निर्णय भएको हो। समितिको निर्णयपछि शिक्षा मन्त्रालयका उच्च अधिकारी र सम्बन्धित पदाधिकारीको बैठकले सम्बन्धित सबैमा आधिकारिक सूचना प्रवाह गर्ने निर्णय गरेको थियो। उच्चस्तरीय समितिले निर्णय गरे पनि परीक्षा बोर्डको बैठकले औपचारिक निर्णय गर्नुपर्ने व्यवस्था भएकाले आधिकारिक सूचना प्रवाहमा ढिलाइ भएको मन्त्रालयका अधिकारीले जनाएका छन्।

उक्त समितिले सङ्‍क्रमणको जोखिम बढ्दै गएको सन्दर्भमा २५ जनाभन्दा बढीको जमघट नगर्ने, विदेशबाट भाइरस आउन नदिन विभिन्न निर्णय गर्दै सबै प्रकारका गतिविधि रोक्ने र विशेष सतर्कता अपनाउने निर्णय गरेकाले परीक्षाका कार्यतालिका स्वभाविकरुपमा प्रभावित हुन पुगेको मन्त्री पोखरेलले स्पष्ट गरे।

Facebook Comments