अमेरिकाको क्यालिफोर्निया राज्यले सबैलाई घरमै बस्न निर्देशनात्मक आदेश जारी गरेको छ। अमेरिकाको ५० राज्यमध्ये सबैभन्दा धेरै जनसंख्या भएको क्यालिफोर्नियाले अत्यावश्यक अवस्थाबाहेक घरबाहिर ननिस्कन आदेश दिएको हो। क्यालिफोर्नियामा ३ करोड ९० लाखभन्दा बढी मानिसको बसोबास छ।

निर्देशनात्मक आदेश जारी गर्दै क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्युसमले सबैलाई महामारीको अवधिभर घरबाहिर ननिस्कन भनेका हुन्। यसअघि उनले आगामी दुई महिनाभित्र क्यालिफोर्नियाका आधाभन्दा बढी जनतामा कोभिड–१९ को संक्रमण हुन सक्ने भन्दै चेतावनी जारी गरेका थिए। ‘यो समय कडा निर्णय लिने बेला हो। हामीले वास्तविकता पहिचान गर्नैपर्छ,’ बिहीबार निर्देशनात्मक आदेश जारी गर्दै न्युसमले बताए।

घरमै बस्न भनिए पनि नजिकैको पसलमा अत्यावश्यक सामान वा औषधि किन्न वा कुकुर डुलाउन वा व्यायाम गर्नमा भने रोक लगाइएको छैन। सार्वजनिक कार्यक्रममा भने रोक लगाइएको छ। बैंक, पसल, फार्मेसी र पेट्रोल स्टेसन पनि सञ्चालनमा रहने गभर्नर न्युसमले बताएका छन्। प्रत्येक चौथो दिन राज्यभित्रका केही क्षेत्रमा संक्रमित संख्या दोब्बर भइरहेको यर्थाथताका कारण कडा कदम चालिएको उनको भनाइ छ। कोभिड–१९ लाई लिएर कडा कदम चाल्ने क्यालिफोर्निया पहिलो राज्य बनेको छ। यसअघि नेभादाले अत्यावश्यकबाहेकका क्षेत्र ३० दिनका लागि बन्द गर्ने घोषणा गरेको थियो।

अमेरिकामा हालसम्म १४ हजारभन्दा बढीमा भाइरस संक्रमण पुष्टि भइसकेको छ भने मृतक संख्या २ सय ५ पुगेको छ। क्यालिफोर्नियामा मात्र १ हजारको हाराहारीमा संक्रमित पुष्टि भएका छन् भने १९ जनाको मृत्यु भएको छ। क्यालिफोर्नियाजस्तै न्युयोर्क र वासिङ्टन पनि अति प्रभावित छ भने सबै ५० राज्यमै संक्रमण पुष्टि भइसकेको छ।
- संक्रमण र मृत्युदर बढ्दै गएपछि राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले बिहीबारबाटै सबै अमेरिकीलाई विदेश यात्रामा रोक लगाइसकेको छ। यसअघि उसले युरोपबाट अमेरिकामा हुने सबै उडान रोकेको थियो।राष्ट्रपति ट्रम्पले विदेशमा फसेका सबै अमेरिकी नागरिकलाई फिर्ता ल्याउन सेनासँग मिलेर काम भइरहेको बताएका छन्। संक्रमित दर बढ्दै गएपछि उनले शुक्रबारै छिमेकी मेक्सिकोसँगको सिमानाका पनि अस्थायी रूपमा बन्द गर्ने तयारी गरेको ह्वाइटहाउसले जनाएको छ। ह्वाइटहाउसले नै अमेरिकामा हुने यस वर्षको विश्वका ७ शक्तिशाली अर्थतन्त्र भएका राष्ट्रको समूह ‘जी–सेभेन’ नेताको बैठक स्थगन गरेको छ। अब उनीहरुबीच भिडियो कन्फरेन्समार्फत बैठक हुनेछ।
तपाइको प्रतिक्रिया (Facebook )
Latest posts by लन्डन काठमाडौँ (see all)
- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021