कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न स्थानीय तहले गाउँगाउँमा सचेतना कार्यक्रम सुरू

 

धादिङ । कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न स्थानीय तहले गाउँगाउँमा सचेतना कार्यक्रम सुरू गरेका छन् ।

अभियानका क्रममा धादिङको नेत्रावती गाउँपालिकाले सर्वसाधारणको उपस्थिति धेरै हुने ठाउँको पहिचान गर्दै पालिकाभित्र १३ वटा स्थानमा साबुनसहितको धारा राखेर हात धुने व्यवस्था मिलाएको जनाएको छ । गाउँपालिका कार्यालय, पाँचवटा वडा कार्यालय, तीनवटा स्वास्थ्य संस्था र चारवटा सामुदायिक स्वास्थ्य एकाइमा गरी १३ वटा स्थानमा धाराका साथै साबुन र सेनिटाइजरसमेत राखिएको स्वास्थ्य शाखाका प्रमुख कृष्णबहादुर पौडेलले जानकारी दिए ।

जिल्लाको सदरमुकाममा रहेको नीलकण्ठ नगरपालिकाले पनि कार्यालयमा प्रवेश गर्नुअघि अनिवार्य सफा पानीले हात धुने व्यवस्था मिलाएको छ । त्यसैगरी, धुनिबेँसी नगरपालिका, थांक्रे, गल्छी, गजुरी, बेनिघाट रोराङलगायतका गाउँपालिकामा पनि जनचेतना अभियान सुरू भएको जनाइएको छ । अधिकांश पालिकाले कार्यालय प्रवेश गर्नुअघि कर्मचारी र सेवाग्राही सबैलाई सेनिटाइजरको प्रयोगलाई अनिवार्य गराएका छन् । यसैगरी पोस्टर, पर्चाका साथै रेडियोमार्फत पनि जनचेतनामूलक सूचनाहरु प्रचार गरिरहेका छन् ।

Facebook Comments