भीड कम गर्नुस्, सेल्फ आइसोलेसनमा बस्नुस्’

 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट बच्ने मुख्य उपाय भीडभाड कम गर्नु रहेको विज्ञहरुले बताउने गरेका छन्। विश्व स्वास्थ्य संगठन तथा विभिन्न जनस्वास्थ्य विज्ञहरूले भीडभाड कम गरे भाइरसको जोखिमबाट बच्न धेरै मद्दत पुग्नेमा जोड दिइरहेका छन्।

जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डेले भीडभाड कम गरे कोरोना संक्रमणको जोखिम निकै कम हुन्छ । ‘विश्व स्वास्थ्य संगठनले पनि त्यही कुरा भनिरहेको छ,’ उनले भने, ‘हामी पनि त्यही भन्छौं, सकेसम्म भीडभाड नगरेमा यसको जोखिम कम हुन्छ ।’

डा. पाण्डे अहिलेको समयमा सरकारले अधिकांश निकायलाई बन्द गर्ने निर्देशन दिएको हुँदा सकेसम्म घरभित्रै बसेमा संक्रमणको जोखिम धेरै मात्रामा कम हुने बताउँछन्। ‘सेल्फ आइसोलेसनमा बस्नुस्,’ उनले भने, ‘घरबाट बाहिर नगई नहुने जरुरी काम भएकाले मात्रै निस्किँदा हुन्छ। सेल्फ आइसोलेसनमा बसियो भने संक्रमण आफूलाई सर्ने जोखिम पनि हुँदैन, यदि सरिसकेको छ भने पनि आइसोलेसन अवधिमा देखिन्छ।’

आइसोलेसन अवधिमा हुँदा अन्यसँग सम्पर्कमा नआइने भएकाले पनि संक्रमण भएर पनि लक्षण नदेखिएका व्यक्तिबाट अन्यमा भाइरस सर्ने जोखिम निकै कम हुने उनी बताउँछन्।

सरकारले सबै नागरिकलाई आफ्नो घरभन्दा बाहिर निस्किन बन्देज लगाउन आवश्यक रहेको पाण्डे बताउँछन्। ‘लकडाउन गरेर आइसोलेसनमा बस्न आदेश दिनुपर्छ,’ उनले भने, ‘त्यसो गरे मान्छे मान्छे बीचमा सम्पर्क हुन पाउँदैन। कोही व्यक्ति आइसोलेसनमा हुँदा उसलाई संक्रमण भए नभएको निश्चित समयमा देखिन्छ। अवस्था सामान्य नै हो भने सोही अनुसारको लक्षण देखिन्छ, गम्भीर भए गम्भीर लक्षण देखिन्छ। यो कुरामा सरकारले ध्यान दिन आवश्यक छ।’

संक्रमणको जोखिम भएका कारण विश्व स्वास्थ्य संगठनले सामाजिक दूरी निर्धारण गर्न भन्दै सूचना प्रवाह गरिरहेको छ। नेपाल सरकारले पनि शुक्रबारबाट अत्यावश्यक बाहेकका सबै सुविधालाई बन्द गर्ने घोषणा गरेको छ। यससँगै चैत १० गतेदेखि लामो दूरीका यात्रुबाहक सवारी नचल्ने घोषणा गरेको छ। यस्तो बेला काठमाडौं उपत्यकाबाट निकै मानिसहरू बाहिरिरहेका छन्।

‘काठमाडौंबाट मान्छे बाहिरिनु ठीक छ,’ डा. पाण्डे भन्छन्, ‘अहिलेसम्म यहाँ संक्रमण देखिएको छैन। उनीहरु आ–आफ्नो जिल्ला गएमा काठमाडौंको आधाभन्दा बढी भीड कम हुन्छ। भीडमा यो भाइरस फैलिने जोखिम ज्यादा हुने हुँदा काठमाडौंबाट मान्छे बाहिरिएपछि केही मात्रामा भए पनि जोखिम कम हुन्छ ।’

Facebook Comments