कोरोनाबाट बच्‍न कर्णालीमा उच्च सतर्कता, हजार क्वारेन्टाइन र हेलिकप्टर

 


कोरोना भाइरस (कोभिड–१९)को सम्भावित जोखिमबाट बच्नका लागि कर्णाली प्रदेश सरकारले उच्च सतर्कता अपनाएको छ। त्यसका लागि एक हजार क्वारेन्टाइन स्थापनाको काम अगाडि बढाइएको छ।

प्रदेशका हिमाली तथा पहाडी जिल्लामा कोरोनाको कारण कुनै बिरामीलाई तत्काल उद्धार गर्नुपर्ने अवस्था आएमा हेलिकोप्टर प्रयोग गर्ने सरकारको तयारी छ। जुनसुकै अवस्थामा उद्धारका लागि हेलिकोप्टर तयारी अवस्थामा राखिने बताइएको छ।

कोरोना भाइरसको प्रतिकार्य गर्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा १ हजार क्वारेन्टाइन निर्माण कार्य गर्न थालेको छ। शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सम्पन्न प्रदेश विपद् व्यवस्थापन परिषद् र कर्णाली प्रदेश विपद् व्यवस्थापन कार्यान्वयन समितिको संयुक्त बैठकले क्वारेन्टाइन स्थापनाको निर्णय र विपद् व्यवस्थापनका लागि ५० करोडको कोष तयारी गरी सोही कोषबाट खर्च व्यवस्था मिलाउने निर्णय गरेको थियो।

Facebook Comments