कोभिड १९ र क्यानाडा

ध्रुब श्रेष्ठ
लगभग नौं वर्षको क्यानाडा बसाइमा जीन्दगी यती निस्सार झर्कोलाग्दो र विवश कहिल्यै लागेको थिएन । संधै चमकदमकले भरिएको संधै सुखी र सम्पन्न देशहरुको सुचीमा अग्रस्थानमा आउने क्यानाडा कोरोना भाइरसको कहरले यति चांडै चैत वैशाखमा भर्खर रोपेको विरुवा झैं गलेर जाला भनेर कल्पना सम्म कसैले गरेको थिएन । वास्तवमा क्यानडा लगायत पश्चिमा देशहरुको शान, शौकत र वैभता वसन्त क्रृतुको आगमन संगै हिंउ झैं पग्लिदैं गएकाछन् यो कोभिड १९ को प्रहारले ।
आधिकारीक रुपमा चिनले प्रथम पटक गत डिसेम्बर ३१ मा आफ्नो देशको हुवेई प्रान्तको वुहान शहरमा निमोनियासंग मिल्दोजु्ल्दो लक्षण भएको ४१ जना भन्दा बढी विरामीहरु एकसाथ देखिएको जानकारी विश्व स्वास्थ्य संगठनलाई गराए संगै जनसाधारणको भाषामा कोरोना भाइरस भनिने एक किसिमको नयां भाइरसको संक्रमण सतहमा आयो । यो पंक्ति लेखिंदासम्म कोभिड १९ को कारणले चिनमा मात्रै ३२६१ जनाको मृत्यु भैसकेको छ भने ८१०५४ जनामा यो संक्रमण देखिएको थियो । त्यस्तै चिनमा ७२४४० जना यो रोग लागेर उपचार पश्चात ठिक भएको दावी गरिएको छ । चिनले आफुले कोरोना भाइरसको संक्रमण माथि नियन्त्रण गरिसकेको र नयां संक्रमण न्यून रहेको भनि दाबि गरिरहेको अवस्थानमा पश्चिमा विकसित मुलुकहरु संयुक्त राज्य अमेरिका, क्यानडा, फ्रान्स, स्पेन, बेलायत लगायत एसियाली मुलुकहरु जापान, कोरिया, इरानमा यस भाइरसको कारणले ज्यान गुमाउनेहरुको संख्या बढ्दो क्रममा छ । पश्चिमा मुलुकहरु मध्ये हाल इटली सबैभन्दा बढी पिडित छ भने संयुक्त राज्य अमेरिकामा संक्रमितहरुको दर उच्च स्तरमा बढ्ने प्रक्षेपण गरिएको छ ।
गत जनवरी २८, २०२० मा ब्रितिस कोलम्बिया राज्यको भ्यानकुभरमा प्रथम संस्कापद विरामी भेटिए यता क्यानडामा कोरोना भाइरस संक्रमितको संख्या सुख्खा वनमा लागेको डढेलो सरी फैलिएको छ र क्यानडाको नुनभुत राज्य बाहेक सम्पूर्ण राज्यहरुमा संक्रमितको संख्या देखिएको छ । एक महिना अघि सम्म नचिने पनि हांस्ने, मु्स्काउने, अंकमाल नै गर्न आउलानकी भन्ने जस्ता क्यानाडेली जनताहरु आजकल भाइरस सर्लाकी भन्ने डरले एकाँकी भएका छन्, टाढा टाढा भएका छन् र एकअर्कासंग छोईन्छकी भन्ने डरले टाढै बस्न रुचाउन्छन् । ’सामाजिक दुरी’ एउटा नयां नियम र संस्कृति बनेको छ । रातदिन दोहोरीलत्त सवारी साधनले भरिने सडक सुनसान छन्, हरेक दिन खचाखच भरिने रेल र बसहरु खाली खाली छन् र किनमेल गर्नेको घुईचोले सदा भरि भराउ रहने सपिड. सेन्टर, मल र वालमार्ट, रियल क्यानेडियन, सुपर स्टोर, कस्को, सेफवे, सोविज जस्ता स्टोरहरु यिनीहरुका खाली पारिएका आईल्स झै रित्ता रित्ता भएका छन । बजारमा टोईलेट पेपर, हयान्ड सेनिटाईजर लगायत सरसफाई सम्बन्धि सामानहरुको अभाव प्रगाढ रुपमा देखिएको छ । कति ठाउंमा त टोईलेट पेपर खरिदका लागि ग्राहकहरु विच हात हालाहालको स्थिति सम्म सृजना भएको छ भने कति स्टोरहरुले सामान खरिदमा ग्राहकह्रुला्ई हदबन्दि तोकिदिएका छन् ।
विश्वविध्यालय देखि प्राथमिक तहका विध्यालयहरु बन्द गरिएका छन् । शिशु स्याहार केन्द्रहरु बन्द छन् । लाखौं विद्यार्थीहरु र अन्य बालबालिकाहरु घरैमा बस्न बाध्य छन् भने विश्व विद्यालय, कलेज र विद्यालयहरु दूर शिक्षा अर्थात अनलाईन पठनपाठनको तयारीमा जुटेका छन् ।
क्यानडामा यो पंक्ति तयार गर्दा सम्म २०९१  जनामा संक्रमण देखिएको छ भने ३२०  जना संक्रमण पश्चात निको भएका छन् र २४ जनाको मृत्यु भैसकेको छ । सर्वसाधारण देखि क्यानडाका प्रधानमन्त्रि जस्टिन त्रुडोकी पत्नि सोफि त्रुडो सम्म कोरोना भाइरसबाट संक्रमित भएकी छन् । हालसम्म विश्वका १९२ देशमा देखिएको कोरोना भाइरसको संक्रमणबाट गत मार्च ९ मा क्यानडामा पहिलो मृत्यु भए यता क्यानडाको केन्द्र सरकार लगायत राज्य सरकारहरुले जनतालाई आश्वास्त पार्न राहतका विभिन्न प्याकेजहरु अगाडी सारेका छन् । हालै केन्द्र सरकारले ८२ मिलियन डलर बराबरको राहत प्याकेज जन समक्ष अगाडी सारेको छ । त्यस्तै कोरोना भाइरसका कारण स्वयंम एकान्तवास वा विरामीको रेखदेखका कारणले आफ्नो नियमित कामबाट विदा लिई बस्नुपर्ने कामदार कर्मचारीहरुको लागि रोजगार ईन्सुरेन्स अन्तर्गत दावी भुक्तानीको व्यवस्था गरेको छ । साथै, चाईल्ड बेनीफिटमा प्रत्येक बालबालिकाको भागमा ३०० डलर थप गरिएको छ । रोजगारदाता तथा साना व्यवसायीहरुले आफ्ना कर्मचारीहरुलाई तलब उपलब्ध गराउन सकिरहुन भनेर २५,०००। डलर सम्मको रकम उपलब्ध गराएको छ । रोजगार ईन्सुरेन्सका लागि योग्य नभएका तर कोभिड १९ का कारण क्वारेन्टाईनमा बस्नुपरेका वा विध्यालय अथवा शिशु श्याहार केन्द्रहरु बन्द भएका कारण बालबालिकाहरुसंग घरैमा बस्न बाध्य भएकाहरुका लागि दुई हप्तामा एक पटक ९०० डलर प्रँप्त गर्न सक्ने व्यवस्था मिलाएको छ । त्यस्तै राज्यसरकारहरुले पनि विभिन्न राहतका कार्यक्रमहरु अगाडी ल्याएका छन् । अल्वर्टा राज्य सरकारले क्वारेन्टाईनमा बस्न बाध्य भएकाहरुको लागि एकमुस्ठ १४४६ डलर भुक्तानी गर्ने व्यवस्था गरेको छ जुन रकम केन्द्रिय सरकारको राहत रकम नआइपुगुन्जेल सम्मको लागि अस्थाई राहत हुने छ । त्यस्तै एडमन्टन नगरपालिकाले स्थानीय शहरमा चल्ने नगर बस र नगर रेलमा सवारी निशुल्क बनाईएको छ भने सम्पत्ति करमा केही समय छुट दिने घोषणा गरिएको छ । सरकारी राहतका साथै नीजि संघ संस्थाहरु पनि राहत कार्यक्रमका साथ अगाडी आएका छन् । क्यानडाका ६ वटा ठूला बैंकहरुले घर धनीहरुको घर खरिद वापतको क्रृण ६ महिनासम्म नलिने घोषणा गरेका छन् भने विजुली, पानी, ग्यांस उपलब्ध गराउने कम्पनीहरुले ३ महिनासम्मको शुल्क निर्ब्याजी रुपमा पछि तिर्न पाउने गरी शुल्क हाललाई मिनाहा गरेका छन् ।
कोभिड १९ को सकारात्मक पाटो
कोरोना भाइरसको संक्रमणले सबैभन्दा बढी बालबालिकाहरु लाभान्वित भएका छन् । दैनिक विद्यालय जाने र पठनपाठनको तनावबाट मुक्त भएकाछन् । बालबालिका लगायत केही जागिरेहरु पनि कामको तनाबबाट केही मुक्त भएका छन् ।  टेलेकम्यूटर्स अर्थात घरबाटै कार्यालयको काम गर्नेहरुको संख्या बढ्दो छ धेरै संघसंस्था र कम्पनिहरुले आफ्ना कर्मचारीहरुलाई घरबाट नै काम गर्न पाउने सुविधा दिएका छन् जसले गर्दा विहानै झिसमिसेमा नै आंखा मिच्दै शिशुश्याहारकेन्द्र जान बाध्य बालबालिकाहरु दिनभर बाबु आमासंगै बस्न पाउंदा दंग छन् । श्रीमान श्रीमतीसंगै बस्न वा संगै खानको लागि सप्ताहन्त कुर्नुपर्ने क्यानेडियन जिवनसैलीमा एक दिन होईन दुई दिन होईन दुई हप्तासम्म संगै बस्न पाउने अवस्था ल्याईदिएको छ कोभिड १९ ले । सामाजिक दुरी कायम गर्नुपर्ने अवस्था हुंदाहुंदै पनि भावनात्मक रुपमा सबैलाई नजिक ल्याईदिएको छ । प्रधानमन्त्रि जस्तिन त्रुडोले आव्हन गरे झैं सम्पुर्ण क्यानेडेलीहरु एक ढिक्का भएर ’टिम क्यानडा’ को रुपमा कोरोना भाइरसको विरुद्द लड्न एकजुट भएका छन् । त्यस्तै कोरोना भाईरसले विश्वलाई नै एक ठाउंमा उभ्याईदिएको छ । यो विश्व नै एउटा गाउं हो भन्ने कुरा थप पुष्टि भएको छ ।
आजको दिनसम्म कोरोना भाइरसको औषधी वा खोप पत्ता नलगाईसकेको भएता पनि नियमित हात धुने, खाना खानु अघि, नांक, मुख, आंखा छुनु अघि हात धुने र रोगको लक्षण देखिए पछि वा रोगीको सम्पर्कमा आए पछि कम्तिमा १४ दिन सम्म एकान्तवास गर्नाले यो रोग फैलनबाट रोक्न सकिन्छ भन्ने विज्ञहरुको धारणा छ ।
आउनुहोस सबैले आ आफ्नो तहबाट जिम्मेवारी पुरागरौं । आफु पनि बचौं र अरुलाई पनि बचाऔं ।
(पंक्तीकार अल्बर्टा  राज्यको एडमन्टन शहरका बासिन्दा हुन)
Facebook Comments