कतार हुँदै नेपाल आएका चितवनका छ जनाको खोजी गदै प्रहरी

भरतपुर । यही चैत ४ गते फ्रान्सबाट कतार हुँदै कतार एयरलायन्सको विमानबाट नेपाल आएकी एक १९ वर्षीया युवतीलाई संक्रमणको आशंकामा टेकु अस्पतालमा चेकजाँच गर्दा कोरोना भाइरसको संक्रमण देखा परेपछि हाल आइसोलेसनमा उपचार गराइरहेको छ।

सोही विमानबाट नेपाल फर्किएका अन्य यात्रुमा पनि कोरोना फैलिने सम्भावना भएकाले चितवनमा आएका जोखिममा रहेका छ जनालाई पनि चितवन प्रहरीले खोजी गरेको जनाएको छ ।

प्रहरी प्रधान कार्यालयको केन्द्रीय हेल्थ डेक्सको निर्देशनअनुसार निजहरुलाई खोजी गरी क्वारेन्टाइनमा निगरानीमा राख्न नामसहित जिल्ला प्रशासन कार्यालयलाई अनुरोध गरिएको चितवन प्रहरी कार्यालय, विशेष शाखाका प्रहरी निरीक्षक देवराज शर्माले जानकारी दिए ।

कतार एयरलायन्सको विमानबाट चितवनमा आएकाहरुमा दीक्षा कँडेल, शम्भु नेपाली, पार्वती नेपाली, बुद्धिराज कोइराला, सञ्जु कँडेल कोइराला र सुरेश गुरुङ रहेका छन् ।

प्रहरीले निजहरुको नागरिकतालगायत परिचय खुल्ने कागजात हेरी अविलम्ब विवरण खुलाई पठाउन प्रशासनसँग आग्रह गरेको छ । प्रहरीले मातहतका सबै प्रहरी कार्यालयमार्फत् निजहरुको खोजी गर्ने जनाएको छ ।

Facebook Comments