हामी सबैले इटलीबाट पाठ सिक्नु पर्छ।

तीन साताअघि रेन्जो कार्लो टेस्टाको उत्तरी इटलीको बेर्गामो शहरस्थित एक अस्पतालमा कोरोना भाइरसबाट मृत्यु भयो।उनी ८५ वर्षका थिए। पाँच दिनपछि उनको शव समाधिस्थ गरियो।

५० वर्षअघि उनीसँग बिहे गरेकी फ्रांका स्टेफानेली विधि पुर्‍याएर पतिको अन्त्येष्टि गर्न चाहन्थिन्। तर, इटालीमा अहिले परम्परागत अन्त्येष्टि गैरकानुनी बनिसकेको छ। त्यो अन्त्येष्टिमा स्टेफानेली र उनका छोराहरू सहभागी हुन सकेनन्। किनभने, उनीहरू आफैँ बिरामी छन् र क्वारेन्टिनमा राखिएका छन्।

‘अचम्म लाग्छ,’ ७० वर्षीया स्टेफानेली भन्छिन्, ‘मलाई रिस उठेको छैन। भाइरसका अगाडि कमजोर, निकम्माजस्तो महसुस भएको छ।’

इटालीमा यतिखेर दुःख नबेहोर्ने कोही छैन।देश ठप्प छ।हालसम्म २३ जना स्वास्थ्यकर्मीले बिरामीको उपचार गर्दागर्दै ज्यान गुमाएका छन्। एकैदिन सयौँको मृत्यु भइरहेको छ। अस्पतालमा लाशको थुप्रो लागेको छ। बेर्गामो प्रान्तका मेयर जर्जियो गोरीले स्थानीय चिहान नै बन्द गर्ने घोषणा गरे। यस्तो घटना दोस्रो विश्वयुद्धपछि पहिलो पटक भएको हो।

भाइरस रोक्न सरकारले पहिलेजस्तो अन्त्येष्टि समारोहमा रोक लगाएको छ।सीमित आफन्तमाझ पादरीलाई प्रार्थना पढ्न मात्र अनुमति दिइएको छ।

मर्नेहरू पनि अस्पतालमा एक्लै मरिरहेका छन्।आफन्तलाई बिरामीको नजिक जान दिने कुरै भएन। त्यसैले अन्तिम अवस्थामा पुगेकाले परिवारसँग बिदा माग्न सकून् भनेर उत्तरी शहर बे्रसियाका स्थानीय संघसंस्थाले बिरामीका लागि ट्याबलेट किनेर वितरण गरिरहेका छन्।

टेस्टाको मृत्युको सूचना एक स्थानीय पत्रिकामा छापिएको थियो।प्रायः पत्रिकाले मृत्युको सूचनामा एउटा पृष्ठ छुट्याएका हुन्छन्। तर, त्यो दिन १० पृष्ठमा मृतक सूची छापिएको थियो।

‘हाम्रा लागि यो भयंकर पीडाको विषय हो,’ सो पत्रिकाका सम्पादक अल्बर्टो सेरेसोली भन्छन्, ‘यी मानिसहरू एक्लै मरिरहेका छन् र उनीहरूलाई एक्लै सद्गति गरिँदै छ।’

इटालीमा यति धेरै किन मरे ?

फेब्रुअरी २८ को दिन। इटालीमा कोरोना भाइरसबाट संक्रमित हुनेहरूको संख्या ४ सय नाघिसकेको थियो। ज्यान गुमाउनेको संख्या पनि दोहोरो अंकमा पुगिसकेको थियो। तर, सत्तारुढ डेमोक्रेटिक पार्टीका नेता निकोला जिंगारेती भने मिलानमा मदिराको गिलास चियर्स गर्दै मानिसहरूलाई आग्रह गरिरहेका थिए, ‘तपाईंहरू आफ्नो बानी परिवर्तन नगर्नुहोला।’

त्यसको १० दिन नबित्दै इटलीमा झण्डै छ हजार संक्रमित भए भने २ सय ३३ को मृत्यु भयो। जिंगारेतीले पनि सामाजिक सञ्जालमा अर्को भिडियो पोस्ट गरे। जसमा उनले आफूलाई पनि कोरोना भाइरसको संक्रमण भएको सूचित गरेका थिए।

मार्च २३ सम्ममा इटलीमा ६३ हजार ९ सय २७ संक्रमित भएका छन् भने ज्यान गुमाउनेको संख्या ६ हजार ७७ पुगिसकेको छ।आइतबार मात्र ७ सय ९३ जनाले ज्यान गुमाएका छन्। त्यसयताका दुई दिन मृतक संख्या थोरैले घटेको छ।सबैभन्दा धेरैको ज्यान गएपछि यो महामारीको मुख्य केन्द्र इटाली बन्न पुगेको छ। हाल पूरै देश ठप्प पारिएको छ। जसको निगरानी र स्थानीय सरकारलाई सघाउन सेना परिचालन गरिएको छ।

इटालीको दुःखान्त यतिबेला उसका युरोपेली छिमेकी, अमेरिका र सारा संसारलाई नै गतिलो पाठ बन्न सक्छ। अन्यत्र पनि उस्तै वेगमा भाइरस फैलिरहेको छ। यदि इटालीको अनुभवले केही भन्छ भने त्यो हो, संक्रमित व्यक्ति र प्रभावित क्षेत्रलाई अलग्याउने, लकडाउन गर्नेजस्ता उपाय एकदमै चाँडो र कडाइपूर्वक लागू गर्नुपर्छ। अन्यथा, परिणाम भयावह हुन सक्छ।

अहिले महामारी रोक्न इटालीमा संसारकै कडा कदमहरू चालिएका छन्। तर, यो महाव्याधिको सुरुवातमा अधिकारीहरू यस्ता कदम उठाउन निकै हिच्किचाएका थिए। त्यतिबेला उनीहरू आधारभूत नागरिक स्वतन्त्रता र अर्थतन्त्रको संरक्षण गर्नुपर्छ भन्दै उफ्रिने गरेका थिए।

सबैभन्दा पहिले इटालीले शहरहरूलाई अन्य क्षेत्रबाट अलग गर्‍यो, त्यस देशको एकएक हिस्सा र अहिले पूरै देश ठप्प पारेको छ। तर, सरकारले उठाएका यी कदम भाइरसको घातक फैलावटभन्दा सधैँ पछाडि रह्यो।

‘अहिले त हामी यसलाई पछ्याइरहेका छौँ,’ स्वास्थ्य मन्त्रालयकी उपसचिव सान्ड्रा जाम्पा भन्छिन्, ‘हामीले बिस्तारै र पालैपालो ती कदम उठायौँ। फ्रान्स, स्पेन, जर्मनी र अमेरिका अहिले त्यसै गरिरहेका छन्।’ केही अधिकारीहरू चमत्कार भएर भाइरस रोकिनेमा विश्वस्त थिए। त्यसैले उनीहरूले पीडादायी निर्णय बेलैमा लिन सकेनन्। त्यो अकर्मण्यताको फाइदा भाइरसले उठायो।

अन्य मुलुकका सरकारले पनि अहिले त्यही गल्ती दोहोर्‍याएर, त्यही विपत्ति निम्त्याउने खतरा छ।अहिले इटालीका अधिकारीहरू वैज्ञानिकको सल्लाहअनुसार नै आफूहरूले भाइरसविरुद्ध कदम चालेको दाबी गरिरहेका छन्।सरकारले तीव्र गतिमा काम गरेको उनीहरूको भनाइ छ। तर, तिनका गतिविधि राम्ररी नियाल्ने हो भने इटालीले अवसर गुमाएको र भयंकर भूल गरेको देख्न सकिन्छ।

महामारीका सुरुवाती दिनमा प्रधानमन्त्री जुसेपे कोन्टे र अन्य उच्च अधिकारीहरूले ठूलो जोखिम छैन भनेर खतरालाई कम आँक्ने प्रयास गरिरहे।जसले दुविधा र सुरक्षाको झुटो भाव पैदा गरिरह्यो।

बढीभन्दा बढी मानिसको परीक्षण गर्नुपर्ने आग्रहलाई पनि उनीहरूले टारे। बहाना थियो, लक्षणबिनाका संक्रमित यति धेरै छन्, सबैको परीक्षण गर्न सकिन्न। यसले अन्ततः देशको छवि नै धमिलो बनायो।

पूरै देश लकडाउन गर्ने निर्णय गरिसकेपछि पनि सरकारले महामारी कति खतरनाक छ भनेर जनतालाई बुझाउन सकेन।त्यसैले इटालीका नागरिक लकडाउन तोडेर बाहिर निस्किरहे, भाइरस अझ तीव्र गतिमा फैलाइरहे।

‘उदारवादी लोकतन्त्रमा लकडाउन गर्न सजिलो छैन,’ विश्व स्वास्थ्य संगठनका बोर्ड सदस्य तथा स्वास्थ्य मन्त्रालयका सल्लाहकार वाल्टर रिकार्डी भन्छन्, ‘हुन त इटालीले अन्य युरोपेली मुलुक र अमेरिकाको तुलनामा झट्टै कदम चालेको हो र खतरालाई पनि गम्भीरतापूर्वक लिएको हो।’

तैपनि, स्वास्थ्यमन्त्रीले अन्य मन्त्रीलाई तुरुन्त लकडाउनमा जान आवश्यक छ भनेर विश्वस्त तुल्याउन निकै संघर्ष गर्नुपरेको उनी स्विकार्छन्।‘महामारी, युद्धजस्तो समयमा यहाँको शासन व्यवस्थाले तत्काल निर्णय लागू गराउन अप्ठेरो पारेको छ,’ उनी भन्छन्, ‘मेरो वशमा हुन्थ्यो भने यी कदम १० दिन अगावै चालिसक्थेँ।’

रोक्न सकिन्थ्यो यो महामारी

कोरोना भाइरसका लागि १० दिन निकै लामो अवधि हो।

जनवरी २१ मा चिनियाँ अधिकारीहरूले चेतावनी दिए, ‘जो भाइरस लुकाएर बसेका छन्, ती मानिस सदाका लागि लज्जाले छोपिनेछन्।’ तर, त्यही दिन इटालीका संस्कृति तथा पर्यटन मन्त्रीले एउटा चिनियाँ प्रतिनिधिमण्डललाई स्वागत गरे। उनले इटाली–चीन संस्कृति तथा पर्यटन वर्षको उद्घाटन पनि गरे।

इटाली सरकारका पूर्वसहसचिव मिसेले गेराची पनि सो समारोहमा उपस्थित थिए। उनले अन्य नेताहरूसँग बसेर वाइन पिए तर उनलाई असजिलो लागिरहेको थियो।

‘यतिबेला हामी यहाँ यसरी बस्नु उचित हो त?’ उनले अरूलाई सोधे।सबैको उत्तर थियो, ‘होइन।’

अहिले पछि फर्केर हेर्दा स्वास्थ्य मन्त्रालयकी उपसचिव जाम्पा भन्छिन्, ‘उतिबेलै सबै ठप्प पार्नुपथ्र्यो।’ तर, त्यसबेला यो कुरा कसैले प्रस्ट देखेका थिएनन्।

विश्वभरका राजनीतिक नेताहरू अर्थतन्त्र र जनताको गुजाराप्रति चिन्तित देखिन्थे। महामारीको सामुन्ने तिनले आफ्नो निकम्मापनलाई स्विकार्न सकेनन्।

सबैभन्दा महŒवपूर्ण पक्ष इटालीले चीनको उदाहरणलाई राम्ररी देखेको थियो। उसले त्यहाँबाट सिक्न सक्थ्यो।‘तर, हामीले चीनलाई व्यावहारिक चेतावनीका रूपमा हेरेनौँ, बरु साइन्स फिक्सन सिनेमाजसरी हेर्‍यौँ, जसको हामीसँग कुनै सरोकार छैन,’ जाम्पा भन्छिन्, ‘र, अहिले बाँकी युरोप पनि हामीलाई त्यसरी नै हेरिरहेको छ।’

जनवरीमै केही दक्षिणपन्थी अधिकारीहरू इटालीको उत्तरी क्षेत्रका स्कुले केटाकेटीलाई क्वारेन्टिनमा राख्नुपर्ने बताइरहेका थिए। धेरैजसो ती केटाकेटी चिनियाँ आप्रवासीका सन्तान थिए, जो चीनमा छुट्टी मनाएर फर्किएका थिए। उदारवादीहरूले यस्तो प्रस्तावको विरोध गरे। तैपनि भाइरसलाई गम्भीरतापूर्वक लिइरहेको देखाउन प्रधानमन्त्री कोन्टेले जनवरी ३० मा चीनसँगको सबै उडान रद्द गरे।

‘पूर्वतयारीको यस्तो कदम चाल्ने हामी पहिलो युरोपेली मुलुक हौँ,’ उनले भने।त्यसपछिको एक महिना इटालीले भाइरस रोक्न चाँडो–चाँडो कदम चालेको देखियो। दुई बिरामी चिनियाँ पर्यटकलाई रोमको प्रसिद्ध अस्पतालमा उपचार गरियो, भाइरसको आशंकामा पानीजहाजलाई रोमबाहिरै रोक्न लगाइयो।

बिरामी नम्बर १ः जसले सयौँलाई भाइरस सारे

फेब्रुअरी १८। एक ३८ वर्षीय व्यक्ति लोम्बार्डीको लोदी प्रान्तस्थित कोदोग्नो शहरको एक अस्पतालको आकस्मिक कक्षमा पुगे।उनलाई चर्को रुघा लागेको थियो।यसबाट कोही सशंकित भएनन्।

ती बिरामी अस्पताल भर्ना हुन मानेनन् र घर गए। तर, केही घण्टामै झन् गाह्रो भएपछि उनी अस्पताल फर्किए र जनरल वार्डमा भर्ना भए। फेब्रुअरी २० मा उनलाई आईसीयूमा लगियो, जहाँ परीक्षण गर्दा कोरोना भाइरस पोजिटिभ देखियो।

ती बिरामी नम्बर १ बितेको महिना अत्यन्त व्यस्त थिए।संक्रमित भइसकेपछि नै उनी कम्तीमा तीन वटा रात्रिभोजमा सहभागी भएका थिए। फुटबल खेलेका थिए। एउटा टोलीमा उनी सहभागी थिए।

रिकार्डी भन्छन्, ‘एकदमै धेरै जनसंख्या भएको र तीव्र गतिविधि हुने क्षेत्रमा यस्ता ‘सुपर स्प्रेडर’ हुनु इटालीको दुर्भाग्य थियो।’ ती व्यक्ति दुई पटक अस्पताल गएका थिए र उनले डाक्टर र नर्ससहित सयौँ व्यक्तिलाई संक्रमित तुल्याएका थिए।

तर, उनको चिनियाँहरूसँग सीधा सम्पर्क थिएन। त्यसैले विज्ञहरू उनी अर्को युरोपेली व्यक्तिबाटै संक्रमित भएको अनुमान गर्छन्। अर्थात्, इटालीको बिरामी नम्बर शून्य (पेसेन्ट जिरो) को थियो, अझै पनि पत्ता लागेको छैन।भाइरस इटालीमा त्योभन्दा हप्तौँअगाडि फैलिइसकेको विज्ञहरू अहिले बताउँछन्। जसलाई मानिसहरूले रुघाका रूपमा लिए र कुनै चर्को लक्षण पनि देखिएको थिएन।

‘जसलाई हामी अहिले ‘बिरामी नम्बर १’ भन्छौँ, ती ‘बिरामी नम्बर २००’ पनि हुनसक्छन्,’ महामारी रोग विशेषज्ञ फाब्रिजियो प्रेग्लियास्को भन्छन्।

सुरुवाती हेलचेक्य्राइँ र मिश्रित सन्देशका कारण पूर्ण रूपमा लकडाउन गरिसकेपछि पनि संक्रमितको संख्या बढिरह्यो। यद्यपि अहिले मृतक संख्या घट्दो दरमा देखिएको छ।

लकडाउनमात्र पर्याप्त छैन

गएको पाँच दिनमा चीनमा स्थानीयरूपमा एक जना मात्र संक्रमित भएको सरकारी तथ्यांक छ। गुआङदोङ प्रान्तका ती व्यक्ति विदेशबाट फर्केका व्यक्तिबाट संक्रमित भएको बताइएको छ। चीनमा सबैभन्दा बढी प्रभावित वुहानमा भने पाँच दिनदेखि सोमबारसम्म एक जना पनि नयाँ बिरामी फेला परेका छैनन्।

एक महिनाअघि मात्र चीनमा दैनिकदुई हजारका दरले संक्रमित बढिरहेका थिए। यति छोटो समयमा संक्रमण निमिट्यान्न पार्न सक्नु चीनको लागि निकै ठूलो उपलब्धि हो।अहिले त अधिकारीहरूले वुहानमा दुई महिना लामो लकडाउन खुकुलो पार्न थालिसकेका छन्। देशका अन्य शहरमा औद्योगिक उत्पादनलाई तीव्रताका साथ बढाउन र सामान्य जीवनमा फर्किन सरकारले आह्वान गरिसकेको छ।तर, जनजीवन खुकुलो भएसँगै भाइरस फेरि फैलिने हो कि भन्ने चिन्ता पनि व्यापक रूपमा देखिन्छ।

चीनको यो सफलताको श्रेय मुख्यगरी तीन चिजलाई दिइएको छ।सामाजिक दूरी, क्वारेन्टिन र आक्रामक परीक्षण। सुरुमा चीनमा लागू गरिएको कडा लकडाउनको पश्चिमा मुलुकमा विरोध भएको थियो। तर, बिस्तारै सबै देश त्यसकै अनुकरण गर्न थालेका छन्। किनभने यसको विकल्प नै छैन। भाइरस रोक्न सामाजिक अन्तरक्रिया ठप्प हुनैपर्छ।

तर, भाइरस नियन्त्रणका लागि लकडाउन मात्र पर्याप्त नहुने चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले दिएको छ।भाइरस पत्ता लगाउन व्यापक परीक्षण आवश्यक पर्ने उसको भनाइ छ।सबैजसो मुलुक परीक्षणका लागि संघर्ष गरिरहेका छन्। यसका लागि आवश्यक किटको अभावका कारण गम्भीर लक्षण देखिएकालाई मात्रै परीक्षण गर्ने नीति तिनले लिएका छन्।

त्यस्तै लकडाउन हटेपछि फेरि भाइरस तीव्र गतिमा फैलिन सक्ने भन्दै डब्लूएचओले सार्वजनिक स्वास्थ्यका अन्य उपाय पनि अपनाउन आह्वान गरेको छ।

‘भाइरसबाट संक्रमित व्यक्ति खोजेर पत्ता लगाउन अनि तिनलाई आइसोलेट गर्न जरुरी छ,’ डब्लूएचओका आपत्कालीन व्यवस्थाका विशेषज्ञ माइक रेयान भन्छन्, ‘यदि हाम्रा सार्वजनिक स्वास्थ्य सुविधामा सुधार भएन भने लकडाउन हटेपछि भाइरस फेरि तीव्र गतिमा बढ्न सक्छ।’

वास्तवमा यो उचित चेतावनी हो। संसारकै विकसित मुलुकहरूमा पनि सार्वजनिक स्वास्थ्यको अवस्था कति भद्रगोल रहेछ भन्ने यही महामारीले पुष्टि गरिसकेको छ। सेना, क्षेप्यास्त्र र युद्धमा खर्बौं डलर खर्च गरेका अमेरिकाजस्ता महाशक्ति राष्ट्र आफ्ना नागरिकलाई केही सय डलरको स्वास्थ्य परीक्षण र उपचार गराउन सकिरहेका छैनन्, चाहिरहेका छैनन्। जसका कारण सयौँले ज्यान गुमाउनु परिरहेको छ। तसर्थ, अबको दशक नयाँ–नयाँ हतियार होइन, सार्वजनिक स्वास्थ्य र आम नागरिकको निःशुल्क स्वास्थ्य उपचारको ग्यारेन्टीमा खर्च गरिनुपर्छ भन्ने आवाज बढ्दै गएको छ।

Facebook Comments