संक्रमितसँगै आएका ३३ मै ‘कोरोना नेगेटिभ’

 

जनकपुर — फ्रान्सबाट फर्केकी १९ वर्षीया युवतीसँगै विमानमा आएका प्रदेश २ का ३३ जनामा कोभिड–१९ को संक्रमण नदेखिएको दाबी गरिएको छ ।

ती युवतीमा कोभिड–१९ देखिएपछि कतार एयरवेजमा सँगै आएकाहरूको स्वास्थ्य परीक्षण गरिएको थियो। ‘एक जनाको काठमाडौंको टेकुमा परीक्षण भइरहेको छ, अरूमा संक्रमण देखिएन,’ प्रदेश २ का प्रहरी प्रमुख डीआईजी प्रद्युम्न कार्कीले भने, ‘३३ जनालाई नै अहिले होम क्वारेन्टाइनमा राखिएको छ।’
फ्रान्सबाट दोहा हुँदै चैत ४ मा काठमाडौं ओर्लिएकी ती युवतीमा संक्रमण पुष्टि भएपछि सँगै फर्किएका प्रदेश २ का ३३ जनाको खोजी गरिएको थियो। उनीहरू सबैको ज्वरो, रगत र खकार परीक्षण गरिएको छ। सिरहाका एक जनामा भने ज्वरो देखिएपछि टेकु पठाइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

किन राखिएन?’क्वारेनटाइनमा। 

प्रदेश २ सरकारले कतार एयरवेजबाट फर्किएकालाई क्वारेन्टाइनमा नराखी सिधै आउन दिएकामा आपत्ति जनाएको छ। उनीहरूलाई क्वारेन्टाइनमा नराखिँदा संक्रमणको जोखिम बढेको मुख्यमन्त्री लालबाबु राउतले बताए।

प्रदेश २ का मुख्य न्यायाधिवक्ता दीपेन्द्र झाले कतार एयरवेजबाट फर्किएकाहरूलाई क्वारेन्टाइन र स्वास्थ्य जाँच नगरी सिधै प्रदेशमा पठाउनेलाई कारबाही गर्नुपर्ने बताए। पर्यटनमन्त्री योगेश भट्टराई र प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमाललाई ‘मेन्सन’ गर्दै झाले बिहीबार ट्वीट गरेका छन्, ‘अन्तर्राष्ट्रिय विमान ढिलो बन्द गरियो। फर्किएकालाई पनि क्वारेन्टाइनमा पठाइएन। यस्तो लापरबाहीको जिम्मेवारी कसले लिने?’

कतार एयरवेजबाट फर्किएकामध्ये २ जना बुधबार सेनाले निर्माण गरेको धनुषाको गंगुलीस्थित क्वारेन्टाइनमा पुगेका थिए। दुवै जनामा कोरोनाको कुनै लक्षण नदेखिएपछि सिरहास्थित सरकारी क्वारेन्टाइनमा बस्न फर्काइएको सेनाको महेन्द्रनगरका गणका कर्णेल अञ्जन रूपाखेतीले बताए।

‘कुनै लक्षण नदेखिएकाले फर्काइएको हो,’ कर्णेल रूपाखेतीले भने, ‘जिल्ला–जिल्लामा पनि क्वारेन्टाइन रहेकाले जनकपुरै आइरहनुपरेन।’
Facebook Comments