चकमन्न आर्यघाट, खाली ब्रह्मनाल

 

गौशालाबाट ओरालो लाग्नेबित्तिकै व्यापारीहरू हात-हातमा फूलमाला दिन आइपुग्थे। दायाँतिरको विद्युतीय शवदाह गृहबाट धुवाँ उडिरहेको देखिन्थ्यो। तिलगंगा पुलबाट हेर्दा ब्रह्मनालमा लश्करै शव जलाइएका हुन्थे। आर्यघाटमा मृतकका परिवारको रुवाबासी र कोलाहलले मन कहालिन्थ्यो।

अहिले पशुपति आर्यघाट चिहानझैं चकमन्न छ। न फूलमाला लम्काउने हात, न त धुवाँ पुत्ताइरहेको शवदाह गृहको चिम्नी। खाली छन् यहाँका ब्रह्मनालहरू पनि।

कोरोना भाइरस नफैलियोस् भनेर गरिएको देशव्यापी ‘लक-डाउन’ ले केही दिनयता पशुपति क्षेत्रमा मान्छे जान पाएका छैनन्। यहाँ दर्शनार्थीहरू घुइँचो लाग्न छाडिसके। घाट खुला छ, तर शव जलाउने संख्या एकाध मात्र।

शुक्रबार बिहान ९ देखि २ बजेसम्म आर्यघाटमा एउटा शव जलाएको देखियो। मलामी दस-पन्ध्र जना मात्र थिए। अरू दिन घाटको छेउमा शवको लश्कर र मलामीको घुइँचो पालो पर्खिरहेका हुन्थे। शुक्रबार भने घाटले शव र मलामी प्रतीक्षा गरिरहेझैं देखियो।

Facebook Comments