बुटवलस्थित कोराना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवा काठमाडौंबाट बसमा आएको खुलासा


बुटवलस्थित कोराना विशेष (अस्थायी) अस्पतालमा मृत्यु भएका युवा काठमाडौंबाट बसमा आएको खुलासा भएको छ। तर, कुन बस हो भन्ने यकिन हुन सकेको छैन।

कोराना भाइरस सङ्‍क्रमणको आशङ्‍कामा उपचाररत रुपन्देहीको सैनामैना नगरपालिका-४ का ३४ वर्षीय बाबुराम थापाको आइसोलेसनमा राखेर उपचार भइरहेको बेला आइतबार (आज) दिउँसो १ बजे मृत्यु भएको थियो। कोराना आशङ्‍का गरिएका बिरामीको अस्पतालभित्रै मृत्यु भएपछि स्थानीय प्रशासनले उनको परिवारलाई क्वारेन्टाइनमा राख्ने तयारी गरेको छ भने मृतकसँग सम्पर्कमा रहेका अनय व्यक्तिको खोजीसमेत गर्न थालिएको छ।

लुम्बिनी प्रादेशिक अस्पतालका सूचना अधिकारी तथा उपस्वास्थ्य प्रशासक डा. विष्णु गौतमले प्रेस विज्ञप्ति जारी गर्दै मृतक थापा दुबईबाट चैत ६ गते काठमाडौं आएको र त्यसको भोलिपल्ट चैत ७ गते बसबाट रुपन्देही आएको जानकारी दिएका छन्। दुबईमा टयाक्सी चालकका रूपमा कार्यरत थापालाई घर आएकै दिनदेखि ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएको थियो। स्थानीय मेडिकलमा उपचार गरेपछि पनि श्वासप्रश्वासमा समस्या देखिएपछि बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा भर्ना हुन आएको अस्पतालका सूचना अधिकारी डा. गौतमले जानकारी दिए।

चैत १३ गते बिहीबार भर्ना हुन आए पनि उनको स्वाब भने आइतबार मात्रै काठमाडौं पुर्‍याइएको छ। १३ गते बिहान एक चरणमा कोराना आशङ्‍का गरिएकाहरूको स्वाब पठाइए पनि ढिला आएका कारण थापाको भने त्यो दिन नपठाइएको डा. गौतमको भनाइ छ।

आइतबार बिहानदेखि बढी नै समस्या भएपछि उनलाई तत्तकाल आइसियु वा भेन्टिलेटरमा राख्नुपर्ने थियो। कोराना विशेष अस्पतालमा आइसियु र भेन्टिलेटर तयार हुँदै गरेकाले पनि बिरामीलाई थप उपचारमा कठिनाइ भएको स्वयम् चिकित्सकहरू बताउँछन्। बिहानदेखि श्वासप्रश्वासमा बढी समस्या देखिएपछि काठमाडौं रेफर गर्ने तयारी हुँदै गर्दा थापाको मृत्यु भएको डा. गौतमले लण्डन काठमाडौंलाइ बताए।

लकडाउनका कारण बुटवलबाट कम्तीमा ७/८ वटा स्वाब सङ्‍कलन गरेर पठाउने गरिएको छ। जसका कारण स्वाब पठाउन ढिलाइ भएकाले पनि मृतकको कोराना भाइरस (कोभिड-१९) पुष्टि नहुँदा अहिले अन्यौलता देखापरेको छ।

कोराना विशेष अस्पतालमा बिरामीको मृत्यु भएकाले यसको व्यवस्थापनका चुनौती थपिएको बुटवल उपमहानगरका नगरप्रमुख शिवराज सुवेदीले बताए। अहिले मृतकको शव कोराना विशेष अस्पताल धागो कारखानामै राखिएको छ। मृतकको रिपोर्ट पुगिसकेको र जतिसक्दो चाँडो स्वाब परीक्षण गरेर पठाउन भनिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा. राजेन्द्र खनालले बताए।

Facebook Comments