मेरो सरकारलाई, ‘मेरो चिठी’ “अर्जुन भट्ट “

 

 

 

अर्जुन भट्ट

सामाजिक तथा शैक्षिक अभियन्ता

मेरो सरकारलाई, ‘मेरो चिठी’
मिति: २०७६ चैत्र, १५ गते
श्री संघीय सरकार/७ प्रदेश सरकार/७५३ स्थानीय सरकार, नेपाल !
नमस्कार,
आराम छु आराम चाहन्छु ! सर्वसाधारण नागरिक हुँ र सधै सर्वसाधारण नै हुन चाहन्छु ! नेपाली हुँ र नेपाली हुन पाएकोमा गर्व गर्छु ! आफ्नो क्षमता अनुसारको कर्म गर्छु र गरिरहन चाहन्छु तर आज म लकडाउनमा छु र यो पत्र लेख्ने समय पाएको छु र लेख्दै छु ! लकडाउनले दिएको शिक्षालाई जीवन दर्शन बनाउने प्रण गर्दछु ! नेपाली नागरिक हुनुको हैसियतमा यो पत्र लेख्ने आँट गरेको हुँ ! यो अधिकार म सँग छ कि छैन मलाइ नै थाहा छैन ! कतै कमजोरी गरेको रहेछु भने पनि क्षमा चाहन्छु !
मेरो सरकार, मलाई नेपाली बनाई देऊ ! स्वाभिमानी बनाई देऊ ! आत्मनिर्भर बनाई देऊ ! म परजीवी भएको रहेछु ! यो मलाई किमार्थ स्वीकार्य छैन ! म सँग आफैँ प्रति निर्मम बन्ने उर्जा छ ! म चाहन्छु मेरो भान्सामा नेपाल मै बनेका सामग्री प्रयोग होउन ! भान्सामा नेपाली उत्पादनलेमात्र प्रवेश पाओस ! नेपाली भूमिभन्दा बाहिर उब्जनी भएको कृषि उपज मेरो भोजन नबनोस ! मेरो आङ्मा विदेशी कपडा नपरोस ! आफ्नै भूमिमा उत्पादन भएको लत्ताकपडाले शरीर ढाक्न पाउँ ! म बिरामी पर्दा बिदेशमा बनेको रासायनिक औषधि मुखमा नपरोस ! आफ्नै भूमिको जडिबुटीबाट बनेको जीवरस परोस ! मैले बस्ने घर बनाउदा विदेशी सामग्री प्रयोग गर्न नपरोस ! मैले प्रयोग गर्ने सबै सामग्री नेपाली उत्पादन होउन ! यति सम्म कि फाटेको कपडा सिलाउने सियो, नङ काट्ने नैनी र दारी काट्ने ब्लेड, कपाल काट्ने कैची अनि कोर्ने काईयो देखि बिरामी पर्दा चड्ने एम्बुलेन्स मात्र होइन हस्पिटलका सबै इक्विपमेन्ट मैले आफ्नै देशको प्रयोग गर्न पाउँ ! मैले बिदेशमा बनेको सामग्री छुन र प्रयोग गर्न नपरोस ! यसो गर्दा म ढुंगे युगमा फर्कन परे पनि मलाई स्वीकार्य छ !
मैले प्रयोग गर्ने मोबाइल नेपाल मै बनेको होस् ! मैले प्रयोग गर्ने यातायातको साधन नेपाल मै बनेको होस् ! मैले प्रयोग गर्ने सुचना र प्रविधि नेपाल कै होस् ! ता कि मेरो व्यक्तिगत डाटा विदेशीले न लैजाउन ! विन्ती छ मेरो सरकार ! मलाई स्वाधीन बनाइदेउ ! कोरोनाको लकडाउन त सामान्य टेलर मात्र हो सिङ्गो फिल्म त बाकी नै छ ! म कति पटक बन्दी बनूँ ? म बन्दी बन्न चाहन्न ! मेरो जन्मभूमीलाई चारै दिशामा सिल गरिदेउ र मलाई मेरो आकाशमा चरा जसरी उड्न देउ, मेरा हीमनदीमा माछा जसरी पौडन देउ, बगैचामा पुतली जसरी खेल्न देउ, मेरा जंगलमा मृग जसरी उफ्रन देउ, पाखा पखेरामा गुरास जसरी फुल्न देउ, अनि मेरो कर्म भूमिमा कमिला जसरी कर्म गर्न देउ !
मेरो सरकार, मैले नेपाली हुनका लागि के त्याग गर्नुपर्छ म तयार छु ! म दैनिक १८ घण्टासम्म सक्रिय रुपमा स्वयंसेवक बनेर ८० वर्षको उमेर सम्म कर्म गर्न सक्छु र चाहन्छु ! जमीन मेरो नाममा राख्न चाहन्न जमिन राज्यको हो राज्यलाई नै फिर्ता दिन चाहन्छु ! म सँग भएका सबै जाहेजेथा धन सम्पति मेरा होइनन् राज्यका हुन ति सबै राज्यलाई नै दिन्छु ! म मेरालागि काम गर्दिन म मातृभूमिका निम्ति कर्म गर्छु र गर्न पाउँ !
प्रिय सरकार, भृकुटी कागज कारखाना चलाउन मैले के गर्नुपर्छ ? विरगन्ज चिनी कारखाना चलाउन के गर्नुपर्छ ? हेटौडा कपडा उद्योग चलाउन के गर्नुपर्छ ? बिराटनगर जुटमिल चलाउन के गर्नु पर्छ ? बासबारी छाला जुत्ता कारखाना चलाउन मैले के गर्नुपर्छ ? यस्तै थुप्रै कलकारखाना बन्द भएका छन, तिनलाई पुनः खोल्न र चलाउन मैले के गर्नुपर्छ ? म तयार छु त्यति मात्र होइन यस्ता सयौं हजारौं आधुनिक उद्योगहरु चलाउन मैले के गर्नु पर्छ ? म जीवन्त समर्पित हुन्छु त्यसका लागि मलाई केही चाहिदैन केवल नेपाली नागरिकताको वास्तविक पहिचान दिए पुग्छ ! मलाई नेपाली बनाइदेउ सरकार !
आदर्श सरकार, विदेश गएका मेरा दाजुभाइलाई फर्काइ देऊ न ! यही देश बनाउने अभियानमा जुटाइदेऊ न ! केही वर्ष घरबुनाको खास्टो शरीरमा बेरौँला ! सालको पातको टपरीमा खाउँला ! कोलमा तोरी पेलौंला ! ढिकीमा धान कुटौला ! खलमा चिउरा बनाउला ! जातोमा गहुँ पिसौंला ! सिलौटोमा मसला पिसौंला ! दाउरामा खाना बनाउला ! सिन्की पिडालु तरुल र कोदो फापर र जौ को ढिडो खाउँला ! मकै भटमास खट्टे सिरम्ला चपाउला ! गुन्द्रीमा सुतौला ! राडी पाखी कम्बल ओडौला ! हुलाकी दाइलाई फेरी बोलाउला ! भारी बोकौला ! पैदल हिडौला ! आफन्त बिरामी हुँदा डोकोमा बोकौला ! रातो माटो र कमेरोले लिपेको, खरले छाएको फरिकोले बारेको घरमा बसौंला ! त्यहीँबाट नेपालीपनको आधुनिक समाज निर्माण गरौँला ! आविस्कार गरौँला ! नेपाली ब्रेन कमजोर छैन अरुले गरेको भन्दा बढी हामी गर्न सक्छौं ! किन कि हामी नेपाली हौँ, हामीसंग नेपाली रगत छ ! हामी नेपाली बन्न चाहन्छौं !
हामीसंग सिंजा भ्यालीको सभ्यता छ ! हामीसंग कर्णाली छ ! गण्डकी छ ! कोशी छ ! मेची र महाकाली छ ! साथमा बागमती छ ! हामीसंग रारा छ ! तिलिचो छ ! फेवा छ ! हामीसंग सगरमाथा छ ! अन्नपुर्ण छ ! माछापुच्छ्रे छ ! कंचनजंघा र अपि पनि छ ! हामीसंग बर्दिया, चितवन, शिवपुरी, खप्तड, पर्सा, मकालु छ ! हामीसंग यार्सागुम्बा छ ! गुर्जो छ ! संजीवनी छ ! पाँचऔले छ ! निरमसि छ ! सिलाजित छ ! तुलसी छ ! निम छ ! पारिजात छ ! दुबो छ ! भूमिराज छ ! हामीसंग स्याउ छ ! सुन्तला छ ! ओखर छ ! हामीसंग हिमाल छ ! पहाड छ ! तराई छ !
हामीसंग डाँफे छ ! मयुर छ ! मुनाल छ ! कोइली छ ! हामीसंग गैडा छ ! हात्ती छ ! बाघ छ ! हामीसंग झारल घोरल, मृग र कस्तुरी छन् ! पवित्र जल छ ! उर्बर जमिन छ ! रोग प्रतिरोधक जडिबुटी छ ! हरियाली जंगल छ र इतिहास रच्ने कर्मशील जनता ! यो ऋषिमुनीहरुको तपोभूमि ! जनक, सीता, भृकुटी, गौतम बुद्ध जस्ता महामानव र शान्ति दुतहरुको भूमि हो ! यो वेद लेखिएको पाठशाला हो ! यति हुदाँहुदै पनि लकडाउनमा बस्नु पर्ने बाध्यता ? मेरो सुन्दर भुमीलाई सुरक्षित गरिदेउ सरकार ! छुटाईदेउ सबै तिरको सम्बंन्ध ! कोरोना प्रकोप सकिएपछि आफ्नालाई बोलाइदेउ र वरपर बोर्डर लकडाउन गरिदेउ ! मलाई आत्मनिर्भर बनाइदेउ ! स्वाभिमान बनाइदेउ !

Facebook Comments