कोरोनाविरूद्ध कामको संयोजन गर्न सरकारले गठन गर्‍यो ‘क्राइसिस म्यानेजमेन्ट टिम’

 

कोरोना संक्रमण रोकथाम र नियन्त्रणको काम प्रभावकारी बनाउन सरकारले उच्चस्तरीय ‘क्राइसिस म्यानेजमेन्ट टिम’ गठन गरेको छ।

उपप्रधानमन्त्री एवम् रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा सरकारले गठन गरेको सो टिममा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री युवराज खतिवडा, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट र संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठी सदस्य छन्। यो टिममा सुरक्षा निकायका प्रमुखहरू समेत रहनेछन्।

सरकार र यस अन्तर्गतका संयन्त्रले गरेका निर्णय द्रुत गतिमा कार्यान्वयन गर्न आइतबार बसेको मन्त्रिपरिषद बैठकले सो टिम गठन गरेको हो।

यो टिमलाई सरकारले कोरोना सम्बन्धी गरेका निर्णय कार्यान्वयन गर्ने, सरकारले बनाएका क्वारेन्टाइन र आइसोलेसन सेन्टर प्रभावकारी रूपमा सञ्चालनमा ल्याउने, कोरोना लक्षण देखिएका बिरामीलाई कोरोना सेन्टर वा अस्पताल पुर्‍याउने जिम्मेवारी मिलाउने, शान्तिसुरक्षा कायम गर्ने र संक्रमण नियन्त्रित अवस्थामा पुर्‍याउने जिम्मेवारी दिइएको छ।

Facebook Comments