बुटवलको ‘कोरोना अस्पताल’मा आठ वटा भेन्टिलेटरसहितको आइसियु कक्ष बनाइँदै

बुटवलको धागो कारखानामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा  गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले भेन्टिलेटरसहितको आइसियु कक्ष बनाइदिने भएको छ।

अस्पतालमा भेन्टिलेटर सहितको आइसियु आवश्यक रहे पनि तत्काल खरिद गरेर ल्याउन सम्भव नभएकोले मुटु अस्पतालले आठ वटा भेन्टिलेटरसहितको आइसियु तयार गरिदिने जनाएको छ।

अस्पतालमा १० बेडको आइसियु तयार गरिँदै छ। गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलमले देश कोरोनाको संकटमा रहेको र सरकारले खरिद गरेर जडान गर्दा समय लाग्ने भएकोले अस्पतालमा रहेका आठ वटा भेन्टिलेटरसहित आइसियु कक्ष निर्माण गरिदिने जानकारी दिए।

अस्पतालका लागि बुटवल उपमहानगरपालिकाले समेत एउटा भेन्टिलेटर खरिद गर्ने प्रक्रिया सुरू गरेको उपमहानगर प्रमुख शिवराज सुवेदीले जानकारी दिए।

रुपन्देहीको सैनामैनाका बाबुराम थापा क्षेत्रीको आइसियुसहितको अस्पतालमा लैजाने तयारी गरिरहेको बेला आइतबार आइसोलेसन अस्पतालमा मृत्यु भएपछि तत्काल आइसियुको आवश्यकता देखिएको हो।

कोरोनाको संक्रमण भएका बिरामीहरूमा श्वासप्रश्वासमा समस्या हुने भएको र त्यस्ता बिरामीहरूलाई भेन्टिलेटरमै समेत राखेर उपचार गर्नुपर्ने हुन्छ।

आइतबार प्रदेश ५ का उद्योग पर्यटन वन तथा वातावरण मन्त्री लिला गिरीसहित बसेको बैठकले यथाशक्य छिटो आइसियु कक्ष सञ्चालन गर्ने निर्णय गरेको लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराईले जानकारी दिए।

बैठकमा लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्य बहादुर भट्टराई, प्रदेशसभा सदस्य दधिराम न्यौपाने, भोज प्रसाद श्रेष्ठ, गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका अध्यक्ष एजाज आलम, लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपेरिटेण्डेन्ट डा. राजेन्द्र खनाल जनरल फिजिसियन डा. सुदर्शन थापा लगायतको सहभागिता थियो।

Facebook Comments