बुटवल धागो कारखानामा निर्माण गरिएको आइसोलेसन अस्पतालमा रीता आइपुग्दा बाबुरामको मृत्यु

बुटवलस्थित कोरोना विशेष आइसोलेसन अस्पतालमा मृत्यु भएका बाबुराम थापा क्षेत्रीकी श्रीमती रीता आइतबार दिनभर धागो कारखाना परिसरमा एक्लै छटपटाइरहिन्।

अस्पतालमा भर्ना भएका श्रीमानले गम्भीर अवस्थामा फोन गरेपछि उनी आत्तिदै एम्बुलेन्स रिजर्भ गरेर बुटवल आएकी थिइन्।

बुटवल धागो कारखानामा निर्माण गरिएको आइसोलेसन अस्पतालमा रीता आइपुग्दा बाबुरामको मृत्यु भइसकेको थियो।

कोरोना आशंकामा भर्ना गरिएकोले रिपोर्ट आइनपुगेको र मृत्यु के कारणले भएको हो भन्ने थाहा नभएकोले रीताले श्रीमानको शव हेर्न र छुन पनि पाइनन्।

भित्र आइसोलेसनमा बाबुराम निर्जीव भएर पल्टिएका थिए रीता भने बाहिर एक्लै तड्पिरहेकी थिइन्। उनी दिनभरि अस्पताल परिसरमा त्यसैगरी रोइरहिन्।

श्रीमानको मृत्यु हुँदासमेत उनलाई सम्हाल्ने र आँसु पुछिदिने साहरा कोही थिएन। दिनभरि अस्पताल बाहिरबाटै श्रीमानको शव कुरेर बसेकी रीता राति एम्बुलेन्स रिजर्भ गरेर एक्लै सैनामैनास्थित डेरामा फर्किइन्।

कोठामा  उनका ६ र ८ वर्षका दुई छोरालाई दिदीको छोराले खाना पकाएर खुवाउँदै थिए।

पाल्पा रिब्दीकोट स्थायी घर भएका बाबुराम र रीता केही वर्षयता रूपन्देही झरेका थिए। रीता सैनामैनास्थित कृष्णप्रसाद ज्ञवालीको घरमा बसी दुई छोराको रेखदेख गर्दै आएकी थिइन् भने बाबुराम रोजगारीको लागि दुबई हान्निएका थिए।

विश्वभर कोरोना संक्रमण फैलिएपछि दुबईमा ट्याक्सी चलाउँदै आएका बाबुराम नेपाल फर्किएका थिए। चैत ६ गते राति कोठामा पुगेका उनलाई आउँदा नै सामान्य ज्वरो आएको थियो।

घर आएपछि मेडिकल, स्वास्थ्यचौकी हुँदै उनी १३ गते आइसोलेसन अस्पतालमा भर्ना भएका थिए। तर उनको स्वाबसमेत परीक्षण नहुँदै आइतबार बिहान मृत्यु भयो।

मृत्यु भएपछि उनको शवलाई लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको छ।

उता रिता बस्दै आएको सैनामैना नगरपालिका-४ सिसौडाँडामा रहेको डेरामा घरपरिवार छिमेकी कोही पनि जान डराएका छन्।

पाल्पाको घरमा सासु र जेठाजुको परिवार छ। लक डाउन भएकाले उनीहरू पनि सैनामैना आउन सकेका छैनन्।

आइतबार राति एम्बुलेन्सबाट डेरामा पुगेकी रितालाई श्रीमानको मृत्युसँगै आफन्त तथा परिवारको समेत सान्त्वना र सहारा नपाउँदा झनै पीडा भएको छ।

घरधनी ज्ञवालीले आफूहरूले बाहिरबाटै रीतालाई सान्त्वना दिने गरेको बताए।

‘हामी पनि बाहिरबाटै सम्झाउने र सोधपुछ गरिरहेका छौं, दिदीको छोराले खाना पकाएर बाबुहरूलाई खुवाएका छन्,’ ज्ञवालीले भने।

रीतासँगै घरमा भाडामा बस्दै आएका मदन कार्की र लक्ष्मीले पनि बाहिरबाटै सम्झाउने र बुझाउने गर्दै सान्त्वना दिँदै आएको ज्ञवालीले बताए।

बाबुरामको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय रन्यौराबाट गएको प्रहरीले मृतकको परिवार र घरधनीलाई समेत रिपोर्ट आएपछि थप परीक्षण गर्नु परे पनि अहिले सेल्फ क्वारेन्टाइनमै बस्न आग्रह गरेको छ।

परिवार, आफन्त तथा छिमेकी भने घरमा नआएको ज्ञवालीले बताए।

सैनामैना-४ का अध्यक्ष धनबहादुर कार्कीले भने उनको घरमा जान डराएर नभई लक डाउनको कारण घर बाहिर ननिस्किएकाले कोही नगएको बताए।

‘रीता बस्ने घरधनीसँग नियमित सम्पर्क गरिरहेका छौं, उहाँहरूले रेखदेख गरिरहनुभएको छ,’ उनले भने।

कार्कीले मृतक थापाको मृत्यु के कारणले भयो परीक्षणको लागि स्वाब काठमाडौं पठाइएको र रिपोर्ट आएपछि त्यसैको आधारमा शवलाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा छलफल भइरहेको जानकारी दिए।

 

Facebook Comments