/स्वास्थ्यमन्त्रीज्यू, बचाउन सकिने तीन वटा ज्यान गइसक्यो

स्वास्थ्यमन्त्रीज्यू, बचाउन सकिने तीन वटा ज्यान गइसक्यो

 

 

नारायण गाउँले

स्वास्थ्यमन्त्रीज्यू, ठाउँठाउँ कोरोनाभाइरस हस्पिटल भन्दै पूर्वाधार नभएको भवनमा बेड र बोर्ड राख्ने काम बन्द गर्नु जरूरी देखियो । बचाउन सकिने तीन वटा ज्यान गइसक्यो । सास फेर्न नसकेर भेन्टिलेटरमा राख्नुपर्ने सिकिस्त बिरामीलाई धागो कारखानाको पुरानो बिल्डिङमा सुताइदिएपछि मृत्युलाई रोक्न सकिन्नथ्यो नै । यसरी उपचार नै नपाएर मान्छे मर्ने अवस्थाले तपाईंलाई पनि उत्तिकै दुःख लागेको होला ।

धनगढ़ीमा भर्ना भएका बिरामीले तातो पानी पिउन पनि पाएका छैनन् । न कसैले परीक्षण गर्छ, न दबाइ दिन कोही आउँछ । यसरी त हस्पिटल र आइसोलेशनको नाममा बिरामी कोठामा थुनिएर मर्ने भयो । भरतपुरमा बनेको कोरोनाभाइरस हस्पिटलमा भाइरस नै नभएका बिरामीले सही उपचार नपाएर ज्यान गुमाए । निगेटिभ आयो भन्यौं, खुशी भयौं । चार दिनपछि बल्ल रिजल्ट आउँछ, आफन्तले के गर्ने ? मर्दै गरेको बिरामीलाई पानी दिने कि नदिने ? शव बुझ्ने कि नबुझ्ने ? क्वारेन्टीनमा बसेका मुटुका बिरामीको पोखरामा मृत्यु भयो ।

 

कोरोनाभाइरस रोकथाम उच्चस्तरीय समन्वय समिति छ । तर त्यसले समन्वयबाहेक अरू काम गरेजस्तो देखिन्छ । तुरुन्त देशभरका सबै खाले स्वास्थ्यसंस्थाबीच समन्वय गरेर एउटा ठूलो फोकल हस्पिटल तय गरेर त्यहाँका बिरामीलाई अन्यत्र सार्न जरूरी देखियो । यस्तो हस्पिटल जसमा दक्ष जनशक्तिदेखि भेंटिलेटरसम्मको भौतिक पूर्वाधार होस् । नयाँ भवनमा त्यो जोड्न सजिलो हुँदैन । क्लिनरको टिम चाहियो, पोर्टर चाहियो, सुरक्षाकर्मी चाहियो, किचन स्टाफ चाहियो, शौचालयहरू चाहियो र पालो दिन सक्ने गरी विषयविज्ञ डाक्टर-नर्सको ठूलो टोली चाहियो । त्यो सबै नयाँ भवनमा जोड्न गाह्रो हुन्छ ।

विदेशको उदाहरण हेरेर नयाँ हस्पिटल बनाउनु त राम्रो देखिएला, तर त्यसले झन जोखिम बढाउँछ । हामी रातारात हस्पिटलको अत्यावश्यक पूर्वाधार निर्माण गर्न सक्दैनौं । अक्सिजन त सिलिन्डरबाट लैजान सकिएला तर यस्तो विशेषज्ञ हस्पिटल बनाउन अन्य धेरै कुरा चाहिन्छ । फार्मेसी, इक्युपमेंट, लन्ड्री, क्लीनिंग प्रोडक्ट, हात धुनेदेखि पिउने स्वच्छ पानीलगायतको हस्पिटलको आफ्नै इकोसिस्टम हुन्छ, जसलाई सजिलै नयाँ भवनमा पूरा गर्न सकिन्न ।

आवश्यक परे, तिनको प्रयोग गरौँला । अहिलेलाई हरेक क्षेत्रमा एउटा हस्पिटल खाली गर्न सकिन्छ । बेलायतले पनि यही गर्दै छ । चीनले गरेको पनि यही हो । तीनचार हजार बेडको मेकशिफ्ट हस्पिटल थपिएका हुन्, बाँकी त बनेकै पूर्वाधार प्रयोग गर्ने हो । यो किफायती, प्रभावकारी र लाइफसेभिङ् हुन्छ । हस्पिटलको वर्तमान जनशक्ति नै प्रयोग गर्ने गरी तालिम शुरू गरौँ । ड्रिलहरू गरौँ । इन्फेक्शन कन्ट्रोलका उपायबारे ब्रिफिंग गरौँ । अहिले आएका पीपीई त्यहाँ पुऱ्याउँ । एक एक वटा एम्बुलेन्स डेडिकेटेड रूपमा त्यसैका लागि तयार राखौं । क्लिनरदेखि डाक्टरसम्मको ‘ऱ्यापिड रेस्पोन्स टिम’लाई आवश्यक तयारीका साथ तालीम दिएर राख्ने हो भने देशको जुन कुनामा पनि एअरलिफ्ट गरेर डाक्टर पुऱ्याउन सकिन्छ । अनुभव नभएकाहरूलाई उपचार गर्नै पर्ने आदेश दिएर हुँदैन । तिनले झन बढ़ी इन्फेक्शन फैल्याउने डर हुन्छ ।

बिरामीलाई हस्पिटल गए बाँचिन्छ भन्ने लागेन भने त ती घरमैं रोग पालेर बस्छन् । उपचारका नाममा छि:छि: दुर्दुर् र अपहेलना मात्रै सहन त को हस्पिटल जान्छ र ? अहिले सबैभन्दा बढ़ी आवश्यकता समन्वयको देखियो ।

Facebook Comments