कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अहिले देशभर ४ हजार १ सय ९० जनालाई क्वारेन्टाइनमा

कोरोना भाइरस (कोभिड–१९) संक्रमण नियन्त्रण, रोकथाम तथा उपचारका लागि अहिले देशभर ४ हजार १ सय ९० जनालाई क्वारेन्टाइनमा राखिएको छ। यो संख्या मंगलबारसम्म क्वारेन्टाइनमा बसेकाहरुको हो। आइेसोलेसन बेडमा उपचार गर्नेको संख्या ७७ रहेको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार देशभर अहिले कूल १९ हजार ३ सय ५८ बेडको क्वारेन्टाइन तयार पारिसकिएको छ। यीमध्ये ४ हजार १ सय ९० बेडहरु भरिएका हुन्। देशभर तयार पारिएका २ हजार ३ सय ७६ आइसोलेसन बेडमा अहिले ७७ जना शंकास्पद विरामीहरु रहेका छन्।

सबैभन्दा बढी क्वारेन्टाइन बेड प्रदेश ५ मा तयार पारिएको छ। प्रदेश ५ मा अहिले ३ हजार ४ सय ८३ वटा क्वारेन्टाइन बेड तयार गरिएको छ।

मन्त्रालयका अनुसार प्रदेश १ मा ३ हजार ५३, प्रदेश २ मा १ हजार ९ सय ९७, बागमती प्रदेशमा २ हजार ७ सय ४०, गण्डकी प्रदेशमा २ हजार ८ सय ८५, कर्णाली प्रदेशमा २ हजार ३० र सुदूरपश्चिम प्रदेशमा ३ हजार १ सय ७० क्वारेन्टाइन बेड तयार पारिएको छ।

प्रदेश १ मा ४ सय ५१ जना, प्रदेश २ मा ३ सय ३६, बागमती प्रदेशमा १ सय ६५ जना, गण्डकी प्रदेशमा २ सय ५५ जना, पदेश ५ मा ८ सय २४ जना, कर्णाली प्रदेशमा ६ सय ८० जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ४ सय ७९ जनालाई क्वारेन्टाइनमा राखिएको छ।
सात वटा प्रदेशमा हालसम्म २ हजार ३ सय ७६ वटा आइसोलेसन बेड तयार पारिएको समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सात प्रदेशका आइसोलेसन बेडमा अहिले ७७ जना रहेका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार प्रदेश १ मा २७ जना, बागमती प्रदेशमा २४ जना, गण्डकी प्रदेशमा ६ जना, प्रदेश ५ मा ८ जना र सुदुरपश्चिम प्रदेशमा १६ जना आइसोलेसन बेडमा उपचाररत छन्।

नेपालमा कोरोना भाइरसका संक्रमित भेटिएपछि सरकारले देशलाई लकडाउन गरी सातै प्रदेशमा क्वारेन्टाइन र आइसोलेसन बेडहरु तयार पारेको हो। नेपालमा हालसम्म कोरोना भाइरसको आशंकामा १ हजार ६० जनाको स्वास्थ्य परिक्षण गरिएको छ। स्वास्थ्य परिक्षण गरिएकामध्ये ५ जनामा मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ, जो सबै बिदेशबाट आएकाहरु थिए। संक्रमितमध्ये १ एकजनालाई निको भइसकेको छ भने ४ जनाको अहिले उपचार भइरहेको छ।

कोरोना भाइरस पहिलो पटक सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको हुबेइ प्रान्तको राजधानीमा उहानमा देखिएको थियो। त्यसयताको तीन महिनाको अवधिमा यो फैलिएर विश्वका २ सय २ देश तथा क्षेत्रमा पुगिसकेको छ।

कोरोना भाइरसबाट हालसम्म विश्वमा ८ लाख ५९ हजारभन्दा बढीमा संक्रमण भएको पुष्टि भएको छ, जसमध्ये ४२ हजार ३ सयभन्दा बढीको मृत्यु भइसकेको छ। संक्रमितमध्ये १ लाख ७८ हजार १ सय १ जना उपचारपछि निको भई अस्पतालबाट घर फर्केका छन्।

अहिले विश्वका विभिन्न अस्पताल तथा घरमै बसी कोरोना भाइरसका ६ लाख ३८ हजार ६ सय ८ जना बिरामी उपचारत छन्। यीमध्ये ६ लाख ५ हजार ७ सय १० जनाको स्वास्थ्य अवस्था सामान्य छ भने ३२ हजार ८ सय ९८ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

Facebook Comments