कोरोना संक्रमितको उपचार गर्न डराउने चिकित्सकको लाइसेन्स खारेज गरिने

यतिबेला कोरोना संक्रमितको आशंका गरिएका बिरामीको पनि चिकित्सकले उपचार गर्न डराइरहेका छन्। यतिसम्म कि बिरामीको शरीरमा छुनसमेत नमान्ने गरेको गुनासो जताततै सुनिन्छ। तर, अब प्रदेश २ सरकारले त्यस्ता चिकित्सकलाई कारबाही गर्ने भएको छ।

मङ्गलबार सुरक्षा निकायसँग प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले छलफल गर्दै त्यस्ता चिकित्सक भेटिए कारबाही गर्न निर्देशन दिए। उक्त छलफलमा उनले बिरामीको उपचार गर्न नचाहने चिकित्सकबारे जानकारी दिन सुरक्षा अधिकारीहरुसँग आग्रह गरे। उनले कोरोना संक्रमितको उपचार गर्न नचाहने जुनसुकै अस्पतालका चिकित्सकको लाइसेन्स खारेज गर्ने स्पष्ट पारे।

सुरक्षा अधिकारीहरुसँग मुख्यमन्त्री राउतले भने, ‘संकटका बेला बिरामीको उपचार नगर्ने चिकित्सकको लाइसेन्स खारेज गर्न मन्त्रिपरिषद बैठकबाटै निर्णय लिन्छौँ। आवश्यक परे प्रधानमन्त्रीज्यूसँग पनि छलफल गर्छौं। बिरामीको उपचार गर्न नचाहने डाक्टरबारे हामीलाई खबर गर्नुस्।’ उनले बिरामीको उपचार गर्न नमान्ने जुनसुकै पहुँचवालाको अस्पताल भएपनि कारबाही गरिने स्पष्ट पारे। ‘बिरामीको उपचार गर्न नचाहेमा वीरगन्जको नेशनल मेडिकल कलेज होस् वा जानकी मेडिकल कलेज सबैलाई कारबाही हुन्छ’ उनले भने।

‘सरकारको पैसा र सिफारिसमा देश विदेशबाट डिग्री हासिल गर्ने र निजी क्लिनिकसमेत चलाएर पैसा कमाउँछन्’, मुख्यमन्त्री राउतले भने, ‘तर, चिकित्सहरू अहिले देशमा परिआएको संकटका बेला सामान्य बिरामीहरू आउँदासमेत भाग्न चाहेको सुन्नमा आएको छ। त्यस्ता डाक्टरहरूको एनएमसी पत्ता लगाई लाइसेन्स रद्द हुने गरी कारबाही गर्छौँ।’ उनले बिरामीबाट भाग्ने डाक्टरलाई कारबाही गर्न आठै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग आग्रह समेत गरे।

उनले नेपालमा कोरोना संक्रमणबाट आत्तिहाल्ने अवस्था नरहेकै भन्दै मौसम परिवर्तनका कारण पनि सामान्य ज्वरोका बिरामी देख्दा डाक्टर जस्तो सेवाकर्मी पेसावाला भाग्नु लज्जास्पद भएको बताए। भगवान पशुपतिनाथ, जानकी माता र ईश्वरको कृपाले नेपाल आजसम्मको अवस्था हेर्दा सन्तोषजनक अवस्था छ। यस्तो बेला पनि डाक्टर भाग्न खोज्छन् भने इटाली जस्तो अवस्था आए के गर्छन्?’, उनले प्रश्न गरे।

मुख्यमन्त्री राउतले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रत्येक जिल्लामा प्रमुख जिल्ला अधिकारीले खर्च गर्नेगरी पठाएको ५०÷५० लाख रुपैयाँ खर्च हुन नसक्नु लापरबाहीको चरम सीमा भएको टिप्पणी गरे। उनले भने, ‘सिडिओहरूले थप रकम माग्नुहोला भनेर सोचेको थिएँ। तर, पठाएको रकम पनि खर्च हुन नसकेको सुनेपछि दुःख लागेको छ।’


उनले कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि निर्धक्क भइर काम गर्न आग्रह गरे। ‘स्यानिटाइजर, सुरक्षाको समान र सुरक्षाकर्मीलाई अभाव रहेको समानहरू खरिद गर्न नसक्ने र जेमा पनि अख्तियारको डर मान्ने? अनी कसरी हुन्छ?’, उनले प्रश्न सिडिओहरूलाई गरे।

‘सुरक्षाकर्मीहरूका लागि खाट पनि खरिद गरी रकम खर्च गरेको भए खुसी हुन्थे’, मुख्यमन्त्री राउतले आक्रोशित हुँदै भने, ‘तर जनतामा डर, भय त्रास रहेका बेला पनि हामी रकम खर्च गर्न नसके किन मुख्यमन्त्री र सिडिओ भएर बस्ने? सबै मिलेर राजीनामा दिउ न त।’ उनले संकटका बेला निर्धक्क भएर इमान्दारिताका साथ काम गर्न सिडिओ र सुरक्षा अधिकारीलाई निर्देशन समेत दिए

Facebook Comments