युवा व्यवसायी ओझाद्धारा २६ विपन्न परिवारलाई खाद्यान्न सहयोग
चितवन । भरतपुरका-१२ का युवा व्यवसायी तथा समाजसेवी सुजन ओझाले २६ विपन्न परिवारलाई खाद्यान्न सामाग्री सहयोग गरेका छन् । लकडाउनका कारण दैनिक ज्याला मजदुर गरेर खाने देवघाट क्षेत्रका परिवारलाई ओझाले सहयोग गर्नुभएको हो । ओझाले देवघाट क्षेत्र विकास समितिका पदाधिकारी समक्ष एक हप्तालाई पुग्ने दाल, चामल, नुन, तेल लगायतका सामाग्री बितरण गर्नुभएको थियो । बितरणपछि बोल्दै ओझाले लकडाउनका कारण सबैभन्दा बढी मर्कामा ज्याला मजदुरहरु परेकोले राहत स्वरुप खाद्यान्न सहयोग गरिएको बताउनुभयो । सुजन प्लानिङ एण्ड कन्सट्रक्सनका अध्यक्ष समेत रहेका ओझाले संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्दै उनीहरुलाई वितरण गरिएको बताउनुभयो । देश नै संकटमा रहेको अवस्थामा एक नागरिकले अर्को नागरिकलाई सहयोग गर्नुपर्ने भन्दै अन्य वडाहरुमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । सामाजिक कार्यमा पनि उतिकै सक्रिय ओझाले यस अघि लकडाउनलाई लक्षित गर्दै भरतपुर महानगरपालिकाका विभिन्न वडामा रहेका विपन्नहरुलाई सहयोग गरिसक्नु भएको छ । वितरण कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक धिरनबाबू घिमिरे, देवघाट टोल विकास समितिका अध्यक्ष मुकुन्दशरण सिग्देल, सचिव मधु अधिकारी ,भरतपुर महानगरपालिका वडा नम्बर १ का सदस्य शुक्रकुमार श्रेष्ठ ,अस्थायी प्रहरी पोस्ट देवघाटका असई कारी रावत लगायतको सहभागिता रहेको थियो ।

- रेडिंग नेपाली समाज युकेले बसन्त पंचमी भब्यताका साथ मनायो । - February 7, 2022
- सेफ सन्तोषले जितेरै छाडे बीबीसी मास्टरसेफकोउपाधि - December 28, 2021
- म आम हो - December 11, 2021