चैत ४ मा विमान अवतरण, चैत २० मा मात्र कोरोना परीक्षण


चैत ४ गते कतारको दोहाबाट नेपाल आइपुगेको कतार एयरवेजको क्युआर ६५२ विमानमा १ सय ५८ जना यात्रु थिए। विमानमा सवार काठमाडौंकी एक १९ वर्षीया युवतीमा चैत १० गते कोरोना भाइरसको संक्रमण परीक्षण गर्दा रिेपोर्ट ‘पोजेटिभ’ देखियो। उनमा ‘पोजेटिभ’ रिजल्ट देखिएसँगै नेपाल सरकारले देशैभर एकहप्तासम्म लकडाउनको घोषणा गरेको थियो।

केही दिनपछि चैत १६ गते फेरि सोही विमानमा सवार बागलुङकी युवतीमा पनि कोरोनाको संक्रमण देखियो। विमान नेपालमा अवतरण गरेको १६ दिनपछि अर्थात बिहीबार सोही विमानमा आएकी ६५ वर्षीया वृद्धामा पनि कोरोना संक्रमणको परीक्षण गर्दा ‘पोजेटिभ’ नै आयो। बागलुङकै यी वुद्धा नेपाल फर्किएपछि बागलुङ आफ्नो घरमा ‘होम क्वारेन्टाइन’मा बसिरहेकी थिइन।

आउन साथ त्यस्तो केही लक्षण नदेखिए पनि केही दिनयता खोकीले सताएपछि उनको ‘स्वाब’(खकार) परीक्षणका लागि पठाइएको थियो। बागलुङबाट पोखरा हुँदै काठमाडौं आएकाले परीक्षणमा केही ढिलाइ भएको महामारी विज्ञान तथा रोग नियन्त्रण विभागका प्रमुख डा. बलदेव पाण्डेले बताए। उनका अनुसार केही दिन अगाडि नै ती वृद्धाको ‘स्वाब’ परीक्षणका लागि आइपुगेको थियो। तर, पोखरामा नै दुई दिन अगाडिबाट कोरोना संक्रमणको परीक्षण गर्ने मेसिन जडान गरिएको छ। काठमाडौं आइपुगेको ‘स्वाब’ प्रयोगशालामा रहेको अत्याधिक चापका कारण क्रमैसँग परीक्षण गर्दा केही ढिलो भएको पाण्डेले बताए। संक्रमित यात्रु आएको विमानमा सवार अन्यलाई लक्षण देखिँदा पनि परीक्षण कार्य सुस्त हुनुले सरकारले कुन गतिमा काम गरिरहेको छ भन्ने देखाएको छ।

नेपालमा अहिलेसम्म ६ जनामा कोरोना संक्रमण भेटिएको छ। जसमध्ये एकजना निको भएर गइसकेका छन्। बाँकी पाँच जना भने उपचारारत छन्। उपचार गराइरहेका कोरोना संक्रमितमध्ये तीन जना एउटै विमानबाट नेपाल आएका हुन्। चैत ४ गते विमानबाट आएका उनीहरूमा केही समयको फरकमा कोराना संक्रमण भेटिएको छ।

Facebook Comments