भारत बायोटेक इन्टरनेसनलले २०२० को अन्तिममा मानिसमा कोरोना बिरुद्द खोप परीक्षण गर्ने ।

 

हैदरावादको बायोटेक्नोलोजी कम्पनी भारत बायोटेक इन्टरनेसनलले शुक्रबार नोबेल कोरोनाभाइरस (कोभिड-१९, सार्स-कोभ-२) विरुद्ध सम्भावित नाकभित्र दिइने खोप तयार गरेको घोषणा गरेको छ। उक्त कम्पनीले सन् २०२० को अन्तिममा मानिसमा यसको परीक्षण गर्ने जनाएको छ।

अमेरिकाका विस्कन्सिन विश्वविद्यालय-म्याडिसनका भाइरसविज्ञ, विस्कन्सिनको खोप कम्पनी फ्लुजेन र भारत बायोटेकले ‘कोरोफ्लु’ नामक उक्त भाइरसको काम गरिरहेको जनाएको छ। उक्त कम्पनीका अनुसार फ्लुको खोप दावेदार एम २ एसआरकै आधारमा कोरोनाभाइरसविरुद्धको यो खोप बनाउन थालिएको हो।

एम २ एसआर इन्फ्लुएन्जा भाइरसविरुद्धको खोप हो र यसले सामान्य रुघाखोकीलगायत रोगविरुद्ध शरीरको प्रतिरोधात्मक क्षमता अभिवृद्धि गर्छ। विस्कन्सिन विश्वविद्यालय-म्याडिसनका भाइरसविज्ञ र फ्लुजेनका संस्थापकद्वय योशिहिरो कावाओका र ग्याब्रियल न्युम्यानको आविष्कारमा आधारित ‘कोरोफ्लु’ नामक खोप मानिसका लागि दुई चरणमा सह्य हुने देखिएको भारत बायोटेकले एक विज्ञप्तिमार्फत् जनाएको छ।

कावाओकाको प्रयोगशालाले सार्स-कोभ-२ का जिन एम २ एसआरमा राखेर नयाँ खोपलाई कोरोनाभाइरसविरुद्ध प्रतिरक्षात्मक क्षमता बढाउन प्रयोग गर्ने भारत बायोटेकका व्यापार विकास प्रमुख राचेस एल्लाले जनाएका छन्। यसको सुरक्षा र प्रभाकारिता भने विस्कन्सिन विश्वविद्यालय-म्याडिसनको इन्फ्लुएन्जा रिसर्च इन्स्टिच्युटमा गरिनेछ।

‘भारत बायोटेकले खोप बनाउने, परीक्षण गर्ने र विश्वभरका लागि ३० करोडवटा यस्तै खोप उत्पादन गर्ने’ उक्त विज्ञप्तिमा जनाइएको छ।

फ्लुजेनले आफ्नो विद्यमान उत्पादन प्रक्रियालाई भारत बायोटेकको खोप परीक्षणका लागि लगाउनेछ। भारत बायोटेकले हालसम्म १६ वटा खोप बनाइसकेको छ, यसमध्ये सन् २००९ मा फेलिएको स्वाइन फ्लु (एच १ एन १ भाइरस) का लागि खोप पनि भारत बायोटेकले बनाइसकेको छ।

एम २ एस आरजस्तै कोरोफ्लु पनि नाकभित्रै दिइनेछ। कोरानाभाइरसले सङ्क्रमण गर्ने तथा इन्फ्लुएन्जालगायतका भाइरसले सङ्क्रमण गर्ने प्राकृतिक बाटो पनि यही हो। शरीरका अन्य भागमा दिइने खोपभन्दा फ्लुका लागि नाकभित्रबाट दिइने खोप प्रभावकारी हुने विज्ञप्तिमा जनाइएको छ।

Facebook Comments